जातीय छुवाछुत र भेदभाव- हिन्दूत्वको अभिशाप ! जातीय छुवाछुत र भेदभाव-हिन्दूत्वको ब्लडक्यान्सर !

Spread the love

पं.भीमकान्त पन्थी,
मान्छेहरू अझै पनि जातपातका कुरा गर्छन्- ठगेर खानलाई, आफू ठूलो बन्नलाई, अरूलाई फ्रीमा कजाउनलाई। आफ्नो काम र बैँस जहाँ जत्थेर नि चले पनि पानी नचल्ने गरेकोमा कथित अछुतहरू पनि सदियौं देखि चुप्प छन्, कोही कोही अलिअलि बोल्छन् तर खास भिजन छैन, ध्येयविहीन टायर पोलाइले समाज बदलिंदैन के गर्नु। कामीले मन्दिर बनाउँछ, मुर्ति बनाउँछ, खुँडा खुकुरीमा सान लगाउँछ तर मन्दिर भित्र गएर पूजा गर्न पाउँदैन तर फेरि सान लगाउँदा सम्म भने छुन पाउँछ। दमाइले सिलाएका फरहरा, पर्दा मन्दिरमा सजिन्छन् तर दमाईले दैलो पनि छुन पाउँदैन।

चुँदाराले प्वाल परेको ठेको टाल्दा सम्म छुन पाउँछ तर प्वाल टालिए पछि छुन पाउन्न। गाउँको कामी, कुमाल, दमाई आदिले बुटवल, नेपालगंज, वीरगंजमा आएर पकाएको दाल भात निलिन्छ तर गाउँमा पधेरामा पानी भर्न पाउन्न। (अन्यथा अर्थ नलागोस्) पोटिला गाला र भरिला छाति सबैका चल्छन् तर अचम्म उनकै हातको पानी चल्दैन। अझ अचम्म त उनीहरू सँग पाए जिस्किन, दोहोरी गाउन र अन्यान्य अभद्र व्यवहार गर्दा कुलपित्री नर्क नजाने रे अनि विवाह गरेमा कुल पितृ ख्वात्तै रौरव नर्कमा परिहाल्ने रे!! छेत्री, मगर कुलमा जन्मेका नारीहरू सँग विवाह गरेर वंश चलाउने तर फेरि दाल भात आफै पकाउने गरेको त यिनै आखाले देखेका हुन्। त्यही व्यक्तिले बजारमा बनाएको चना , चट्पट् , छोले र मटर जति पनि निलिने तर घरमा बनाएको दाल खाँदा जात जाने रे!!? आखिर यो नाटक कहिले सम्म ??!

वैदिक हिन्दूधर्म कसैको बिर्ता वा पेवा होइन। यो कुनै जाति वा वर्ग विशेषले ठगेर खाने माध्यम पनि होइन। जातीय छुवाछुत प्रथा हिन्दू समाजमा लागेको ब्लड क्यान्सर हो जसले पुरै हिन्दू समाजलाई दिनानुदिन क्षय गर्दै छ। राम रावण युद्धको कारण पनि जातीय छुवाछुत थियो भने महाभारतको युद्ध पनि जातीय पक्षपातको कारण नै थियो। रावणले दानवराज माल्यवानकी छोरी विवाह गरेकैले उनका बाउ विश्रवाले जेठो छोरो कुबेर सँग गला जोडे र महाज्ञानी रावणले दाइ कुबेर लगायत सबै देवतालाई लाठी लगाउन बाध्य भए। जसको कारण स्वयं नारायण नै अवतरित भई आउनुपरो। श्रीकृष्णलाई वैश्य भन्दै क्षत्री राजाहरूले नहेपेका भए अनि महावीर/ महादानी कर्णलाई सुत पुत्र (तल्लो क्षेत्री) भनेर पाण्डवहरू र द्रोणाचार्यले नहेपेका भए सायद महाभारत महायुद्ध पनि हुने थिएन। मुसलमान र अँग्रेज सँग भारतमा हिन्दूले हार्नुको कारण पनि जातीय छुवाछुत नै थियो। तर नेपालमा भने बडामहाराजा पृथ्वीनारायण शाह देवले सेना भित्र जातीय छुवाछुत हटाई सबैमा खट्टे पानी चलाएकोले गोर्खाली सेना अजेय बनेको थियो।

