कविता:
मैले यस पालि होली मनाईन !
——————————-
पहिले बर्षमा एक दिन
रंगै रंगको होली खेलिन्थ्यो
अचेल त पसिनाको होली
दिन दिनै खेल्नुपर्छ
खल्तीमा रंग किन्ने पैसा नहुँदा
आमाले पूजा गर्न राखेको रातो अवीरले नपुगेर
बा ले पूजा गर्ने केशरी चोरेर पनि नपुगेर
सिमीका हरिया पात मिचेर बनाएको हरियै रंग
ब्याट्रीको कालो र पोखरीको हिलो पनि कोमल लाग्थ्यो
अचेल खल्तीमा पैसा छ
तर रंग किन्ने उमंग छैन
किनकी आफ्नै ज़िन्दगीको रंग छैन
यस्तो मोह भंग भएको बेला
आफू र दुनियाँ बेरंग भएको बेला
मैले यस पालि होली मनाईन !
अन्याँय माथि न्याँयको बिजयमा मनाउने
त्यो पवित्र होलीको रंग
अचेल अन्याँयीहरुको अनुहारमा मात्र देखिन्छ
रंगभेदीहरुको मात्र प्यारो छ रंग
रंगीन दुनियाँ तिनीहरुकै छ
रंगमा दंग,फुरुंग तिनीहरु नै छन्
अचेल रंगहरु रंगीन हैन संगीन बनेका छन्
रगतको रंग खेल्नेहरु जगतमा हावी छन्
आफ्नै रंग चिन्न नसकेर जंग भएको बेला
आततायी रंग फेरिरहनेहरुकै भीडमा
म अध्यात्मवादको अनुयायी भएकोले
मैले यस पालि होली मनाईन !
जीवनमा जसको रङ्ग छ
तिनीहरु त दंग छन् नि !
तिनै अजंग छन् नि !
तिनीहरुले चाहे यो रंग निमेषमै फेरिन्छ
जाबो हामीले देख्ने रंग के रंग ?
हामीले लड्ने जंग के जंग ?
सद्भावना छैन त्यो रंगमा जब भने
संभावना छैन त्यो जंगमा भने
स्वाभिमानीले करङ भाँचेर पनि
तरंगको कुनै उषा नफिर्ने भएपछि
भोलिको सबै जिजीविषा रित्तिएपछि
मैले यस पालि होली मनाईन !
म रंग भनेर बारूद दल्न सक्दिन अनुहारमा
भोकाएकाहरु रंग खाएर बाँचेका छैनन्
रोगाएकाहरु रंग लगाएर हाँसेका छैनन्
त्यो रुप फेरिएको रंग के लगाउनु !
जो जुन रंग हो त्यो देखिदैन भने
जुन तरंग हो त्यो भेटिदैन भने
जीवन र जगतका सबै रंगहरु नहाँसेकोले
सत्य र ईमानले माया नगाँसेकोले
बेईमानका सबै रंगहरु नउडेकोले
मैले यस पालि होली मनाईन !
हो हजुर,
मैले यस पालि होली मनाईन !