अहिले हामी आँधी आउनु अघि को सन्नाटामा छौं, आँधी आए पछीको सन्नाटा हेर्न अझै बाँकी नै छ – रामप्रसाद खनाल

Spread the love

रामप्रसाद खनाल, यो नाम नेपालीहरुका लागि कुनै नौलो नाम होइन । पत्रकारिताका पाठकहरु, रेडियोकाश्रोताहरु, टेलिभिजनका दर्शकहरु, गीत संगीत सुन्ने हेर्ने श्रोता दर्शकहरु, राम्रो वाकपटुता सुनेका श्रोतादर्शकहरु, देश बिदेशका शोहरुमा वान्स मोर भन्दै उठ्ने श्रोता दर्शकहरु सबैका मन मनमा छाइएका छनखनाल । नेपालमा बस्दा होस वा अमेरिका बस्दा होस खनाल सधैं नेपाली मन र पनका साथ प्रस्तुत हुन्छन, छाडा, अश्लिलताका बिरुध्द नराम्रो सँग घोँच्ने काँडा बनेर घोँच्दछन् र सबैलाई सबक सिकाउँछन् पनि । नेपालीफोहोरी राजनीतिबाट पुरै अलग देखिएका उनी आफुलाई नेपाली राजनीतिका लागि पूर्णतया अयोग्य र कामैनलाग्ने पात्र सम्झिन्छन । छल छाम, चाकडी चाप्लुसी, ब्यक्तिगत स्वार्थ नजान्ने, अमेरिकामा सम्पन्न भएर बस्दापनि अमेरिकी बन्न नमान्ने खनालका हरेक मन्तब्य, गीत संगीत, साहित्य, कला, पत्रकारिताका पाईलापाईलाहरुमा नेपाली मन र पन भेटिन्छ । अमेरिकी सरकारले गीत, संगीत, साहित्य, कला र पत्रकारिता क्षेत्रकोअतिरिक्त प्रतिभावान ब्यक्तित्वका रुपमा Extra ordinary Ability EB-1 नामक अमेरिकी अति सम्मानितक्याटेगोरी अन्तर्गत ग्रीनकार्ड प्रदान गरेका खनाल नेपालमा जन्मिएका कुनै पनि नेपाली कहिलै पनि भुपु नेपालीनहुने र कुनै पनि नेपाली रहरले नभै बाध्यताले बिदेशिएका बताउँदै भन्छन – “मन्त्रिहरुले बिदेशमा भएकानेपालीलाई भुपु भनेर गाली गर्नुको साटो नेपालको राजनीति र सत्ता सँचालनमा राम्रो बातावरण बनाएर,अबसरहरु दिएर हेर – सबै नेपाली नेपाल फर्किन्छन” । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रियनेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष समेत रहेका उनी नेपालको बिशिस्ठ श्रेणीकालोक तथा दोहोरी गायक हुन । कलाकार, पत्रकार पनि रहेका उनै खनालसँग लिइएको समसामयिक अन्तर्वार्तातल जस्ताको तस्तै प्रस्तुत छ – सम्पादक )  

रामप्रसाद खनाल को हो ? के हो ? बताइदिनुस्  ?

  • आम नेपालीमध्येको एक जना, जो सामान्य मान्छे मात्र हो, मलाई त्यस्तो लाग्छ ।

 तर पत्रकारितागीतसंगीतकलाकारिता  साहित्य जता पनि तपाईनै तपाईं देखिनुहुन्छ  ?

  • यी मेरा पेशा हुन । तपाईंइहरु जस्ता शुभचिन्तक, दर्शक श्रोताहरु, पाठकहरुलेनै मलाई यो ठाउँमा ल्याउन भूमिका खेल्नु भयो र म यहाँ छु । मलाई मेरा दर्शक, श्रोता र पाठक नै मेरो भाग्य बिधाता हुन जस्तो लाग्छ । मेरो सफलतामा तपाईंहरु सबैको अहम भूमीका रहेको छ ।

एउटै व्यक्तिको पछाडि पत्रकारगायककारसाहित्यकारकलाकार यति धेरै कार जोडीएकाछन्   यो कसरीसम्भव भयो बताइदिनुस  ?

