अभियन्ताले नदेखेको मुसहर बस्तिको बिजोग, शिला नपाए भोकै

Spread the love

भक्तपुर। महोत्तरी-बर्दिबास–२ स्थित एकीकृत नमुना मुसहर बस्तीका घरमा बिहानै सूर्यको पहिलो किरण पर्ने बित्तिकै नीलो रङले छाएको जस्तापाता टलक्क टल्किन्छ। तर मोरंग बेलबारी वडा नं. ८ मा १६ घरधुरी भएका मुसहर बस्तिका बासिन्दाहरु पुस माघको लुगलुग काप्ने कठ्याङग्रीदो जाडोमा न्यानो ओड्ने औछ्याउनेको अभावमा महिनौ दिनदेखि मस्तले निदाउन सकेका छैनन्। उनीहरुको बिहानको एक छाक टरे भरे कसरी टार्ने भनेर सोच्दासोच्दै दिन बित्छ।
खै त्यहाँ सामाजिक अभियन्ता साथै सरकारको आँखा पुगेको ? सरकारले आधिवासी, जनजातिलाई राहत बढिरहदा मोरंगका यी १६ घरधुरी भएका मुसहर बस्ति अझै शिलाको भरमा जीवन जिउन बाध्य छ। खेतीपातीको लागि उनीहरुको न आफ्नो व्यक्तिगत जग्गाजमिन छ न व्यक्तिगत सम्पत्ति नै। रिपोर्टिंगको क्रममा हाम्रो पिएनपी मिडिया टिम त्यस बस्तीमा पुग्दा आफ्नो आधि नाङ्गो च्याच्या गर्ने बच्चा च्याप्दै राहतको आशमा ठुला ठुला आखा परेर आशावादी अनुहार लिएर हामी समक्ष दौडिदै आए मानौ उनीहरुलाई हामी केहि ठुलै सरसामान सहयोग गर्दै छौ।

धुर्मुस सुन्तलीले महोत्तरी-बर्दिबास–२ मा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिरहदा मोरङको यस मुसहर बस्तीमा चाही सामाजिक अभियन्ताको ध्यानाकर्षण किन हुन सकेन ? कस्तो अवस्थामा बचेका छन् त उनीहरु भनेर हामी उनीहरुको दुख सुनेर नै त्यहाँ बुझ्न मात्र पुगेका थियौ। त्यहाँ पुगेर प्रत्यक्ष आखाले देख्दा नेपालमा यस्तो अवस्थामा पनि मानसिह बचेको रहेछ भनेर मन बुझाउन नै गार्हो पर्यो हाम्रो टीमलाई।

यो सिङ्गो बस्ती ‘कालो अक्षर भैँसी बराबर’ भने जस्तै छ। त्यहाँ कसैले साउँ अक्षर खुट्याउनसम्म जानेका छैनन्। अरुले जे भन्यो त्यही सहि होला भन्ने सोच्छन् उनीहरु। शिक्षाको अभावमा उनीहरु छिट्टै अरुको कुरामा पनि विश्वास गरिहल्छन्। हुन त यो भन्दा बाहेकको अरु विकल्प पनि छैन उनीहरुसंग। त्यहाका अधिकांस युवा नशामा हुन्छन् भने महिलाहरु पर पुरषसंग जाने गर्दछन्। गरिवीको र चेतनाको अभावमा उनीहरुको जीवन जिउने शैली नै हेर्दा ‘छि’ भने जस्तो देखिन्छ। विलाशी जीवन जिउन उनीहरुलाई पनि त मन लाग्दो हो। तर त्यस्तो जीवन त उनीहरु कल्पना समेत गर्दैनन्।

अहिलेको अवस्थामा एक छाक मिठो खान पाए र एक सरो राम्रो कपडा लगाउन पाए नै उनीहरु आफुलाई भाग्यमानी ठान्थे होला। तर दुर्भाग्यवास यो पनि उनीहरुको जीवनमा सम्भव हुन सकेको छैन। बिहान बेलुका घुंगी र माछा सिकार गरेर छाक टार्ने गरेका यी बस्तीका मानिस काम गर्छु भन्दा पनि काम नपाउने स्थिति छ। केहि समय अघि त् उनीहरु अरुकोमा हाल बसेर भए पनि अलि अलि खान जोहो अहिले जग्गा जमिन पनि प्लाटिंग गरेर घर बन्न थाले पछि हलीको काम पनि गर्न पाएका छैनन् यो बस्तीका मानिसले।

तिन करोड नेपाली जनतामा के ति मुसहर बस्तीका मनिष चाही नेपाली होइनन् र ? उनीहरु अझै पनि यस्तो कहालीलाग्दो जीवन जिउन किन बाध्य भएका छन् ? उनीहरुलाई सामान्य जीवन जिउन साहयता गर्नु सरकारको दायित्व होइन र ? रिपोर्टिंगको क्रममा यस्ता यस्तै प्रश्नले मन बोझिलो भैरहेको थियो। राहतको आशमा हामीलाई घेरेका ति मुसहर बस्तीका मानिसलाई सहयोग गर्ने मन हुँदाहुदै अफसोचको कुरा हामीसँग उनीहरुलाई दिने केहि थिएन।

मुसहर बस्ति अवलोकन गरेर फर्किएपछि हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गर्नको निमित्त यो भिडियो सामग्री तपाईहरुमाझ प्रस्तुत गरिरहेका छौ। साथै यस बस्तिको विकासको लागि पिएनपीमिडिया टिम सरोकारावालाहरुलाई सहयोग गर्न सार्वजनिक रुपमा अपिल पनि गर्दछ। तपाई पनि हातेमालो गरेर मोरंगको यस मुसहर बस्तीका सदस्यलाई सहयोग गर्न चाहानुहुन्छ भने हामीलाई हाम्रो फेसबुक पेज पिएनपीखबर डट कममा पनि मेसेज गर्न सक्नुहुन्छ।