ओ मुर्ख डाक्टर ,
अति भो तिम्रो दादागिरी
तिमीले अब मर्नुपर्छ!
नत्र चाँडै मारिनु पर्छ..!
को हौ तिमी
जो गरिबका झुपडीमा गएर
तिनीहरुको मुटुको धड्कन छाम्ने,
झुप्रोको आँगनमा लडिरहेकी
धनिमाया थारुको निधारको ज्वरो नाप्ने,
मर्न आँटेको बुढो मुसहरको नाडी छामेर
त्यस्को पाखुरामा स्लाईन चढाउने,
लहरेखोकिले थलिएकी फूलमाया चौधरीको
घाँटीको दबाई गर्ने, अनि,
कुपोषणले जिउ सुकिसकेको
माईलो दमाईलाई जीबनदान दिन खोज्ने !
तिमीले पढेको डाक्टरी
सबै एउटा थोत्रो तन्नामा गुटुमुटु पारेर
लम्पसार हुन तिमीलाई छुट छैन यसरी!
तिमी अब मर्नु पर्छ
कि त चाँडै मारिनु पर्छ !!
देखेनौ तिमीले यत्रो दुई तिहाईको लस्कर?
जो यिनै अनपढ़
बिकट ठाउँकी बुढी धनीमाया थारु ,
तराईको चिसोले सेकेको बुढो मुसहर,
दुखमा जीबन कटाएकी गाउँकी सोझी फूलमाया र
गरिब, चेपिएको र हेपिएको माईलो दमाईको
भोटले अघाएर साँडे जस्तो भएको छ? ?
जे गर्नु छ यसैले गरोस्
राजधानीमा मेडिकल कलेजहरु खुल्नु पर्छ
हुनेखानेहरुले मात्र त्यहाँ डुल्नु पर्छ
भर्खरै डिग्री पास गरेर सर्टिफ़िकेट टेबलमा पछारेर
जागिरको खोजिमा भौतारिएको सुकुम्बासीको छोरोको कपाल
बेरोज़गार भएरै फुल्नु पर्छ
कुल्चिदेउ तिम्रा आखाका ती सब असम्भव सपनाहरु
तिमी अब मर्नु पर्छ, कि त चाँडै मारिनु पर्छ !
देशमा लोकतन्त्र आएको छ,
मार्सी भातको भतेर लाउने
हजारौ भ्रश्ट भान्साघरहरु
बालुवाटार र
सिँहदरबारमा खुलिसके
तिमी त बिकाश बिरोधी
परिबर्तनको बाधक ,
खाली गरिबहरुको मुद्दा शिरानी लाएर
दिउँसै देशमा समृद्दिको सपना देख्ने अन्धो लाटोकोसेरो
तिमीलाई के को यत्रो माया गरिबको?
तिमीलाई के को हुटहुटी गाँउकी सुत्केरी मर्दा ?
के को औडाहा निमुखाको सन्तान खस्दा?
तिमीलाई के को स्वार्थ नाम , दाम र पहिचान बटुल्न?
न तिम्रा जहान परिवार , न तिम्रा ठूल्ठूला महलहरु
फुलेको टाउको, चाउरीएका गाला र सुकेका हातगोडा घिस्याएर,
बेसी नलगाऊ तिम्रो फुर्ती
तिमीले गर्दा दर्जनौ माफियाहरुले कट्टु मुते
सैयौं दुर्गा प्रसाईहरु डिप्रेशनको कोक्रोमा सुते
हजारौ मेडिकल तस्करहरु रातारात सिसा झैं टुटे
एउटा जाबो बुडो डाक्टरले
सिंगो सरकारलाई
यसरी थर्कमानै पार्छ भने
तिमी अब मर्नु पर्छ
कि त चाँडै मारिनु पर्छ!!
यो त ,
पैसा र पावरवालाको
कलि युग हैन “ओली युग” हो
यहाँ,सत्ताको स्वादले लठ्ठिएका सिकारु अर्नाहरु
शक्तिको दम्भले बहुलाएका धुर्बे हात्तीहरु र,
राज्यब्यवस्था फेरें भन्दै
जनतालाई रैति बनाएर शिकार गर्ने
फोहोरी राजनीतिको ग़ुफामा हुर्किएका
केहि ज़ोर पागल बाघहरु
भर्खरै शिकार खोज्न गुफा छोडेर बाहिर निक्लिएका छन्
यस्तो बेला ,
तिमीजस्ता निस्ठाका हिमायति
निरिह प्राणीहरुको केह ज़ोर चल्दैन !
यहि मुद्दा बोक्दा,
केहि थान दाँत फुक्लेका भुपु बाघहरुले
हिंजो तिमीलाई चिथोर्नुसम्म चिथोरे
आज तिनीहरुले नै तिम्लाई पिठ्युमा बोक्दै छन् फेरि
र अर्कोथरी कोखमा दारा पलाएका
बर्तमान जंगलका मुखियाहरु
तिमीलाई चपाउँदैछन् कर्याम् कर्याम्
ओ पागल बुढो डक्टर ,किन नबुझेकौ यति कुरो?
तिमीसँग अब दुईवटा बिकल्प बाँकी छन्
कि त तिम्रो पुरानो झोलामा केहि औषधीहरु बोक
र तिम्रो त्यहि च्यातिएको छाता
ओरालोमा टेक्दै टेक्दै
गाउँगाउँ जाउ र,
गरिबहरुको घाउमा मल्हम लगाऊ
कि त तिम्रो एकमुठी सास
यिनै जंगली चुतियाहरुलाई चढाऊ..!
लेखिका ज्वाला संग्रौलाको यो लेख हामीले स्कटनेपाल मार्फत सार्बजनिक गरेका हौ आफ्नो कमेन्ट सल्लाह सुझाब पक्कै दिनु होला :