  • करिव तीन दशक पत्रकारिता गरियो, रेडियो, टेलिभिजन, छापा पत्रकारिता, अनलाइन पत्रकारिता, राष्ट्रिय एबम अन्तर्राष्ट्रिय मिडियाहरुमा रहेर पत्रकारिता गरेकोलेनै भैएकोले होला पत्रकार, सानै उमेर देखि गीत लेखन, गायन, संगीत र अभिनयमा लागियो, अनि भइयो होला  गायककार, कलाकार र कविता, गजल, मुक्तक र साहित्यका क्षेत्रमा कलम चल्ने भएर होला यहाँहरुले  मलाई साहित्यकारका रुपमा पनि  देख्नु र चिनिदिनु भएको । गरेरै सम्भब भएको होला र हुने रहेछ ।

 खासमा तपाईको रोजाईको पेशा कुन हो ?

  • सोँचे जस्तो हुन्न रहेछ जीवन । म पत्रकारिता, कलाकारिता, साहित्य र गीत संगीतको क्षेत्रमै आफ्नो करियर बनाएको मानिस हुँ तर, अमेरिका आएर विजनेशमा पनि लाग्नुपर्ने पर्ने अवस्था आयो । अहिले म सबै क्षेत्रमा उत्तिकै क्रियाशिल छु । पेशा रोजेर भन्दा पनि परिस्थिती र समय अनि अवस्था अनुसार हुने रहेछ । मेरा लागि अहिले मैले अँगालीरहेका सबै पेशा प्रिय छन, रोजाइका छन भन्नु पर्‍यो  तर लोक तथा दोहोरी गायक बन्दाको मज्जा बेग्लै र बढी सन्तोषअजनक हुन्छ । रोजाइमा पनि त्यही नै बढी पर्छ कि !

गुल्मीको मान्छे बुटवल झर्नु भो, बुटवलबाटकाठमाडौं र काठमाडौंबाट अमेरिका तिर लाग्नुभयो, अमेरिका गएर पनि रामप्रसाद खनाललेगर्नु विधि गरेको छ, अमेरिकामा पनि सफल छभन्छन मान्छेहरु । कस्तो लाग्छ तपाईंलाई

  • हो म गुल्मी धरंपानी मैनडाँडा गाउँमा जन्मे, हाइस्कुल सम्मको अध्ययन पछी उच्चशिक्षा हासिल गर्न र जीवनको रेखा कोर्न बुटवल झरेँ  । बुटवलमा क्याप्पस पढ्दै जीवनको जोहो गर्दै, गीत संगीत, कलाकारिता, पत्रकारिता गर्दै काठमाडौं झरेँ, काठमाडौंबाट पनि अमेरिका तिर सरेँ  । यस्तै रहेछ जीवन चक्र । कहिले घाम कहिले पानी कहिले रात त कहिले विहानी । तर जहाँ रहँदा पनि कर्म गरेर खाईएको छ । नैतिकता, इमान, जमान र इज्जतका साथ अघि बढिएको छ । कसैको केहि खाइएको छैन । नराम्रो कुरामा कहिल्यै लागिएको छैन । कसैलाई मारिएको छैन, फलानो त छि भनेर नाक खुम्च्याउनु पर्ने पारीएको छैन । यसमा म गौरब गर्छु ।

 नेपालमा लोकगीतदोहोरी गीतको क्षेत्रमा  कायापलट नै गराइदिनु भयो  तपाईका चेलाअनुयायीहरु आजराष्ट्रिय स्तरका मात्र हैन अन्तराष्ट्रिय स्तरका गायक कलाकार बनेका छन्कस्तो अनुभुति हुन्छ ?