नेपालमा कट्टर जाती प्रथा बनाएर जनता आपसमा लडाउने प्रपञ्च राणाहरूको हो राजाहरूको होइन। गोरखा दरबारको बैठकमा त सबै जाती जान्थे, भेदभाव थिएन। मगरका हातको टीका दैनिक गोर्खाली राजाले लगाउँथे। उनका गुरु नै मगर थिए। बिसे नगर्ची आदि आजका कथित अछुतहरू राजाका बैठकमा जान्थे र सँगै छलफल गर्थे अनि खाना खान्थे। काठमाण्डु विजय पछि नेवार्नी कन्या माता कुमारीलाई राजाले श्रीपेच फुकालेर ढोगे। यसरी शाह वंशले राष्ट्र जोड्न सक्यो भने अरू राजवंशहरू र राणाहरू नेपालका निम्ति घातक सावित भए। धन , बल सबैमा उच्च भएर पनि ६४ जातमा बाँडिएर फुटेकैले उपत्यकाका चार वटै राज्यले पराजय भोगेका थिए। गण्डकी प्रदेशमा बाहुन वर्गहरू (उपाद्दे, जैसी र कुमाई) बीच सहकार्य र सहसाधना हुनाले स्वराष्ट्रवाद र स्वधर्म रक्षण राम्रो भयो भने पश्चिम र पूर्वमा बाहुनहरू बीचमैं सहकार्य र सहसाधना नहुनाले हिन्दूत्व र नेपाली राष्ट्रवाद त्यति प्रवल हुन सकेन। बाहुन मात्र होइन गण्डकी प्रदेशमा सबै जातीमा पाइने स्वधार्मिकता देशको अन्यत्र कतै पनि पाईंदैन। सायद यही कारणले होला नेपाल राष्ट्रको एकीकरण र नेपाली भाषिक एकीकरणको श्रीगणेश यही क्षेत्रबाट भएको।

हुन त सबै नेपाली बाहुनहरू कान्यकुव्ज मूलकै भए पनि नेपालमा ३ पदका बाहुन रहेछन् – उपाध्याय, ज्योतिषी र कुमाई। पैसा लिएर पढाउने शिक्षकका सन्तान उपाद्दे बाहुन बनेका रछन्। ज्योतिषका अध्येता जैसी बाहुन बनेका रहेछन् र कुमाउँबाट पछि आएकाहरू कुमाई बाहुन बनेका रहेछन्। यो देशमा यी तीनै थरि बाहुनहरू मध्ये कहीं कसले त कहीं कसले धर्म थामेको अथवा दबाएर खाएको पाइयो। काठमाण्डु वरपर उच्च मानिने कुमाई बाहुनलाई पश्चिम र पूर्वमा त्यति वास्ता गरिंदैन। गण्डकी प्रश्रवण प्रदेशमा र मध्य पश्चिममा जैसी बाहुनहरूले उपाद्दे लगायत अरू बाहुनलाई नमानेका प्रमाण पनि भेटिए। उपाद्देको बोलवाला भएका ठाउँमा उनैले दबाएका छन्। ज्योतिष पढ्नेहरू “गणक: गणिका इव”अर्थात् (गणक) ज्योतिष र वेश्या एकै हुन् भनेर उपाद्देले हेपेको पाइन्छ भने एकादशाहको अन्न र प्रेतदान लिने हुनाले उपाद्देहरू प्रेत ब्राह्मण हुन् भनेर जैसीले पनि हेपेको पाइन्छ। कुमाईहरूले पनि आफ्नो बल पुग्दा अरूलाई भित्रै छिर्न दिन्नन्। मेरो विचारमा यो सबै बुर्बक पन र महामुर्खता हो। यसमा कुनै तात्विकता छैन। पाल्पाली राजा मणि मुकुन्द सेनले र पुरै पाल्पाली राजवंशले जैसी बाहुन पुज्थे। राज बिर्ता पनि उनैलाई दिएका थिए। गण्डकी प्रश्रवण क्षेत्रमा सबै जसो राज बिर्ताको उपभोग जैसी बाहुनहरूले नै गरेको पाइन्छ।

