समाजका अगाडि ६ घन्टा कुटपिटपछि अस्पताल भर्ना
अस्पतालको शय्याबाट पीडितको बयान
झाँक्रीले लात्तैलात्ताले हाने, रमितेले ताली पिटे
म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला इन्डिया गएर दुई–चार हजार लिएर आउनुहुन्छ । यसैगरी हाम्रो गुजारा चलेको छ ।
मेरो दाइ पनि छ, तर सुस्त मनस्थिति भएकाले बुबालाई ‘सपोर्ट’ गर्न सक्दैन । बहिनी पनि बिरामीजस्ती छ, भाइ सानो छ । त्यसैले बाआमालाई धेरै दुःख छ । तैपनि मलाई पढाउन खोज्नुभएको छ । गाउँकै राष्ट्रिय उमाविमा कक्षा ११ मा पढ्छु । राजनीतिशास्त्रकी विद्यार्थी हुँ ।
बिहीबार नारी दिवस, स्कुल छुट्टी थियो । त्यसैले बिहान गोठमा गएकी थिएँ । दुईवटा बल्ल (गोरु) छन्, गोबर फालेर ७ बजेतिर घर फर्कन थालेकी थिएँ, तीन–चारजना केटी हुत्तिदै आएँ ।
ती केटीहरू पनि हाम्रै स्कुलमा पढ्छन् । चिच्याउँदै आएको देखेर अनौठो लाग्यो । यिनीहरूलाई के भएछ भन्ने लाग्यो । तर, नजिक आउनासाथ मलाई झम्टिहाले । तँ बोक्सी भनेर भकुर्न थाले, लछारपछार गर्न थाले । मैले केही बुझ्नै सकिनँ । उनीहरूले घिसार्न थाले ।
कतिले कपालमा समातेर ताने, अरूले लात्ताले हान्दै मलाई रामबहादुर चौधरीको घरमा लगे । रामबहादुर हाम्रो गाउँको झाँक्री हो । उसले आफूलाई शिवभक्त भन्छ । शिवरात्रिको दिनदेखि उसको घरमा पूजा लागेको छ । उसले हिजोसम्म ५४ हजार रुपैयाँ जम्मा गरेको रहेछ ।
मान्छे जो आउँछन्, भेटी दिन्छन् । तर, भेटी दिने मान्छे कम आउन थालेपछि उसले फेरि मान्छे जम्मा गर्ने जुक्ति निकालेको होला । गाउँमा बोक्सी छन्, ठीक पार्छु भनेको रहेछ । त्यसैले मलाई समातेर त्यहाँ लगे ।
रामबहादुरको आँगनमा पुग्दा मान्छे वरिपरि थिए, पछि झन् धेरै थपिए । ती सबैको अगाडि रामबहादुर झाँक्रीले मलाई कुटपिट गर्न थाले । रामबहादुरबाट धामी विद्या सिकिरहेको भन्ने पार्वती भन्ने महिला ममाथि जाइलागिन् ।
उनीहरूले नागजस्तै हाउभाउ बनाएर वरिपरि घुम्दै मलाई मुक्का हानिरहेका थिए, लात्ती बर्साइरहेका थिए । त्यसमाथि ‘तँ बोक्सी होस्, तैँले दुनियाँका बच्चा खाइस्, कसैका बाआमा खाइस्’ भन्दै मेरो हुर्मत लिइरहेका थिए ।
म बोक्सी होइन, मैले केही पाप गरेको छैन, म स्कुलकी विद्यार्थी हुँ, गरिबकी छोरी हुँ, मलाई बचाउनुहोस् भनेर समाजसामु गुहार मागिरहेकी थिएँ, तर उनीहरू कोही पनि बोलेनन् । बरु ममाथि हरेक झापड बर्संदा उनीहरूले ताली पिटेर खुसीले हुटिङ गरिरहेका थिए ।
केहीबेर पिट्न छाडेर घाममा पल्टाउँथे, अब बोक्सी बक्ने वेला भयो भन्थे । मैले पानी माग्दा फेरि भकुर्न थाल्थे । मेरो पेटमा, छातीमा लात्तैलात्ताले हान्दा रमिते भने ताली पिटिरहेका थिए ।
यसरी बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मलाई यसैगरी कुटियो । ७ घन्टासम्म म कहिले मुर्छा परेँ, कहिले ब्युतिएँ । मुर्छा परेका वेला थाहा भएन, ब्युँतिएको वेला उनीहरूले कुटिरहेका हुन्थे ।