  • मुल्याङ्कन गर्ने जिम्मा तपाईंहरुको हो । हो, मैले लोकगीत, दोहोरीगीतको क्षेत्रमा मेरो वर्कतले भ्याएसम्म रोडियो नेपालमा रहँदा होस् वा नेपाल टेलिभिजनमा हुँदा होस् वा अहिले अमेरिकामै रहँदा होस्  धेरै खुन र पसीना सिंचेको छु । दर्शक र श्रोतका अगाडि घाम जस्तै र्छलङ्ग छ मैले राम्रो गरेँ या नराम्रो गरेँ । मैले गाउघरबाट टिपेर काठमाडौं ल्याएका भाई बहिनीहरु आज मेरै फोरम बाट उठेर राष्ट्रिय अर्न्तराष्ट्रिय स्तरका गायक, कलाकार बन्न सके, त्यसमा म ज्यादै खुशी छु । उनीहरुको सफलता मेरो आफ्नै सफलता जस्तो लाग्छ ।

 तपाईका चेलाचेलीहरुलाई ठाँउ वनाइदिर तपाई अमेरिका लाग्नु भयो किन नि ?

  • जिन्दगीका उतार चढावहरु यस्तै हुँदा रहेछन, आफुले सोचे जस्तो, चाहे जस्तो मात्र हुन्न रहेछ । भैरहवामा आतंककारीहरुको अपहरणमा परे पछि मेरो जीवनले नयाँ मोड लियो । म अरुलाई स्वदेश फर्क, स्वदेश मै केहि गर्नु पर्छ भन्ने, लेख्ने, गीत गाउने, प्रवचन दिने मान्छे म आफै अमेरिका आएर यहाँ नयाँ जीवन शरु गर्न वाध्य भएँ । कसैसँग कहिल्यै नझुकेको म आतंकबाद र आतंकवादीहरुबाट बाच्नका लागि आफुलाई सुरक्षित गर्न अमेरिकाको बाटो रोज्न बाध्य भएँ त्यो तितो र सत्य हो ।

 अब  पहिलाको जस्तो छैनकिन नेपाल फर्किनु हुन्न ?

  • पहिले जस्तो त छैन । ६ महिना अघि म नेपाल गएं , सबैतिर घुमें, हेरे तर अहिले पनि नेपाल पूर्ण रुपमा सहि बाटोमा छैन । अहिले पनि अराजकता हावी छन । मान्छेको जीउ ,ज्यानको भ्यालु देख्दिन तर पनि विस्तारै ठिक हुँदैजाला आशा गरौं । म ३/४ वर्षभित्रै नेपाल फर्किने गरी मैले आन्तरिक तयारीमा लागेको छु । दुई सन्तानको पीता पनि भएकोले मैले उनीहरुको जीवन र भबिष्यसंग खेलवाड गर्न मिल्दैन, उनीहरुलाई पढाउँदैछु । बिस्तारै उनीहरुलाई सेटल गराएर म नेपाल फर्किने हो ।  नेपालमै केहि गर्ने हो । त्यो दिन धेरै टाढा छैन ।

  , भने पछि तपाई सधैका लागि नेपाल फर्किदै हुनुहुन्छ ?

  • यता पुरै छाडेर सधैका लागि फर्किने भन्ने कुरा पनि सजिलो छैन । यहाँ बिजनेसहरु, छोराछोरी, परिवारजन यता भएकाले आउने जाने त पक्कै गर्नै पर्छ, तर नेपाल बसाई जति सकिन्छ बढाउने र अमेरिका बसाई जती सकिन्छ कम गर्ने, नेपाललाई नै कर्मभूमी बनाउने लक्ष्य छ, हेरौं परिस्थितीले कत्तिको साथ दिन्छ ।

अमेरिकामा पनि नेपालमा झैँ त्यतिकै सक्रिय देखिनुहुन्छ, त्यहीं पनि सानो नेपाल बनाएर बस्नुभाछ भन्छननेपाल बाट अमेरिका जानेहरु । हर क्षेत्रका नेपालबाट जो जान्छन, धेरै जसो तपाईसंग पुगेको र तपाईकोत्यहाको प्रगति देखेर “रामप्रसाद खनाल गरिखाने मान्छे हो, जहाँ पुग्यो उहि तरक्की गर्छ, कहिँ कहिल्यै फेलभएको छैन” भन्दै फर्किन्छन कस्तो लाग्छ ? अमेरिका जाने धेरै जसो हाइ प्रोफाइल वालाहरु तपाईं सँगजान्छन बस्छन, नेताहरु त्यती देखिँदैनन् नि ?