स्याङ्गजा, बाग्लुङ, गोर्खा, कार्की, सल्यान, पर्वत बझाङ र सिन्धु पाल्चोक , अर्घाखाँचीमा जैसी बाहुनलाई राज बिर्ता दिएर पुजेको पाइन्छ। पुरै श्रीकृष्ण गण्डकी प्रश्रवण क्षेत्रमा जैसी बाहुनहरूले नै कालीको सभ्यता धानेको पाइयो। अहिले पनि स्याङ्गजा आदि ठाउँमा साइतको बेलामा उपाद्दे देखे साइत सुधार्न आखामा पानी सम्म लगाउने चलन छ। हाँसो लाग्दो कुरा त के छ भने गुल्मी, पाल्पा लगायतका जिल्लामा केही त्यस्ता ठाउँ छन् जहाँ उपाद्देको भात चल्दैन र त्यहा उपाद्दे बसे फाप्दैन भनेर त्यहाँ जानै डराउँदा पनि रहेछन् (ठाउँ नबताउँ कि?) त्यस्तै अर्घाखाँची, प्यूठान, जुम्ला, रोल्पा, झापा , इलाम तिर उपाद्दे बाहुनहरूलाई गुठी दिएको र पूजा गरेको ईतिहास छ। काभ्रे, रसुवा, ओंखलढुङ्गा, पाँचथर आदि क्षेत्रमा पनि उपाद्दे बाहुनकै बर्चस्व रहेको पाइयो। त्यस्तै धादिङ, काभ्रे, पाल्पा अआदि ठाउँमा कुमाई बाहुन राजगुरू भएको पनि प्रमाण छ। गोर्खाली राजाले भने तीन थरि बाहुनहरूलाई नै राजगुठी दिएको र पूजा गर्ने गरेको भेटिन्छ। पशुपतिका पुजारी खास नेवार हुन्। पछि थोपरिएका भट्टहरू न उपाद्दे हुन्, न जैसी, न त कुमाई। यी दक्षिण भारतीय कृष्ण यजुर्वेदीय बाहुन हुन्। यसरी जहाँ जसले दबाए त्यहाँ उनैले लुटे खाए। यो चलन सँग सनातन धर्मको कुनै लिनु दिनु छैन। म ठूलो हुँ अरू सब नीच हुन् भनेर सामन्ती चेतना राख्नेहरू सब सत्य सनातनका सत्रु हुन् र यो राष्ट्र र समाजका धमीरा हुन्। चाहे जो होउन् बाहुनहरू ब्राह्मण होइनन् अर्थात् बाहुन हुँदैमा ब्राम्हण भइन्छ नै भन्ने छैन। ब्राह्मण बन्न ब्रह्मत्व चाहिन्छ। वर्तमानमा सनातन धर्म नष्ट प्राय हुनुमा यही बाहुने अभिमान नै खास कारण बन्न पुगेको छ।

