दिपशिखा शर्मा,
जीवन गतिशील छ । संघर्ष यात्रामा अनेक आरोह अवरोहहरू आउँछन् । तर धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरी निरन्तर अगाडि बढ्न सक्नु नै महानता हो । जो मान्छे उद्देश्य प्राप्तिको लागि निरन्तर संघर्ष गर्दछ । त्यो मात्र निश्चित गन्तव्यमा पुग्न सफल हुन्छ । सङ्घर्षको दौरानमा आएका हण्डर,ठक्करबाट कत्तिपनि विचलित नभई अगाडी बढ्न सक्नु नै महानता हो । सानोतिनो समस्याबाट नै हरेस खाएर पाखा लाग्नु कायर मनस्थितिको उपज बाहेक केही होइन । जो समस्यादेखि भाग्दछन् त्यस्ता व्यक्तिहरू कहिल्यै सफल बन्न सक्दैनन् । सफल व्यक्तिहरू त यस्ता हुन् जो समय र परिस्थितिसँग कहिल्यै हार मान्दैनन् । उनीहरू मात्र आफ्नो उध्येश्य प्राप्तिको लागि निरन्तर संघर्षरत हुन्छन् ।
यस्तै संघर्षशिल व्यक्तिहरूमध्ये इन्जिनियर एवं पाइलट प्रमोद रेग्मीलाई पनि एक हुन् । हाल अमेरिकाको फोनिक्स,अरिजोनाका स्थायी निवासी प्रमोद रेग्मी सानैदेखि अत्यन्त जिज्ञासु र मेहनती स्वभावका थिए । उनलाई केही न केही नयाँ कुराहरूको आविष्कार गरेर मुलुकलाई योगदान पुर्याउने चाहना थियो । तर राज्यको विषम परिस्थिति,उचित साधन र श्रोतको अभावले गर्दा हरेक कुरामा चुप लाग्न बाध्य बनाउँथ्यो । उनी अवसरको खोजीमा थिए । तर नेपालमा त्यो अवसर मिल्न भने सकिरहेको थिएन । फलतः उनले आफ्नो समय अध्ययनतर्फ केन्द्रित गर्न थाले ।
बुबा केशव रेग्मी र आमा अम्बिका रेग्मीको कोखबाट बालाजु काठमाण्डौंमा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाएका श्री रेग्मीले तरुण मा.बि. बाट एसएलसीको परिक्षा पास गरेका हुन् । त्यसपछि उनले Balaju School of Engineering and Technology बाट आधारभुत प्राविधिक शिक्षा एवं त्रिचन्द्र कलेजबाट बि.ए.सम्म अध्ययन गरेका छन् । उनी थप अध्ययको लागि २०५४ सालमा अमेरिका प्रस्थान गरेका थिए ।
मनभरि रहर,चाहना र सुखद भविष्यको सपना बोकेर अध्ययनको सिलसिलामा २३ वर्षको कलिलो उमेरमा अमेरिका हान्निएका श्री रेग्मीको चाहना भने सानैदेखि पाइलट बन्ने थियो । बहुप्रतिभाशाली व्यक्तित्व एवं महत्वाकांक्षी स्वभावका श्री रेग्मी सानैदेखि केही न केही गरेर आफ्नो पहिचान बनाउन चाहन्थे तर उचित साधन र श्रोतको अभावमा उनको सपना अधुरै रहेको थियो । अमेरिका छिरेपछिका उनका अधिकांश दिनहरू पनि सुखद हुन सकेनन् ,हर दिन हर रात संघर्ष गर्दैमा बिते । उनी उचित अवसरको खोजीमा थिए । सर्वप्रथम त उनलाई आफ्नो अध्ययन पूरागर्नु थियो । दोस्रो कुरा अमेरिकामा आफूलाई स्थापित गर्न थियो । यी दुवै चुनौतीहरू पार गरिसकेपछि बल्ल उनले आफ्नो सपनालाई निरन्तरता दिने अठोट गरे ।
अनेक हण्डर र ठक्कर खाँदै सपनाको शहर (Land of Opportunity) अमेरिकामा उनले Mesa Technical School बाट Electrical Engineer को अध्ययन पूरा गर्नका साथै Aerosim Abation बाट पाइलट कोर्सपनि पूरा गरिसकेका छन् । पेशाले इन्जिनियर रहेका श्री रेग्मीले पाइलटको कोर्स पूरा गरी लाइसेन्स लिईसकेपछि प्लेन पनि आफैँ बनाउने अठोट गरे । तर उनको यो अठोट सहज भने थिएन । उनीमाथि धेरै चुनौतीहरू थिए । आर्थिक लगायत प्राविधिक कठिनाइहरू थिए । श्रोत र साधन भएपनि लगनशीलताको अभावमा यो कार्य जो पायो त्यहीले फत्तेगर्न सक्दैनथ्यो । उक्त परियोजना पूरा गर्नको लागि अध्ययन,अनुसन्धान, सन्तुलित दिमाग,कठिन परिश्रम,आत्मविश्वास,धैर्यता,लगनशीलताको खाँचो पर्दथ्यो ।