  • मैले के नै तरक्की गरेको छु र ! सामान्य गुजारा गर्दै आएको छु तर म कर्ममा विश्वास गर्छु। जहाँ गए पनि केही न केही त गर्नु पर्छ, गर्न सकिन्छ भन्ने, प्रयास गर्ने मान्छे हु । अमेरिका रहँदा पनि अहिले त्यही सत्कर्म गर्ने प्रयास गर्दैछु । खास त्यस्तो केही छैन । अरु नेपालीहरु झैँ जिबिकोपार्जन गर्ने बाहेक अरु के नै त्यस्तो छ र मेरो । अरु त तपाईहरुले मूल्यांकन गर्ने कुरा हुन ।

रह्यो कुरा अमेरिका आउनेहरुको । म नेपाल आमालाई लुछ्ने, दिल्लीका बिल्ली नेताहरुलाई न त घरमा आमन्त्रण गर्छु न त एयरपोर्ट लिन, चाकडी बजाउन, स्वागत गर्न वा पुर्याउन जान्छु । यदी कुनै निश्कलँक नेता, राम्रो नेता अमेरिका आए भने उनिहरु नै मलाई संपर्क गर्छन् र उनिहरुलाई म ससम्मान घरमै आमन्त्रण गर्छु स्वागत पनि गर्छु । हाम्रा केही साथीहरु हुनुहुन्छ जो काङ्रेसका नेता आए काङ्रेसी हुँ भन्दै, एमालेका नेता पुगे ओहो कमरेड म त एमाले नै हो नि भन्दै र प्रचण्ड बाबुरामहरु पुग्दा माओवादी, नयाँ शक्ती नै बन्दै छेपाराले रङ्ग फेरे जस्तो रङ्ग फेर्नेहरु छन नेताहरुका लागि । तर म त्यस्तो छेपारे प्रब्रित्ती देखाउन सक्दिन । म त राजनीतिबाट पुरै अलग भएको मान्छे । कलाकार, पत्रकार, सामाजिक ब्यक्तित्व, साहित्यिक ब्यक्तित्व, समाजसेबी, बुध्दिजिबी, पेशागत ब्यक्तित्व हरुलाई सधैं मलाई खोज्छन पनि म सँग पुग्छन पनि । म पनि खोज्छु, रोज्छु, बोलाउँछु पनि ।

 के के गर्दै हुनुहुन्छ अमेरिकामा अहिले ?

  • म अमेरिकामा सुपरमार्केट, स्टोरहरू, ग्यास स्टेशनहरुको बिजनेश चलाइरहेको छु । केहीलाई रोजगारीको अबसर दिएको छु । नेपालीहरुलाई रोजगारीमा प्राथमिकता दिइरहेको छु । सहयोग गरिरहेको छु । बाँचिरहेको छु, बँचाइरहेको छु ।

विजेनेशमामात्र होईन,अमेरिकामारामप्रसादखनाल जहाँजे मा पनित्यतिकैसक्रियदेखिनुहुन्छ। मर्दा पर्दापनि पुगेकैछ जता पनिर सहयोगगर्नुभएकै छ।नेपालीहरुलाईरोजगारीपनि दिनुभएको छ । अमेरिकामा पनि कार्यक्रम शो हरु गरिरहनुभएकै छ, गीत, संगीत, साहित्यकलाकारितालाई पनि निरन्तरता दिइरहनु भएको छ यो सबै कसरी सम्भव भएको छ, बताइदिनु हुन्छ कि ?