जब बाहुनहरू बीचमैं यत्रो ताकाताक र मानामान छ, एकता छैन र यी आफैमा लड्छन् भने यति ठूलो हिन्दू जमातलाई नेतृत्व गर्न कसरी सक्लान्?? कदापि सक्दैनन्। उपाध्यायो वैतनिक अर्थात् पैसा लिएर पढाउने अध्यापक / शिक्षकलाई उपाध्याय (उपाद्दे) भनिन्छ। ज्यो‍तिष शास्त्रको अध्ययन अनुसन्धान गर्नेलाई ज्योतिषी (जैसी) भनिन्छ। यी दुवै वर्गहरू अलि पहिले आए र पूर्वीया बाहुन बने। अलि पछि कुमाउँबाट बसाइ सरेर आएका बाहुनहरू कुमाई बाहुन कहिए। यति सामान्य कुरा नबुझेर जहाँ जसको बोलवाला छ उहीँ उही बाहुनले अर्को बाहुनलाई कसरी तल पार्ने भनेर पैंठे जोरी खेल्ने चलन नेपालमा धेरै पुरानो हो। राणाहरूले यसलाई अझै मलजल गरे। जब बाहुनहरू आपसमा त त्यसो गर्छन् भने अरू कथित तल्ला जातहरूको अवस्था कति बेहाल होला। धन्न बाँचे यो समाजमा! कसरी जिउन सके होलान् विचरा !!

यो लेख त्यसै लेखेको होइन। धेरै जस्तो जिल्लाहरू घुमेर प्रत्यक्ष आफ्ना अआखाले देखेर लेखेको हो। अझ अर्को नजानी नहुने कुरा छ त्यो के भने यो देशमा पहाडका लगभग सबै प्राचीन कोट, मन्दिरहरूमा मगर, गुरुङ्ग, राई, ठकुरी, क्षत्री , कुमाल, माझी, शाहीले पूजा गर्दा रहेछन्। तराईका अधिकांश प्राचीन मन्दिरमा थारु पुजारी रहेछन्। हिमालका लगभग सबै जसो देवस्थल शेर्पाहरूले धानेका छन्। काठमाण्डुमा सबै जसो मन्दिरमा नेवार पुजारी छन्। स्वयं पशुपतिमा पनि वैदिक अर्चना बाहुनले गरे पनि तान्त्रिक अर्चना नेवारहरूले नै गर्दछन्। गोरखकाली, मनकामना आदि मन्दिरमा पनि मगर पुजारी छन्। दु: ख लाग्दो र अचम्मको कुरा यो छ कि देशका सबै जसो प्राचीन मन्दिरहरूमा अर्चक बनेर बसेका ती जातिहरूलाई नै वेद,धर्मशास्त्र पढाइदैन, गुरूकुलमा भर्ना गरिंदैन। अब कसरी सुरक्षित रहला परम्परा!! कम से कम उनीहरूले पनि पढ्न पाए पूजा त विधिले हुन्थ्यो नि ??! के यसरी जोगिन्छ त सनातन धर्म !!! यो जाती प्रथा र पानी बाराबारले समाजको एउटा सीमित वर्गले आफू ठूलो हुँ भन्ने अभिमान पाल्न पाएको छ, ठगेर वा बसेर खान पायो होला वा अरुलाई दमन गरे होला तर समग्र हिन्दूत्वको घाँटी रेटिएको छ। सिधै भन्नू पर्दा हिन्दू धर्म भित्र जात- पात मान्नेहरू सनातन हिन्दूत्वका परम शत्रु सिद्ध भएका छन्। तिब्बत बाट श्रीलंका र अफगानिस्तान बाट मालिद्वप्स सम्म अखण्ड राज्य भोगेका हिन्दूहरू आज गंगा र गण्डकीको बीचमा साँघुरिएका छन् किन ? भन्दा जातीयताको कारणले। अफगानिस्तान गयो, पाकिस्तान गयो, बंगाला देश गयो, भुटान, बर्मा, श्रीलंका, थाईल्याण्ड र सुमात्रा, जावा, पुरै मालाद्विपहरू आदि समुद्री देशहरू गए। कतै छलधर्मी र कतै विधर्मीले लुटे! कारण एउटै हो जातीय छुवाछुत!!

