नेपाली चेली सामाजिक सेवी, समाज परिवर्तनमा निरन्तर अगाडी पाइला सार्दै गरेकी, साहित्यमा पनि एकदमै रुची राख्ने हाम्री चेली ‘सम्राज्ञी आचार्य’ को आफ्नै शब्द हरुमा उनकै बाचनमा यो सानो एउटा साहित्यिक शैलीमा सन्देस दिन खोजिएको एउटा कविता जसको सिर्शक छ ”सबै केटा उस्तै हुन्छन” सुनी सके पछी तपाई लाइ कस्तो लाग्छ आफ्नो विचार र प्रतिक्रिया अबस्य पनि दिनु होला भन्दै यो भिडियो तपाई को सामु पस्किदै छौ :
#लघुकथा
सत्यकथा
#राक्षसहरुको #बिचमा
सरगम भट्टराई
लगातार एक महिना बिरामी परेर निको नभए पछि छिमेकी फूलमतीले पल्लो घरकी किशोरी राधा चौधरीलाई गुरुवा राम बहादुर चौधरीको दवावमा बोक्सी घोषणा गरी। गाउँका भद्र भलाद्मी देखि केटाकेटीहरुलाई घोडा घोडी चोकमा हुने आरोपी बोक्सी राधाको धुलाई कार्यक्रममा जम्मा हुने उर्दी जारी गरियो । बोलाए भन्दा निकै धेरै मान्छेहरु रमिता हेर्न आए।
गाउँ देखि शहरमा जताततै अन्तरराष्ट्रिय नारी दिवस मनाईरहेकै दिन मार्च ८ मा १८ बर्षे किशोरी राधालाई बोक्सी बकाउने नाममा बिच बाटोमा निरन्तर यातना दिईयो, पढेलेखेका देखि अनपढ गाउँलेहरु सड़क नाटक हो जस्तो गरी चारैतिर बसेर ट्वाल्ल परेर हेरिरहे, र यातना दिदा ताली पिटिरहे।मानौँ एकै छिनमा राधाले आफूलाई बोक्सी स्वीकार गर्ने छे र फूलमतीले न्याँय पाउने छे।
राधालाई टाउको देखि पैताला सम्म शरीरका अंग अंगमा कठोर यातना दिईयो, उसले एकोहोरो याचना गरी रही तर कसैले सुनेन।उसको परिवार बाहेक सबै उसको बिरुद्दमा थिए।त्यो यातना कुनै चलचित्रमा देखाईने दृष्य भन्दा कठोर र निर्मम दृष्य थियो। लगातार छ घन्टा सम्म उसले धर्ती जस्तै यातना सहेर प्राण धानी रही, मान्छेहरु चाख मान्दै यातनाको भिडियो खिचिरहे।जसको प्रत्यक्ष रमिते घोडा घोडी नगरपालिकाका शिक्षित मेयर ममता प्रसाद चौधरी पनि थिए। उनका आँखा पनि रसाएनन् त्यो निरीह चेली राधाको पिडामा। राक्षसहरुको बस्तीमा राधालाई दिईएको त्यो यातना देखेर धर्ती माता रोईन्, कुकुर बिरालोहरु रोए, चराहरु चिरबिर गरे तर ढुंगाको मुटु भएका कोहि मान्छे रुपी राक्षसहरु रोएनन्।
अन्तत: प्राण मात्रै धानेकी राधा प्रतिको यो जघन्य घटनालाई सामान्य घटना सरह मिलापत्र गरियो। मिलापत्र गराउन गाउँका शिक्षित, भद्रभलाद्मी र प्रहरी प्रशासन लागि परे।
केहि दिनमै घटना बाहिर आयो, राधालाई दिईएको यातनाका बिरुद्द शहरका पाँचतारे होटलहरुमा गोष्ठी सम्पन्न्न भए, सहभागीहरुले राम्रै भत्ता बुझे, मानवअधिकारवादी संस्थाहरुले बिज्ञप्ति निकाले, लाखौँ खर्च गरेर रिपोर्ट बनाईयो। झण्डै करोड़ भन्दा बढि रक़म राधाकै नाममा खर्च भयो। सरकारले पनि घटनाको निन्दा गरी दोषीलाई कार्यवाही गर्ने घोषणा गर्यो।
राधा अस्पत्तालमा जीवन र मृत्युको दोसाँधमा थिई, उसलाई पिडकहरुले अझै पनि यातना दिईरहेका छन् जस्तो लाग्थ्यो। उसलाई हेर्न आउने भिड़ देख्दा बेला बेलामा ऊ अझै झस्किन्थी। मिलापत्र गराउँदा पाएको केहि हजार रुपैयाँ औषधिमै खर्च भईसकेको थियो।उसको ग़रीब परिवारलाई बिहान बेलुका के खाउँ भन्ने पिरलो भएको बेला उसको अन्तर्वार्ता लिन आउने धेरै तर सहयोग गर्ने कोहि थिएनन्। राधालाई हेर्न मानिसहरुको घुईचो अझै सकिएको छैन मानौँ उनीहरुको रमिता भएकी छे राधा।
राधालाई अझै पनि आफू राक्षसहरुकै बिचमा भए जस्तो लागिरहेको छ। एकपटक फेरि उ अचेतमै चिच्याई, “ ऐया बाबाबाबा ! मलाई नमार, म बोक्सी होईन !