  • म मानवियता र व्यवहारिकतामा विश्वास गर्छु । कोही दुर्घटनामा परे वा मृत्यु भए भने सकेसम्म त्यहाँ सहयोगी हात लिएर पुग्छु । नेपालीहरुलाई प्राथमिकता साथ रोजगारीमा अबसर दिन्छु । सहयोगको भावना राख्दछु । आफु सक्दो सबैलाई सहयोग गर्दछु । कार्यक्रमहरु पनि सकेसम्म ऐटेन्ड गर्छु, गीत, संगीत, कलाकारिता पत्रकारिता, साहित्यको क्षेत्रमा नेपालमा हुँदा झै अमेरिकामा पनि सक्दो गर्ने प्रयास गरिरहेको छु । यो मन त मेरो नेपाली हो गीतमा मात्र होइन मनमा पनि नेपालीत्व बोध छ । राम्रो गरिरहेको छु वा छैन त्यो त तपाईहरु पत्रकार, मेरा दर्शक र श्रोताले मुल्याकन गर्ने विषय हुन ।

 हाल सम्म कति गीत गाउनु भयो ? कस्ता कस्ता गाउनु भयो ? 

  • करिव एक हजार दुई सय भन्दा बढी गीत लेखन, संगीत र गायन गरियो । लोकगीत र आधुनिक गीत, राष्ट्रिय गीत, दोहोरी गीत, भजन, कृतन, तीजगीत, देउसी भैलो देखि हर प्रकारका गीत लेखियो गाइयो ।

 तपाईका धुप्रै एलबमहरु पनि बजारमा छन्  कति एल्वम प्रकाशन भए होलान बताइदिनु  ?

  • मेरा हालसम्म ४३ बटा गीति एल्वम प्रकाशित भए । जुन हाल वजारमा छन । कतिपय यु ट्युबमा पनि छन । कतिपय रेडियो नेपाल र नेपाल टेलिभिजनमा रेकर्डेट छन ।

 पुस्तकहरु पनि लेख्नु भएको   कति प्रकाशित भए बताइदिनु हुन्छ कि ?

  • हालसम्म मेरा १६ बटा पुस्तकहरु प्रकाशित छन् । गीत संगीत, कविता, गजल, जीवन यात्रा र बायोग्राफी गरि १६ वटा पुस्तक प्रकाशित भएका छन भने अब १७ औं कृति प्रकाशनको लागि तयारीमा छु ।

 कविताहरुगजलहरु मुक्तकहरु पनि तपाईका थुप्रै छन नि हैन ?

  • हालसम्म आठसय भन्दा बढी कविता, मुक्तक, गलज लेखेको छु । त्यस मध्ये अधिकांश प्रकाशित भएका छन् मिडियाहरुमा । गत वर्ष त्यस मध्येबाट छानेर एकसय वटा उत्कृष्ट कविता र गजल समेटिएको “देश हराएको मान्छे” नामक कृति प्रकाशित भयो जुन संसारभर रहेका नेपालीहरुले मन पराइदिनुभयो ।

अमेरीकाबाट पत्रकारिता गर्न गार्हो त्यो पनि नेपाली पत्रकारिता झनै गाह्रो  होला होइन ?

  • मैले छापा पत्रकारिता हुँदै रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता त नेपालमै लामो समय सम्म गरेँ । अमेरिकामा आएपछि अनलाइन पत्रकारिता गरिरहेको छु । नेपाल मदर डटकम अमेरिकाबाट प्रकाशित हुन्छ । यो संसारभरका एक सय एकाउन्न देशहरुमा बस्ने नेपालीहरुको खुराक बनेको छ । जमाना अब अनलाइन पत्रकारिताको आयो । विदेशमा बसेर पत्रकारिता गर्नु, नेपाली भाषामा पत्रकारिता गर्न पक्कै सजिलो छैन जसो तसो गरिएको छ भन्नुपर्‍यो ।

तपाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्ष हुनुहुन्छ  यो कस्तो संगठन होनेटवर्क कस्तो  ?

  • म अध्यक्ष रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकी सरकारद्धारा मान्यता प्राप्त कलाकारहरुको अन्तर्राष्ट्रिय रजिस्टर्ड अर्गनाइजेशन हो । जसमा नेपाली मात्र होइन, विदेशी कलाकारहरु समेत संलग्न छन । संसारका ३४ देशमा यसको सञ्जाल फैलिएको छ । नेपालमा शिवहरी पौडेलजीको अध्यक्षतामा हाम्रो शाखा छ, जसमा नेपालका धेरै अग्रज कलाकारहरु संलग्न हुनुहुन्छ । यसको प्रधान कार्यालय अमेरिकामै छ ।

 तपाइँ  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजवाशिंगटन डिसीको पनि अध्यक्ष हुनुहुन्छ क्यारेयो चाहिँ नि ?