जसले सनातन हिन्दू धर्म नै मान्दैनन् ती अमेरिकी, बेलायती आदि पश्चिमीहरूले काँसी, वृन्दावन, हरिद्वारमा आएर छुन, सङ्गै खान र सनातन शास्त्र पढ्न पाएका छन् तर दुर्भाग्य हाम्रै हिन्दू भाइलाई ढोका पनि छुन दिइएन। यो क्रम चिनियाँ यात्री ह्वेन साङ्ग देखि म्याक्समूलर हुँदै आज सम्म पनि कायमै छ। पुरा रसियन, युरोपियन र अमेरिकी प्रायद्विपमा वेद र गीता पढ्छन् विदेशीहरूले यहाँ अहिले पनि कथित तल्लो वर्गका हिन्दूहरूलाई हिन्दूहरूले नै अर्कै ग्रहको प्राणी समान हेर्छन्। ऊ सँग यसरी तर्किन्छन् कि ऊ कुनै अर्कै जगतको अचम्मको प्राणी हो अथवा ऊ बम हो जति खेर सुकै ब्लास्ट हुन सक्छ!! वेदपक्कै पनि गाई र वेद प्रति श्रद्धा नगर्ने र राम नाम नै नजप्ने भन्दा त गाई र वेदलाई भक्ति गर्ने र राम नाम जप्ने शुद्ध होलान् नि!? कि होइनन् ?? हरेक व्यक्ति जन्मिदा नीच, अज्ञानी र मूढ हुन्छ पछि उच्च, साधु र ब्राह्मण बन्ने हो। सबैको जीवन प्रारम्भ विन्दू शुक्रकण र रजकणको मिलन नै हो। गर्भमा छँदा सबै साल, नाल र मल मुत्रमा डुबेकै हो। सबै दुर्गन्धित मुत्रद्वारबाटै बाहिर आएकै हो। सानो छँदा सबैले बिस्तारामा दिसा पिसाब गरेकै हो।

बोल्न , खान लगायत समस्त व्यवहार सम्पन्न गर्न सबैले जन्मेर सिकेकै हो। बूढो हुन, रोगी हुन र मर्न सबैलाई एक दिन अवश्य पर्छ नै! निद्रा, भोक, थकाइ, हर्ष, दुःख आदि सब‌लाई उस्तै हो। सबैको शरीरमा हाड, मासु, नसा, बोसो, वीर्य, मल मुत्र, लादी, गिदी नै हुन्छ। मान्छेको गर्भाधान देखि मरण उप्रान्त सबै प्रक्रिया समान छन्। त्यति मात्र हैन एक अर्को जाति फरक पारेर यौन सम्पर्क गर्दा गर्भ पनि रहन्छ। जात फरक भए गर्भ रहन्थ्यो त ?? अब भन्लान् सँस्कार नभएर हो, फोहरी भएर हो आदि आदि। के सबै कथित उच्च वर्गले सँस्कार जानेका छन् ? के सबै उच्च वर्गले माछा, मासु, मदिरा, जुवा-तास, परनारी/परपुरुष गमन बारेका छन्। ल हामी बाहुनहरू उसैमा सिधा पाती गर्ने पण्डितहरूमा नै हेरौं- माछा, मासु, अण्डा, लसुन, प्याज, मसुरो, भान्टो, सुपारी, रक्सी, जाँड मुखैमा नपरेका, जुवा र तास खेल्दै नखेलेका अनि आफ्नी पत्नी बाहेक परनारीमा ठट्टा वा झुक्किएर पनि आखै नगएका कति जना छन् होलान्?? सायद एक जना पनि छैन होला। अरूले छोएको खान्न रे — हैन चिउरा, भुजा, चाउचाउ, घिउ, तेल, मिनरल वाटर ( पानी) सबैले खाएकै देखिन्छ। अम्खोरामा राख्दा पानी नचल्ने अनि बोतलमा चल्ने हुन्छ र? घरमा खाना नचल्ने फेरि होटलमा बडा-बडा गास निलिने यस्तो कसरी हुन्छ ? त्यही कथित अछुतले सप्लाइ गरेको, सिलबन्दी गरेको पानी जार, बोतल, टंकी र पाइपमा छँदा चल्ने अनि भाँडामा राखे पछि नचल्ने घोषणा गर्ने पटमुर्खहरूलाई दिने नामै छैन, के भन्ने??

