भक्तपुर। तेह्र वर्षअघि बारा, रतनपुरी-५ का १४ वर्षीय एक किशोर घरबाट हराए। घरमा खैलाबैला मच्चियो। गाउँभरि खोजे। भेटेनन्। भोलिपल्ट घरमुनि खोल्सीमा ठूला दाइले भेटे। ती किशोर घर फर्किन मानेनन्। एकोहोरो अघिअघि हिँडे, पछिपछि दाइ।
एक ठाउँमा पुगेपछि दाइलाई भने, ‘म यहीँ बस्छु, तपाईं जानू।’ भोलिपल्ट जंगलभित्र एउटा पिपलको रूखमुनि उनी तपस्यारत भेटिए। त्यसअघि उनको तपस्या र ध्यानको खासै पृष्ठभूमि छैन। भारतको देहरादुनमा लामा पढ्न गएका उनी पढाइ नसकी फर्किएका थिए। तिनै किशोर हुन्, राम बहादुर बमजन।
रतनपुरी जंगलमा ‘तपस्वी’ लाई हेर्न मानिसहरू आउन थाले। विस्तारै घुइँचो बढ्यो। स्थानीय मिडियाले समाचार लेखे। राष्ट्रिय मिडियाले लेखे। आगन्तुकको घुइँचो झनै बढ्यो। धुपबत्ती, खादा, ध्वजा र झन्डाहरूको खात लाग्न थाल्यो। कतिपयले नजिकै फूलगुच्छा, अगरबत्ती र खादाहरूको पसलै खोले। होटल खोले। सुनसान जंगल एकाएक गुल्जार भयो। बमजन रतनपुरीमा १० महिना बसे। कति तपस्या बसे, कति निराहार बसे, त्यो विवादास्पद नै छ। त्यहाँ उनलाई सघाउने भित्री ‘सर्कल’ मा परिवारका सदस्य मात्र थिए- जेठा दाइ, भाइहरू र मामाका छोरा। यथार्थ उनीहरूले मात्र भन्न सक्छन्। त्यो बेला रतनपुरीमा सँगै बसेका एक चेला बमजन १० महिना निराहारै ध्यानमा बसेको दाबी गर्छन्। यसमा अविश्वास गर्नेको कमी छैन। त्यति लामो समय नखाई तपस्या बसेका बमजन हृष्टपुष्ट नै देखिन्थे। त्यसैले धेरैले शंका गरे।
बमजन नखाई तपस्या बसेका हुन् वा होइनन् भनी निर्क्यौल गर्न जाँच्ने कुरा आयो। डाक्टरको टोली तयार भयो। तर, उनले परीक्षणका लागि चाहिने रगत नमूना दिन मानेनन्। यसले धेरैलाई उनको तपस्यामाथि शंका भयो। शंका गर्नेमध्ये एक हुन्, सर्लाही, बाग्मती नगरपालिका वडा नम्बर १ का अध्यक्ष गम्भीरसिंह पाख्रिन। ‘उसले सत्य बोलेको थियो भने परीक्षण गरेर के बिग्रिन्थ्यो?’ पाख्रिनले भने, ‘मलाई पहिल्यैदेखि शंका थियो। त्यो दिनबाट त बमजनमाथिको विश्वास पूरै हट्यो।’ बमजनमाथि शंका गर्नेहरू थोरै भए। उनलाई विश्वास गर्ने, उनको दर्शन गर्ने धेरै। देश-विदेशका दर्शनार्थीको घुइँचो बढ्दै गयो। शंका गर्नेहरू विस्तारै पाखा लागे। चुप बसे।
विश्वास गर्ने कतिले उनलाई भगवान मान्न थाले, कतिले बुद्ध। दिनानुदिन मान्छेको मेला लाग्न थालेपछि बमजनले ‘भिड धेरै भयो, हल्ला भयो, मलाई शान्ति चाहियो’ भने। रतनपुरीमा बसेको करिब १० महिनापछि उनी २०६३ फागुन अन्तिम साता तपस्या बसेको ठाउँबाट एकाएक हराए। ‘बुद्ध’ हराएको कुरा आगोसरि फैलियो। त्यसले राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान तान्यो। केही दिनपछि उनी नजिकैको हलखोरिया जंगलमा भेटिए।
बेलायती समाचार संस्था बिबिसीले उनको ‘स्टोरी’ गर्यो। प्रतिष्ठित डिस्कभरी च्यानलले ‘बुद्ध ब्वाइ’ भनेर बमजनमाथि वृत्तचित्र नै बनायो। उनी तपस्या गरेर, हलचल नगरी ७२ घन्टा एकैठाँउ बसेको भिडियो आफूले खिचेको डिस्कभरीले दाबी गर्यो। त्यसले अन्तर्राष्ट्रिय रूपमा उनको नाम झनै फैलियो। उनलाई हेर्न विदेशबाट पनि मानिसहरू आउन थाले। एकाएक उनी ‘लिटिल बुद्ध’ बने। देशभित्रै र बाहिरबाट पनि दान र सहयोग बढ्न थाल्यो। हलखोरियामा उनले आफ्ना सहयोगी र अनुयायीहरूलाई आश्रम बनाउन लगाए। तपस्याका लागि पाताल गुम्बा बनाउन लगाए। त्यो बेला पाताल गुम्बा निर्माणमा काम गरेका एक अनुयायी वरको ठूलो रुखमुनि ६० जना खटेर सात फिट अग्लो र सात फिट चौडा गुफा बनाएको सम्झन्छन्।
सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कसैले जान पाउँदैनन्। यो खबर केहि दिन अघि मात्रै कान्तिपुर दैनिकले छापेको छ। शुक्रबारदेखि अनुसन्धानमा व्यस्त सीआईबी फोरेन्सी विज्ञ सहितको प्रहरी टोलीले आइतबार आश्रमभन्दा ३ सय मिटर पर तरकारी बारीमा १५ फिट गहिरो शंकास्पद स्थान उत्खनन् गर्दा आठ वटा नुनको खोल र कोइलाको अवशेष बरामद गरेको थियो । ‘त्यसपछि आश्रमस्थलमा जान प्रतिबन्ध लगाएको छ,’ इन्द्रावती गाउँपालिका बाडेगाउँका लक्ष्मण थापाले भने।
पहिले पनि आश्रममा संघका सदस्य या अनुयायीबाहेक अरूलाई जान दिइएको थिएन। त्यहाँको गतिविधिबारे ध्यानमा बिघ्न पर्ने जानकारी दिइन्थ्यो। बीचमा प्रहरीले अनुसन्धानमा राखेपछि आश्रमबाट कसैलाई आउन रोक लगाएको छ। तीनदिने अनुसन्धान सकेर पाएको नुन मिसिएको माटोसँगै छेउमा प्राप्त कोइलाबारे परीक्षण भइरहेको प्रहरीले जनाएको छ। ‘१५ फिट गहिरो खनिसकेपछि पत्रेढुंगासहित नुनको खोल र कोइला अवशेष फेला पर्यो, त्यसको परीक्षणसँगै थप अनुसन्धान भइरहेको छ ।
बमजनको आश्रममा के देखियो ? जस्ताको त्यस्तै …हेर्नुहोस् भिडियो