  • नेपाली भाषा, साहित्य, लोक सँस्कृती, कलाको क्षेत्रमा कार्यरत छ अन्तराष्ट्रिय नेपाली साहित्य समाज । बिदेशमा बस्ने नेपालीहरुलाई नेपाली भाषा , साहित्य , लोक सँस्कृती,  कलाको क्षेत्रमा अग्रसर बनाउन यो संस्था मार्फत हामीले काम गरिरहेको छौं । मैले वाशिङटन डिसी मेट्रो कमिटीको अध्यक्षका रुपमा दोस्रो कार्यकालमा भूमीका निर्वाह गरिरहेको छु ।

तपाईंको संलग्नता अरु के के मा  ?

  • म एनआएनको आजीवन सदस्य छु, त्यसका अलावा अमेरिकी रियल्टरहरुको संस्थाको केन्द्र, भर्जिनियाको पनि सदस्य छु, आफु सक्दो  योगदान दिने प्रयास गरिरहेको छु ।

अमेरिका भन्ना साथ नेपालीहरु हुरुक्क हुन्छन  तपाई भने अमेरिकामा नै स्थापित भएर पनि नेपाल  नेपाली भनेर  हुरुक्क देखिनुहुन्छ  तपाईका गीत ,कबिता , लेख रचना सबैमा नेपाल बोल्छ  अमेरिकाले तपाईंलाईकिन तान्न सकेन ?

  • हो म अमेरिकामा वसेर सबै सुख , सुबिधा प्राप्त हुँदा पनि आफै बिजनेस गरेर बस्दा पनि संतुष्ट छैन । ज्यान अमेरिकामा छ तर मेरो मन मुटु सधै नेपालमा हुन्छ । मलाई अमेरिकाले नेपाल बिर्साउन सकेको छैन । मलाइ नेपाल नै प्यारो लाग्छ किन हो किन ! म राती सपनीमा पनि हरेक रात नेपाल पुगेकै हुन्छु । बिपनीको त के कुरा गर्नु ।

 नेपालको अवस्था  राजनीति प्रति निकै चिन्तित देखिनुहुन्छ नि सधैं ?

  • कस्तो देश कस्तो भयो, हेर्दा हेर्दै कता गयो हेर्नुस् त ! हाम्रो सम्पूर्ण सत्ता संचालन कहाँ बाट कसरी हुन्छ ! दिल्ली हावी सधै, देश भित्र हर क्षेत्रमा अराजकता मौलाएको छ, सम्हाल्ने कसले ?? धर्म, कर्म, नैतिकता, मानवता सवै हराउदै गए पछि र पार्टी अनि तिनका नेता कार्यकर्ता बेइमान भए पछी आज नेपाल आमाको बेहाल छ । गणतन्त्र, लोकतन्त्र, संघीयता भन्दै देश जातीय, धार्मिक, साम्प्रदायिक बाटोमा अघि बढीरहेको छ । देश नक्सा भित्र मात्र सिमित भएको छ, युवा जनशक्त्ति पलायन भए, कृषी प्रधान देश, जलश्रोतको दोश्रो धनी राष्ट्र नारा कता गए ?? हेर्नुस् त प्रहरी प्रशासन, सरकार, अदालत, सेना हर क्षेत्रमा बिकृति, विसंगति, अन्याय, अत्याचार, अराजकता, भ्रष्टाचार मौलाएको छ । देशको हाल बेहाल छ त्यसैले निकै चिन्ता लाग्छ । स्वर्ग जस्तो नेपाल वर्वाद हुने दिशामा छ । सोमालिया, रुवान्डा, हाइटी, कंगो, बुरुण्डी जस्तै असफल राष्ट्र बन्ने बाटोमा छ नेपाल । कुन दिन फेरी हिँसा भडि्कन्छ थाहा छैन, अहिले हामी आँधी आउनु अघि को सन्नाटामा छौं, आँधी आए पछीको सन्नाटा हेर्न अझै बाँकी नै छ । यस्तोमा मेरो नेपाली मन कसरी सन्तोस हुन सक्छ र !