१ बजेतिर गाउँका दुई–तीनजना दाइहरू आउनुभयो । उहाँहरूले यसरी बालिकालाई कुटपिट नगर भनेर बोल्नुभयो । झाँक्रीले तिमीहरूलाई पनि यही त्रिशूलले मारिदिन्छु भनेर थर्काउन थाल्यो । त्यहाँ वादविवाद भयो । त्यही मौकामा मेरो भाइले मलाई घर लिएर आयो ।
घरमा आएपछि म फेरि मुर्छा परेछु, मलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याइएछ, फेरि होस आयो । त्यही वेला जाहेरी दिन भनेर प्रहरी चौकीमा लगियो । एकैछिनमा झाँक्री रामबहादुरलाई पनि त्यहीँ ल्याइयो । तर, ऊ डराएको थिएन ।
म शिवभक्त हुँ, मैले जे पनि गर्न सक्छु भनेपछि उसलाई प्रहरीले खुट्टामा ढोग्न थाले । तर, जाहेरी लिन मानेनन् । बरु, त्यही झाँक्रीले त्यहीँ यसलाई केही पनि भएको छैन, झारफुक गरेर भर्खरै जस्ताको तस्तै हुन्छे भन्दै मन्त्र पढ्न थाल्यो । प्रहरीकै अगाडि मलाई चामल खान लगाइयो । तर, मलाई असह्य भइरहेको थियो ।
त्यही वेला सेतो स्कारपियो गाडीमा मेयरसा’प (मतताप्रसाद) चौधरी आउनुभयो । उहाँ पहिले हाम्रो स्कुलमा पढाउनुहुन्थ्यो, अस्ति भर्खर चुनाव पनि जित्नुभएको हो ।
त्यसैले उहाँ आएपछि मेरो पक्षमा बोल्नुहुन्छ, प्रहरीले जाहेरी पनि लिन्छ र ममाथि कुटपिट गर्नेलाई कारबाही पनि हुन्छ भन्ने आशा पलाएको थियो । तर, तिमीलाई के भयो भनेर एक शब्द पनि बोल्नुभएन । एकछिन रमिता हेरेर फेरि गाडी चढ्नुभयो, धुलो उडाउँदै उहाँको गाडी गयो ।
मलाई निकै पीडा भएपछि आफन्तहरूले सुखड अस्पताल लग्नुभयो । पछि प्रहरीले झाँक्रीलाई छाडेछ । बिहान उनीहरू आएर मिलापत्र गर्न कुरो गरे । औषधिमा लागेको ३७ सय रुपैयाँ दिएर चुप लाग भनेर हामीलाई धम्की दिँदै थिए ।
तर, मेरा आफन्तले मान्नुभएन । ऋण गरेर पैसा तिर्न खोज्दा पनि होहल्ला गर्दै थिए । तर, मेरा आफन्तले मलाई क्षेत्रीय अस्पताल धनगढी लिएर आउनुभएको छ । यहाँ उपचार भइरहेको छ, मैले केही खान सकेकी छैन, पानी पिउन, थुक निल्न पनि भएको छैन ।
शरीर पूरै थिलथिलो भएको छ । खासगरी संवेदनशील अंगहरूमा लात्तीले हानेकाले पीडा धेरै छ, भित्र के–के भएको छ थाहा छैन । तर, दोषीमाथि कारबाही होस्, जाहेरी नलिने प्रहरीलाई पनि कारबाही होस् र यस्तो अत्याचार कुनै पनि दिदीबहिनीमाथि नहोस्, मेरो कामना यही छ ।
मेयरकै रोहवरमा छाडिए आरोपी, थप दबाबपछि पक्राउ
किशोरीलाई कुटपिट गर्ने रामबहादुरलाई बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरेको थियो ।
तर, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायालगायतको रोहवरमा तत्कालै छोडिएको प्रहरी नायब निरीक्षक दिनेश विष्टले बताए ।
शुक्रबार किशोरीका बुबाले किटानी जाहेरी दिएपछि पुनः पक्राउ गरिएको छ । ‘रामबहादुरलाई पक्राउ गरिएको छ, बोक्सी भन्दै कुटपिट घटनाको अनुसन्धान थालिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने ।
जाहेरी नलिने प्रहरीमाथि कारबाही हुन्छ : डिएसपी
बोक्सीको आरोपमा कुटपिट गरिएका किशोरीका आफन्त सुख्खड प्रहरी कार्यालय पुुग्दा प्रहरीले जाहेरी नलिएको गुनासो छ, यस्तो जघन्य अपराधमा जाहेरी नलिने प्रहरीलाई कारबाही हुन्छ कि हुँदैन ?
