सुन्दर भविष्यको सपना बोकी युएई पुगेकी सुस्मिताको ‘सपना’ तातोपानीले पखालेर लग्यो

Spread the love

युएई – ‘खाना पकाउने काम सधैं गरेको त हो नि,’ दिनहुँ गर्ने काममा कहिलेकाहीँ सर्तकता नअपनाउँदा नसोचेको घट्ना घटिदिन्छ । रोजगारीका लागि युएई पुगेकी मोरङकी सुस्मिता राईले पनि यस्तै समस्या झेल्नु पर्‍यो ।

गएको हप्ता उहाँ कामबाट फर्किंदा रात परिसकेको थियो । जतिबेला कोठामा फर्किए पनि बेलुका र भोली बिहानको खाना एकै पटक बनाउनु दैनिकी हो सुस्मिताको । त्यो दिन पनि उनी खाना बनाउदै थिइन् । तर उनले बनाएको खाना खान पाइनन् ।

चुल्होमा खाना बनाउने पालो कुरेर पकाउँदै थिए । अण्डा उमाल्दै थिए, पाक्यो होला जस्तो लाग्यो । कराई तताउँदै थिए बिँड फुस्किएर पानी त शरीर भरी पर्‍यो त्यसपछि के भयो के, ’ उम्लिएको पानी शरीरमा परेपछि सुस्मिता मुर्छा परिन्।

कम्पनीले आठ जनाका लागि एउटा मात्रै कोठा दिएकाले खाना पकाउन पालो कुर्नुपथ्र्यो । बिहान पाँच नबज्दै काममा जानुपर्ने भएकाले सुस्मितासहित सबैले बेलुका नै बनाउथे ।

साथीसँगको बसाइले समस्यामा पर्दा सुस्मितालाई सहज भयो । ‘साथीहरु नभएको भए यति बेला यो घाऊ कुहिएर म मरिसक्थे,’ सुस्मिताका गहभरी आँशु भए ।

सुस्मितालाई कम्पनीले अस्पताल पुर्‍याएन । साथीकै सहयोगमा अस्पताल पुगिन्। तर हेल्र्थकार्ड नभएकाले उनलाई उपचारमा समस्या भयो । कमाएर परिवारलाई सहयोग गर्छु भन्ने सपना बोकेर युएई आएकी सुस्मिता आफैं पानीमा पोलिन पर्‍यो । कम्मरदेखि मुन्तिर सबैभाग पोलेको छ ।

कम्मरदेखि मुनी जलेकाले सुस्मिता हिँडडुल गर्न सक्दिनन् । बुढीआमा र विदेशबाट विरामी परेर फर्केका दाइलाई सहयोग गरौंला भन्ठानेर परदेशिएकी सुस्मिता यतिबेला अलमलमा परेकी छिन् । सुस्मिता खर्भरै १८ वर्षकी भइन् ।

उनका दाइ भाउजु त थिए तर दाइ पनि मलेसिया र कतारबाट बिरामी परेर फर्किएपछि कमाएर परिवारलाई सहयोग गर्नुपर्ने जिम्मेवारी उनको काँधमा आयो ।घरकी सग्ली र एक्ली छोरी हुन सुस्मिता । परिवारको आर्थिक अवस्था कमजोर भएकाले युएई पुगिन् ।

मोरङको लेटाड ५ खेरुवाकी सुस्मिता सामाखुसीमा रहेको सनलाइट म्यानपावर मार्फत ९५ हजार तिरेर युएई पुगेकी हुन् । ‘१५ दिनमा भिसा लाग्छ एक लाख ५ हजार तयार पार्नुु,’ विदेश जाने भनेर म्यानपावरमा पुग्दा यसै भनेको थियो ।

ऋण धन गरेर सुस्मिताकी आमाले ९५ हजार जुटाइ दिनुभयो । १ लाख ५ हजार जुटाए १५ दिनमै युएई उडाउँछु भनेको म्यानपावरले उनलाई तीन महिना पछि मात्रै पठायो ।

उनलाई म्यानपावरले एरपोर्टको काम भनेर पठाएको हो । काम गर्ने समय र तलव पनि म्यानपावरले राम्रै हुन्छ भनेको थियो । सुस्मिता मात्रै हैन उनीजस्ता धेरै जना महिला त्यही म्यानपावरबाट युएईको सारजाहको अल फला क्लिनिङ कम्पनीमा पुगेका छन् ।

काम सारजहाको एयरपोर्टमा भएपनि काम गर्ने समय र तलब भने फरक प¥यो । ‘काम १२ देखि १८ घण्टासम्म गर्नपर्ने तर सेवा सुविधा केही पनि छैन । न हेल्थ कार्ड छ न इन्स्युरेन्स । साह्रै दुःख छ,’ सुस्मिता सुनाउछिन् ।

कम्पनीले सुस्मिता समस्यामा परेपछि पनि वास्ता नगरेको जानकारी प्रवासी मन्च अन्तरगतको श्रमिक हेर्ने ट्रेड युनियन जिफन्ट युएईका अध्यक्ष रामेश्वर भेटुवाल र प्रवासी मन्च युएईका बाबुराम सापकोटा सारजाहमै कार्यरत सामाजिक अभियान्ता खेमराज बजगाईं कम्पनीकै क्याम्पमा पुगे ।

बिरामीलाई अस्पतालसम्म लैजाने र सहयोग जुटाउने अभियानमा उनीहरु लागे । जिफन्टले आफ्नो तर्फबाट आर्थिक सहयोग पनि गर्यो । सहयोगका लागि अन्य संघसस्थाहरु सँग कुरा चलायो । एनआरएन युएईले फोन गरेर तत्काल ५ सय दिर्हाम सहयोग गर्ने बाचा गरेको छ ।

जिफन्ट प्रतिनिधि लगायत प्रवासी कामदार हेर्ने प्रतिनिधि कम्पनीको क्याम्पसम्म पुगेको देखेर कम्पनी झस्किएको र कम्पनीले अहिले सबै बिल भुक्तानी गर्न सुरु गरेको जिफन्ट युएईले जनाएको छ ।

हेल्थकार्ड र इन्स्युरेन्स गर्न पनि प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले कामदारलाई परेको समस्या समाधान गर्ने भन्दै कम्पनीबारे गलत प्रचार नगरिदिन अनुरोध गरेको जिफन्ट युएईका अध्यक्ष भेटवालले बताए ।

सुस्मिताले पनि कम्पनीले अहिले सहयोग गर्न थालेको बताइन् । हेल्थकार्ड र इन्स्युरेन्स नहुँदा आफूलाई समस्या परेको भन्दै दूतावासले कम्पनीसँग समन्वय गरिदिन उनको अनुरोध छ । साभार उमाकान्त पाण्डे /उज्यालो अनलाइन