 गणतन्त्र , लोकतन्त्रसंघीयताधर्म निरप्रेक्षता प्रति तपाइँ सन्तुष्ट हुनुहुन्न यसको मतलव ?

  • कसरी सन्तुष्ट हुनु, हेर्नुस् न यो देशको केन्द्र सरकार र ७ प्रदेश सहितका ८ ओटा सरकार कसरी धान्न सक्छ नेपालले अहिले ? ८८४ जना सांसद कसरी पाल्न सक्छ ? सँघीयता त सबल राष्ट्रहरुमा सफल हुन्छ हाम्रो जस्तो देशले अहिले सँघियता मा जाने बेला भएकाइ होइन, कुनै हिसाबले पनि नेपालका लागि अहिले सँघियता उपयुक्त छैन । छाडातन्त्र मौलाएको छ। कन्ट्रोल कसले गर्न सक्छ ? लथालिङ्ग छ , भताभुङ्ग छ, यस्तो तालले देश भोली के हुन्छ भन्नुस त ?? अब नेपालमा कुन दिन जातिय , भाषिक, क्षेत्रीय, धार्मिक साम्प्रदायिक दङ्गा हुने हो चिन्ता लाग्छ । देशले संघीयता धान्नै सक्दैन अर्थतन्त्र कुनै पनि बेला बिस्फोट हुने खतरा छ । हामी खरानीका लागि घरमा आगो लगाइरहेको छौ । देश झनझन अन्धकारमय बाटोमा उन्मुख छ । १२ हजार मन्दिर नभएको देश नेपालमा १२ हजार चर्च बनिसकेछन, हिन्दूहरु र बाहुन छेत्री लखेट्छौँ भनिसकेछन । आतंककारीहरुले बाचन शिरोमणि पन्डित नारायण पोखरेललाई गोली हानी मारेर शुरु गरेको हिन्दू धर्म माथिको प्रहार एक पछी अर्को गर्दै बिराटनगर सम्म पुगिसकेछ । त्यहा पनि अर्का हिन्दू गुरु माथि गोली प्रहार भैसकेछ । प्रचन्ड र बाबुराम जस्ता देशका सबैभन्दा ठुला शत्रुहरुले रोपेको साम्प्रदायिक, धार्मिक, क्षेत्रिय, जातिय झगडाको आगो सल्किसकेको छ । हाम्रो आफ्नै घरमा आगो लागि सकेको छ । दाई भाई लडाउने, मिलेर बसेका नेपाली भँडाउने, एउटा राजा हटाएर सयौँ राजा बनाउने यो खेललाई कसरी समर्थन गरौं ? कसरी चित्त बुझाउँ ?? तपाईं आफै भन्नुस् त !

अन्त्यमा केही छुट भनाइ छन् कि ?

  • नेपाल रहे हामी नेपाली रहने छौं, राष्टको भाषा , संस्कृती, कला, साहित्य, आफ्नो सम्झेर जोगाई राखौं । नेपाली पनलाई नबिर्सौं । पार्टी र  नेताहरुको पुच्छर बनेर नेपाली बन्न नभुलौँ । लोकतन्त्र लुटतन्त्र बनिरहेको छ, सचेत बनौँ, पार्टीका झण्डा होइन देशका झण्डा बोक्ने बनौँ । सबै जात जाती, भाषाभासी, मिलेर बसौँ, हामीलाई लडाउन भिडाउन खोज्ने नेता नामका दिल्लीका बिल्लिहरुसँग सजक बनौँ । सबै सँग यही आग्रह गर्दै मेरा भावनालाई जनमानसमा पुर्याइदिने तपाइँ र तपाइको मिडियालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नेपाल र नेपालीको सधैं जय होस । धन्यवाद ।

 

Interview by Dainik Patra 

 National Daily Butwal and Nepalijanta.com

Kathmandu,Nepal

२०७५ वैशाख ५ गते २३:४१ मा प्रकाशित