प्रहरीले जाहेरी नलिएको भन्ने जानकारी छैन । अहिले त आरोपीलाई पक्राउ पनि गरिएको छ ।
तर, घटनालगत्तै पीडितहरू प्रहरी कार्यालय पुग्दा सुनुवाइ नभएको र आरोपीलाई तत्कालै छोडिएको भन्ने छ नि ?
जाहेरी दिन खोजेको भए प्रहरीले अवश्य पनि लन्थ्यो ।
जाहेरी नदिने भए पीडितहरू प्रहरी कार्यालय किन जान्थे ? बरु प्रहरीले त झाँक्रीलाई खुट्टा ढोगे र पीडितलाई वास्तै गरेनन् भन्ने गुनासो छ, पीडितहरूबाट जानकारी लिनुभएको छैन ?
यो जानकारी तपाईंबाटै पाइयो, थप अनुसन्धान हुन्छ । यस्तो संगीन अपराधमा जाहेरी नलिने प्रहरीलाई कारवाही हुन्छ ।
रमिते मेयर भन्छन्–
भिडभाड देखेर प्रहरी चौकी गएको थिएँ, तर म बोलिनँ, आफ्ना काम अरू पनि छन्
प्रश्न: मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?
जवाफ: किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।
प्रश्न: जाहेरी कसले दिएको हो ?
जवाफ: पीडित पक्षले ।
प्रश्न: जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?
जवाफ: हिजो नै भयो ।
प्रश्न: कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?
जवाफ: हो, म एकैछिन पुगेको थिएँ ।
प्रश्न: कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?
जवाफ: अहँ, किन लिनु र ?
प्रश्न: होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?
जवाफ: मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।
प्रश्न: त्यसो भए किन जानुभएको त चौकीमा ?
जवाफ: बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।
प्रश्न: ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?
जवाफ: हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।
प्रश्न: साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?
जवाफ: हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।
प्रश्न: ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?
जवाफ: काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।
प्रश्न: त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?
जवाफ: हो, भर्खर ४० वर्षको भएँ ।
प्रश्न: युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?
जवाफ: त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।
प्रश्न: ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?
जवाफ: जानकारी भएन ।
प्रश्न: आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?
जवाफ: मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।
प्रश्न: जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?
त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।
प्रश्न: गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?
जवाफ: मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।
प्रश्न: देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?
जवाफ: तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।
तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू
भन्नोस् ।
प्रश्न: नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?
जवाफ:त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।
तर, आजसम्म जे भयो भयो, पीडितहरू अस्पतालमा छन्, मिल्यो भने भोलि गएर भेटिदिनुहोला, उनका गुनासा सुनिदिनुहोला । कारबाही के भयो भनेर हामी भोलि पनि फोन गर्छौँ । ठीकै छ, बिहानै नगर्नुहोला, बेलुका गर्नुहोला ।
– तेजराज भट्ट / नयाँ पत्रिका