स्कटनेपाल युके,
११ बर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ बर्ष बितेछ ! यात्रा सकेर नेपाल फर्केको ७ बर्षपछि मेरो देशको सरकार प्रमुखलाई भेट्ने शुअवसर मिल्यो ! सम्माननीय ज्युको स्वकीय सचिबले मेरो परिचय गराउनु भो !
” ए पुस्करजीलाई त म चिनीहाल्छु नि” सम्माननीयले गर्ब साथ बोल्नु भो !
म खुशीले गदगद भएँ !
“अनि भन्नुस पुस्करजी”
सम्माननीयको आग्रहले म बोलें
जीवनका स्वर्णिम बैंसहरु
११ बर्ष
४०१५ दिन
दुइ लाख एक्काइस किलोमिटर
साइकलको पांग्रा माथि जीवन र मेरो देशको झन्डा बोकेर
१५० देश
संसारलाई साढे पाँच फन्को
त्यसपछि संसारभरिको झन्डा बोकेर
सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए !
अनि ? सम्मानीयले सोध्नु भो !
” संसारलाइ साडे पाँच फन्को पुस्तक लेखें ”
” वाउ ! ” सम्माननीय ज्यु दङ्ग पर्नु भो !
” म २०४६ सालको जन आन्दोलनको घाइते पनि हो , चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलिले दाहिने हात छेडेर गएको थियो !
बिर अस्पतालले मृतक घोषित गरेर मेरो नाम शहिदको सुचीमा छ ! ”
भन्दैथें , भन्दैथें , सम्माननीय ज्यु त अघि नै ढलेछन् ! स्वकीय सचिब र सुरक्षा गार्डहरुले खै के के सुँघाएर , पानि छम्केर होसमा ल्याए ! मेरो उग्रक्षमता देखेर डराएछन् क्यारे ।
” त्यत्रो ४६ सालको योद्धा , जिउदो शहिद, ऐलेसम्म पार्टीसदस्यता लिनु भाको छैन ? ” घर फर्केको साँझ स्वकीय सचिबले मलाई फोनमा सोधे ! उनलाई म ४६ सालदेखि नै नजिकबाट चिन्छु ! उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जन आन्दोलनमा होमिन सिकाउने !
” देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन ” मैले उनलाई सुनाएँ ! त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो !
आमाले मलाई माटो र पसिनालाइ माया गर्न सिकाइन ! म माटोलाइ चट्टकै माया मारेर पसिनालाइ माया गर्न हिडें !
ऐले अस्ट्रेलियामा भाँडा टल्काउदैछु ! एकबारको जुनीमा !
(पुस्कर शाहको वाल बाट साभार)