“१३ वर्षकी कान्छी श्रीमतीले सधैं ‘तपाई बुढो भइसक्नु भो’ भनेर कचकच गर्छिन्”

Spread the love

प्रिय करुणाजी, म ५० वर्षको भएँ । मैले ४० वर्षको हुँदा २७ वर्षकी युवतीसँग विवाह गरेको थिएँ । विवाह गरेको केही समयपछि मैले थाहा पाएँ, जीवनमा जागिर, पैसा, प्रसिद्धि ठूलो कुरा होइन रहेछ । मुख्य कुरा त श्रीमतीसँग व्यवस्थित रुपमा जीवन चलाउनु नै रहेछ ।

अहिले उनको र मेरो दैनिक जीवनको रुची खासै मिल्दैन । उनी सौन्दर्य, सिनेमा र घुमघाममा रुचि राख्छिन् । उनी मलाई ‘बुढो भइसक्नु भयो’ भनेर गाली गर्छिन् । मचाहिँ ‘तिम्रो केटाकेटीपन कहिल्यै गएन’ भनेर रिसाउँछु ।

दुईको उद्देश्य नमिल्दा हाम्रो यौन सम्पर्क कम हुँदै गएको छ । यसलाई कसरी व्यवस्थित गर्ने होला ?

जवाफः

जीवन विविधताले भरिएको छ । यही कारण उमेरअनुसार मानिसको रुचि फरक-फरक हुन्छ । सँगै बस्ने र सँगै जीवन जीउनेहरुको जति धेरै कुरा मिल्यो, जीवन त्यति नै रमाइलो र रुचिपूर्ण हुन्छ ।

अध्ययनहरुले देखाएअनुसार आदर्श सम्वन्धका लागि श्रीमान र श्रीमतीबीचको उमेर फरक सामान्यतयाः तीन/चार वर्षको मात्र हुनुपर्छ । उस्तै-उस्तै उमेरका श्रीमान-श्रीमती वा श्रीमानभन्दा श्रीमती केही कम उमेरको भए पनि सम्वन्धमा खास समस्या आउँदैन । यौन जीवन सन्तुष्टिले भरिएको हुन्छ ।

श्रीमती श्रीमानभन्दा केही बढी उमेरको भए पनि खासै फरक पर्दैन । उनीहरुले उमेरको विषयलाई ठूलो मुद्दा बनाउँदैनन् भने सम्बन्धमा ‘एज फयाक्टर’ले केही प्रभाव पार्दैन ।

श्रीमान र श्रीमतीबीचको उमेर १२ बर्षभन्दा माथिको छ भने उनीहरुका चाहना, प्राथमिकता, शारीरिक गतिविधिमा फरक पर्न जान्छ । ४५ बर्ष उमेरको श्रीमान गल्फ या टेनिस खेल्न मन पराउने खालको हुन्छ भने ३० बर्षभन्दा कम उमेरकी पत्नीको प्राथमिकता पौडी खेल्ने, नाच्ने, रात्रि क्लब या पार्टी कार्यक्रमहरुमा सहभागी हुने हुन सक्छ ।

२७ बर्ष उमेरकी श्रीमतीलाई उनका उमेरजन्य गतिविधिको बिन्दास अनुभव गर्न रोक्दा अप्राकृतिक निषेध हुन जान्छ । उमेरजन्य स्वभावलाई रोक्नु मूलको पानी थुन्न खोज्नेजस्तै हो ।

अर्को कुरा, ४५ बर्ष उमेरको श्रीमानलाई ३० बर्ष मुनिका गतिविधिहरुमा तानेर ल्याउँदा दिक्क लाग्न सक्छ । किनभने उसले धेरै वर्षअघि ती गतिविधि गरेर वाक्क भैसकेको हुन्छ । त्यसमा उसको रस बाँकी रहँदैन । त्यही कुरा दोहोर्‍याउँदा दिक्दारी हुनु स्वाभाविकै हो । त्योबेला उमेर र शरीरका प्राथमिकता र चाहना अर्कै खालका हुन्छन् । बढी उमेरको श्रीमान कम उमेरकी श्रीमतीका लागि साथीभन्दा पनि अभिभावकजस्ता हुन्छन् । यसैलाई उनले सकारात्मकरुपमा लिने हो भने श्रीमानबाट अभिभावकले जस्तै बढी केयरिङ पनि पाउन सक्छिन् ।