“जहाँ ईच्छ्या त्यहाँ उपाय” भने झैँ उनी निरन्तर उद्देश्य प्राप्तिको लागि अगाडि बढ्दै गए । परियोजनालाई सफल बनाउन डेढबर्षसम्म कसैसँगपनि सम्पर्क गरेनन् । उनी मात्र आफ्नो कार्यमा अगाडि बढ्दै गए । किनकि उनलाई हर हालतमा यो परियोजना सफल गर्नुथियो । परियोजना सफल बनाउनको लागि आफ्नो नियमित काम बाहेक अन्य समयमा घण्टौँ घण्टा ग्यारेजमा बिताउन थाले । काममा यती खट्दथे कि आफ्नो परिवारलाई समेत भेट्ने उनीसँग समय थिएन । छोराछोरी र श्रीमतीले समेत उनलाई हमेशा ग्यारेजमै गएर भेट्नुपर्दथ्यो ।
डेढ वर्षको उनको अथक प्रयास, लगातारको मेहनत र परिश्रमको वावजूद अन्ततः आज उनको यो परियोजना सफल भएको छ । अन्य देशको तुलनामा यो सामान्य भए पनि नेपालको सन्दर्भमा भने प्लेन बनाउने उनी पहिलो व्यक्ति हुन् । संसारमा असम्भव भन्ने केही छैन,मेहनत गरे के हुन्न र ? भन्ने भनाइलाई उनले सार्थक बनाएर देखाएका छन् । यो परियोजना उनी एक्लैले खटेर सफल गरेका हुन् । आफ्नो दिनरातको मेहनत बाहेक प्लेनको कुल लागत खर्च डेढ करोड नेपाली रुपैयाँ पर्न आएको छ ।
हाल उनको प्लेन अमेरिकी सरकारको हवाई विभाग US Govern of FAA मा जुन ४ २०१८ मा सूचिकृत हुनुका साथै उडान अनुमति समेत लिइसकेको छ । उनी एक्लैले तयार पारेको प्लेनको सफल परीक्षण एवं सफल उडान समेत गरिएको छ । उनको पहिलो सफल उडान १४ जुन २०१८ मा गरिएको थियो । जसको समयावधि डेढ घण्टाको थियो । प्राप्त जानकारी अनुसार आउँदो २०१९ भित्रमा अमेरिकाका सबै स्टेटहरूमा उडान भर्ने उनको लक्ष्य रहेको छ ।
साधन श्रोत र अवसर पाएमा नेपालीले पनि ठुलाभन्दा ठुला काम सजिलै फत्तेगर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रमोद रेग्मी । उनको यो क्षमतालाई राज्य संयन्त्रले विशेष सम्मान एवं कदर गर्नुपर्ने देखिन्छ । प्राविधिक ज्ञानको माध्यमद्धारा स्वदेश तथा विदेशमा मुलुकको नाम र शान उँचो पार्न अहोरात्र खटिने यस्ता होनहार स्रष्टाहरूको सम्मान गरी उनीहरूको लागि राज्यमै उपयुक्त वातावरण बनाई राष्ट्रको समृद्धि निर्माणको कार्यमा लगाइनुपर्छ भन्ने यो पंक्तीकारको मान्यता रहेको छ ।
राज्यबाट उनको आवश्यकता महशुस भएमा ईन्जीजियरिङ र पाईलटिङको क्षेत्रमा आफूले सकेको सहयोग गर्न उनी तयार रहेको बताउँछन् । यस्ता प्रतिभावान व्यक्तिहरूलाई उत्प्रेरित एवं उत्साहित गर्न मुलुकले कुनै ठोस रणनीति नल्याएकोले प्रमोद रेग्मीजस्ता असंख्य व्यक्तिहरू हुर्किन, फूल्न र फक्रिन नपाउँदै मुर्झाउन बाध्य छन् । तसर्थ यस्ता प्रतिभावान व्यक्तिहरूको रक्षार्थ सम्बन्धित निकायबाट आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।
स्वदेशमै अवसरहरू उपलब्ध भएमा क्षमता भएका व्यक्तिहरू अवसरको लागि बाहिर जानुपर्ने थिएन । मुलुकभित्रै यस्ता व्यक्तित्वहरू रहेमा मुलुकको लागि गौरवको कुरा हुनेथियो । आफैँ प्लेन बनाएर सफल उडान भरेका प्रतिभाशाली व्यक्तित्व प्रमोद रेग्मीको महान कार्यलाई सलाम ! फेरिपनि नयाँ रचनात्मक कार्यमा उनको ध्यान जाओस् ,हार्दिक शुभकामना !