देशको हरेक व्यक्तिहरु संसद छिर्न सक्दैनन् । सबै जनताहरु नेता बन्न सक्दैनन् । त्यसैले त जनताले आफ्नो आवाज बोल्न सक्नेलाई आफ्नो नेता बनाएर चुनाव जिताएर पठाउँछन् ।
ताकी तिनले आफ्नो पीर मार्का दुख, पिडा, अधिकार बारे बोलिदिउन् । तर दुर्भाग्य नेताले जनतालाई एक पटक नमस्कार टक्राउँछ, बदलामा जनताले आजीवन उसलाई नमस्कार गर्नुपर्छ ।
नेताले चुनावमा चडाएको नमस्कार जनतालाई यति महंगो पर्न आउँछ की आफ्ना नेतालाई एक पटक भेट्न र गुनासो राख्न २० वटा मुस्तण्डेहरुको सामना गर्नुपर्छ । गरिब गाँउबस्तीका मानिसले भोट दिएर जित्ने अनि तिनै गरिबका समस्या नसुनेर सुटेट बुटेट व्यापारीसँग दोस्तीयारी गर्ने ?
कोही कोही नेताहरु यती बदलिए कि तिनलाई आफ्नै भोटर फोहोरी लाग्छन् । आफ्ना जनतालाई गाडीमा हालेर गाडी मै २÷४ जनाको समस्या सुन्न र समाधान गर्न सकिन्छ नी तर अँह, गरिब गाँउलेको लुगामा टाँसिएको धुलो र पसिनाको गन्धले नेताज्युको गाडी गनाउँछ ।
त्यसैले नेता ज्युको गाडीमा त सुटेट बुटेट र मगमग विदेशी सेन्ट बास्ना आउनेहरुको लागि मात्र स्थान छ । केही नेताहरुको फुर्ती फार्ती यती बढिसक्यो कि तिनको जीवनशैली र दैनकी हेर्दा लाग्छ ति गाउँघर मा होइन राजमहलमा जन्मिएका हुन् ।
सिस्नो र खोले खाएर हुर्केको बिर्सिसके । नङ भित्र गाँउमा भकारो सोहोरेको बेलाको मल बाँकी होला, जीउ कन्यायो भने गोठको गन्ध अझै आउला, मकै भटमास र कोदोको रक्सी खाएर ठाडो उकालो हिडेको नेताज्युहरुलाई अचेल, रक्सीमा सिंगल मल्ट नभई हुँदैन, कुखुरा, खशी भन्दा माथी वाथ भएको वदेलको मासु चाहिन्छ, गाडी बाहेक २ पाइला हिड्दा खुट्टा मर्किन्छ ।
देशको चिन्ताले शरीर पनि बदेलको जस्तो भैसक्यो तर जनता जस्ताको जस्तै छन् । जनताको लागि खोलिएका मन्त्रालयहरु प्राय सिंह दरबार भित्र छन् । सिंह दरबार भित्र छिर्न हुने खानेलाई पास जस्तो लाग्ने चिज देखाए जस्तो गरे पुग्छ ।
वा एक कल गरेपछि उस्तै परे सलाम ठोकेर भित्र छिराइन्छ तर गोडामा गतिलो चप्पल नभएको, शरीरमा प्वाल परेका कपडा बाहेक केही नभएको मानिसहरु आँफुले भोट दिएको मान्छेलाई भेट्न पाउँदैन ।
दिन भरी कुरेर झुलुक्क मन्त्री ज्यु भेटिए भने भाग्य, नत्र पुरै दिन कुरेर बित्छ । आफ्नो समस्या सुनिदिने सरकारी सञ्चार माध्ययम रेडियो नेपाल र नेपाल टेलीभिजन पनि सिहंदरबार भित्रै छ ।
सरकारको सञ्चार माध्ययमलमा जनता छिर्नै नपाउने कस्तो लोकतन्त्र हो ? गरिब सर्वसाधारण जनतालाई दिन भरी सिंहदरबारको गेट बाहिर न कुराआँै ।
हरेक मन्त्रालयको हेल्पडेस्क गेटमै राखौँ । २ जना कर्मचारी खटाऔ, समस्या सुनौ, समाधान गरौ , १ घण्टा भित्र घर पठाऔँ ।
गरीब, निमुखा, अशक्त, असहाय, महिला, वृद्धवृद्धाहरु घाम पानी, जाडो सहेर सिहंदबार गेटमा दिन भरी कुरेको देख्दा देख्दै कसरी नदेखे जस्तो गरेर हिँड्न सक्नु हुन्छ नेता ज्यु । ५ बर्षपछि फेरी नमस्कार गर्ने बाहेक आफ्नो मतदाता प्रति अरु जिम्मेवारी छैन ?
स्कुलको यो हालत, हाकिमहरु १० लाख लिएर भ्रमणमा । हुदां खाादाको मान्छे यसरी माग्ने बने !