श्रीमानले श्रीमतीको उमेरजन्य चञ्चले व्यवहारलाई सहजरुपमा बुझ्नुपर्छ । त्यसलाई स्वीकार्नुपर्छ । उनका चाहना अनुरुपको व्यवहार गर्नुपर्छ । यही नै समाधानको उपाय हुन सक्छ ।

तपाइ लाखौं रुपैयाँको सोच बनाइरहनुभएको हुन सक्छ । तर, श्रीमतीलाई २ सय रुपैयाँको टिकट लिएर फिल्म देखाउँन लैजाँदा त्योभन्दा बढी सन्तुष्टि प्राप्त हुन सक्छ भन्ने कुरा भुलिरहनुभएको हुनसक्छ । यस्ता झिना मसिना कुराहरुमा पनि जीवनको अपार आनन्द लुकेको हुन्छ । नियालेर हेर्नुस् ।

परिपक्व श्रीमानबाट प्राप्त हुने अभिभावकत्व तथा अनुभवको लाभ श्रीमतीले लिन सक्नुपर्छ । श्रीमानले पनि श्रीमतीको जागिरप्रतिको चाहना के छ र के कस्तो जागिरमा रुची छ भन्ने बुझ्नुपर्छ । त्यसैअनुरुप काम गर्ने अवसर दिलाउनुपर्छ । यसले दुबैजनालाई नजिक ल्याउन मद्दत पुग्छ ।

यी चाहनापछि मात्र यौनको प्रसँग आउँछ । आपसी सम्बन्धका व्यवहारिक पक्षमा सहजता आएपछि यौन जीवनबारे छलफल गर्नुपर्छ । श्रीमतीको यौन चाहना र सन्तुष्टिको बारेमा बुझ्नुपर्छ । यौनमा रोमाञ्चकता भए नभएको बुझेर त्यसै अनुसार सम्पर्कलाई परिस्कृत गर्दैर्जानु पर्छ । अनि बल्ल उमेरको फरकबीच पनि सन्तुष्टिका नयाँ ढोका खुल्न सक्नेछन् ।

नयाँ कुरा जान्न खोज्ने, उर्जाशील भैरहने तपाईको सोच छैन भने विश्वास गर्नुहोस् तपाई बूढो हुनुभयो । सोच र चिन्तनका कारण मानिसलाई बूढो र युवा भनेर परिभाषित गर्न सकिन्छ

दुबैका चाहना र आकांक्षालाई सम्मान गर्नसक्ने हो भने परिवारमा एउटा रमाइलो वातावरण निर्माण हुनसक्छ । दुबैजना अलग-अलग दिशातिर फर्किने हो भने त उपलब्ध सम्भावना पनि गुम्न सक्छन् । त्यसैले उमेरको ठूलो फरकबीचका सम्भावना खोज्नेतिर लाग्नु नै बेस हुन्छ ।

बूढो महसूस हुनु मानिसको चिन्तन र सोचसँग सम्वन्धित बिषय हो । मानिसको सोच, संस्कार, चिन्तन र कार्यशैली युवास्तरका छन् भने तपाईका हरेक गतिविधिका नतिजा पनि उर्जाशील हुन्छन् । तपाई कुनै जमानामा अध्ययनशील हुनुहन्थ्यो र परीक्षामा राम्रो नतिजा ल्याउनुहुन्थ्यो, तपाईले आफूलाई क्षमतावान दाबी गर्न आज पनि त्यही स्तरको मेहनत आवश्यक छ ।

नयाँ कुरा जान्न खोज्ने, उर्जाशील भैरहने तपाईको सोच छैन भने विश्वास गर्नुहोस् तपाई बूढो हुनुभयो । सोच र चिन्तनका कारण मानिसलाई बूढो र युवा भनेर परिभाषित गर्न सकिन्छ ।

युवा भएर पनि उ निष्कृय छ, जोश जाँगर छैन, नयाँ कुरा जान्न खोज्दैन भने २० बर्षे मानिस पनि बृद्ध हुन्छ । फूर्तिलो, जोशिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त भैरहने र ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राखिरहने मानिस सधैं युवा भैरहन्छन् । त्यस्ता व्यक्तिलाई उमेरले खास फरक पार्दैन ।