-कामना न्यौपाने
“म जब बच्ची नै थिएँ, त्यतिबेला छिमेकी अङ्कलले मलाई समाउँथे र मेरो शरीरमा हात डुलाउन थाल्थे । ट्युसन टिचरले मेरो ट्राउजरभित्र हात लैजान खोज्थे । तर म, यी सबै कुरा परिवारलाई भन्न डराउँथें । भनेको भए पनि, सायद उनीहरुले विश्वास गर्दैनथे, या गम्भीर रुपले लिने थिएनन् ।“ एक भारतीय टेलिभिजन अभिनेत्रीले, अहिले सामाजिक संजालमा चलेको हिंसा विरुद्धको अभियान #metoo मा समर्थन र सहभागिता जनाउंदै गरेको ट्वीट हो यो ।
किशोरी तथा युवतीहरु रात्रिबसमा यात्रा गर्दैनन्, किनकी उनीहरु रातसंग होइन, रातको बाहानामा उनीहरुको शरीरमा सल्बलाउन खोज्ने दानवहरुका हातहरुले गर्दा डराउँछन् । उनीहरु हरेक पुरुषमाथि शंका गर्छन्, किनकी उनीहरुले विश्वास र सम्मान गर्ने व्यक्तिले नै आफूमाथि कुदृष्टी लगाएको अनुभवलाई मनभित्र गुम्साईरहेका हुन्छन् । एक्लै भएको बेलामा, रातको समयमा वा यात्रा गर्दा, आफूलाई सम्मान र भद्र व्यवहार गर्ने पुरुषलाई ’भगवान जस्तो मान्छे रहेछ“ भन्दै श्रद्धा गर्छन्, किनकी मान्छे नामका राक्षसहरुले घरबाट निस्कने उनीहरुको पाइला समेत गह्रौं बनाइदिइरहेका छन् ।
यसै वर्ष, यात्राको लागि रात्रीबसमा हिड्नुपर्ने बाध्यता भयो । म बसेको सिटको साइडमा मेरै उमेरको युवा बसेको थिए । राती हुन थालेपछि उनको हातको भागले मेरो शरीर छोइएको महसुस गरें । संगै बस्दा हातले लाग्नु वा शरीर जोडिनु स्वाभाविक हो भनेर मैले बेवास्ता गरें, कसैले त्यसरी नियतवश नछोएको पनि त हुन सक्छ । बिहानैदेखिको यात्राले थकित म, निदाएँछु । तर एकै छिनमा, झस्किएँ । ती युवाका औंला मेरो शरीरलाई स्पर्श गर्न खोज्दै थिए । मेरो अघिको मौनतालाई उनले मलाई छुन पाउने स्वीकृति पो ठानेछन् की ? रिस उठ्यो, हप्काएँ । उनले माफी मागे र मलाई नछोइने गरी बसे । अँ, उनले गाडीमा बसेपछि भनेका थिए, उनी प्रहरी सेवामा काम गर्दैछन् । अब मैले त्यहाँ कोसंग सुरक्षा माग्नु ?
बाकी भिडियोमा सुन्नु होला :