भक्तपुर। काभ्रे भकुण्डेबेसीका बसन्त र सिन्धुपाल्चोक मुडेकी चेलीको भेट १५ वर्षअघि काठमाडौंमै भएको थियो । त्यतिबेला बसन्त लोकन्थलीमा मार्केटिङ कम्पनीको गाडी चलाउँथे, चेली जडिबुटीमा दाइको होटलमा खाना पकाउँथिन् ।
होटलमा जाँदाआउँदा भएको चिनजान प्रेममा बदलियो । त्यसको दुई वर्षमा बिहे गरे । उनीहरुको बिहे घर परिवारलाई चित्त बुझेन । अहिलेसम्म पनि राम्ररी स्वीकारेका छैनन् ।
ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त कुमार ठाकुरी।
बसन्तको मन विचलित छ । दुई वर्षको प्रेम सम्बन्ध, १३ वर्ष बितेको बैवाहिक सम्बन्ध, आठ वर्षकी छोरी, घर बनाउने सपनाले विदेशिएको दिन … उनका आँखाअघि नाचिरहन्छन् । अनि एक्कासी ठोक्किन आइपुग्छ टेलिफोनमा सालीको आवाज, ‘दिदीलाई त मोटरसाइकलले हानिदियो, अस्पतालमा ल्याएको छ ।’
२०७३ साल चैत २५ गते मलेसियाबाट चेलीलाई फोन गर्दा सालीले उठाएर दिदीको दुर्घटना भएको सुनाएकी थिइन् । त्यसको अर्को दिन उनी नेपाल फर्किए । नर्भिक अस्पतालमा अचेत अवस्थामा रहेकी श्रीमतीलाई हेरे, उपचारमा दौडधुप गरे ।
नर्भिक अस्पतालमा ४५ दिनको उपचारपछि चेलीलाई ट्रमा सेन्टरमा ल्याइएको थियो । ट्रमामा ६ महिना आईसीयुमा राखेपछि ५१४ नम्बर बेडमा सारिएको हो ।
उनको उपचारमा संलग्न डाक्टरले ‘मेरुदण्डको दुईवटा नशा च्यापिएको छ’ भनेको बसन्तले बुझेका छन् । अरु समस्या डाक्टरले सुनाए पनि राम्ररी बुझ्न सकेका छैनन् । कहिले शरीर फुलिएर भुक्क हुन्छ, कहिले सुकेर चिर्पट जस्तो ।
बसन्त मात्र होइन, अब त डाक्टरले अब ‘यस्तै हो’ भनेर हरेश खाइसके जस्तो लाग्छ उनलाई । तर, उनलाई ‘हाम्रो काम बचाउने हो सक्दो त गर्छौं,’ भनेका छन् ।
श्रीमती चेलीको उपचारमा बसन्तले कुनै कसर छाडेका छैनन् । तर, एकातिर स्वास्थ्यमा सुधार भएको छैन भने अर्कोतिर आर्थिक अभावले पनि थिच्दै लगेको छ ।
दिनहुँ बढ्दै गएको खर्च र कमाई शून्य उनले उपाय निकाले, अस्पतालमै सेक्युरिटी गार्डको काम गर्ने । त्यसो गरे ड्युटीको समय नजिकै हुने भइयो र ड्युटी सकेपछि सँगै ।
‘एक टाइम सेक्युरिटीमा बस्छु र अर्को टाइम श्रीमतीलाई हेर्छु भन्ने सोचेको थिएँ तर, कम्पनीले त्यो सम्भावना पनि मेटाइदियो,’ नमजा मानेर उनले सुनाए । कम्पनीले डबल ड्युटी गर्न भनेपछि बसन्तले त्यसो गर्न नसक्ने बताए ।
अहिले आयल निगमका एक कर्मचारीको कार चलाउने काम गरिरहेका छन् । ‘बिहान ९ बजेतिर गएर कहिले ५ बजे कहिले ८ बजे फर्कन्छु र चेलीको रेखदेख गर्छु,’ बसन्तले आफ्नो दैनिकी सुनाए ।
बसन्तका अनुसार चेलीलाई खानमा कुनै परेज छैन । तर, कुनै बेला पेट फुलेर आउँछ र डायरिया हुन्छ । कुनै बेला दिशा हुँदैन । जब निकै गाह्रो हुन्छ, चेली मर्ने कुरा गर्छिन् । अलिअलि ठीक भएका बेला भने केही वर्ष बाँच्ने आशा राख्छिन् । बसन्त भने ‘२/४ वर्षले पुग्दैन, म बाँचुञ्जेल तिमी मेरो छेवैमा हुनुपर्छ’ भन्छन् ।
बसन्तलाई त्यसबेला असाह्यै पीडा हुन्छ, जब श्रीमतीले ‘मलाई मारिदिनुस्’ भन्छिन् । उनी आफैलाई प्रश्न गर्छन् ,’म मेरै श्रीमतीलाई कसरी मार्न सक्छु ।’
बाँकि हेर्नुहोस् भिडियोमा :