आफ्नो छोराले जनै फाल्दा, गायत्री नजप्दा, खाने नखाने खाँदा सहने, अरव र अमेरिका जान पाउँदा ताली बजाउने, आफ्नो छोरालाई चिकनचिल्ली र आफ्नो नातीलाई अण्डा आम्लेट नभइ नहुने वर्तमान अवस्थामा अर्कोलाई तँ अछुत भन्ने अधिकार हामी कथित बाहुनलाई कसरी छ ? हो, म कथित अति उच्च नेपाली बाहुन परिवारमा जन्मिएको हुँ। रुढीका आधारमा म भन्दा माथि कुनै अर्को जात छैन तर मेरो मन रुन्छ परधर्मी, विधर्मी , विदेशी भन्दा पनि आफ्नै हिन्दू भाइ हिन्दू द्वारा नै हेपिएको देखेर। त्यसैले मैले हिन्दू भित्रको जातीय विभेद त्यागें र हिन्दू एकता पछ्याएँ। म मेरो घर र चुलामा कुनै पनि हिन्दूलाई विभेद र हेला गर्दिन, के तपाईं पनि त्यो गर्न चाहनु हुन्छ ?? म ब्राह्मण हुँ र पण्डित हुँ अर्थात् हिन्दू सबैको धर्म गुरु हुँ अर्थात् ती कथित अछुत सनातनीहरूको पनि म पण्डित हुँ। अब मैले तिनीहरूलाई विभेद गर्न, हेला गर्न सुहाउँछ? कदापि सुहाउँदैन। आफू सबै हिन्दूहरूको गुरु भएर तँ ठूलो र तँ सानो भनेर पक्षपात गर्दा मलाई कुन पाप लाग्ला र कुन नर्क भोग्न पर्ला भनेर सायद कुनै पनि पण्डित, पुरेत र ब्राह्मणले सोंचेको छैन होला!! अब सोचौं। सिधा दक्षिणा जोगाउन भन्दा सत्य सनातन हिन्दू धर्म जोगाउन तिर लागौं,यसमैं सबैको भलो छ।

देशका लगभग सबै जसो गुरूकुल, सँस्कृत विद्यालय र सत्संगमा जान निषेध छ कथित तल्लो वर्गलाई। मन्दिरमा गए कुकुर भन्दा नीच हुनुपर्छ। एक पल्ट आफू दलित भएर सोंच्नुस् त,,,कति पीडा होला,,,पशु भन्दा तल्लो जीवन हाम्रै हिन्दू भाइहरू बाँचेका छन्। अरबी, अमेरिकी आदि विदेशी अझ विधर्मी वा परधर्मी भन्दा पनि रात दिन राम जप्ने आफ्नै भाइ पर्गेलिनु पक्कै दुःख लाग्दो कुरा हो। ल मानिलिउँ तपाईं विदेशमा मरणासन्न अवस्थामा हुनुहुन्छ। त्यहाँ सब विदेशी र विधर्मी छन् एउटा मात्र कथित अछुत हिन्दू छ,,,,ल भन्नोस् अन्तिम पानीको घुट्की कसका हातबाट पिएर प्राण छोड्न चाहनुहुन्छ ??? किनकि विदेशी र विधर्मीले पक्कै पनि हरे राम भन्दैन होला तर हाम्रो हिन्दू भाइले राम राम भन्दै पानी मुखमा राखि दिन्छ त्यस‌ले म चाहिँ विदेशी भन्दा मेरै हिन्दू भाइका हातको पानी पिएर प्राण छोड्दा वैकुण्ठ गइन्छ भन्ने कुरामा ढुक्क छु।

तर आज हामी कथित बाहुनहरूले आफ्नो कर्तव्य पूर्ण गर्न सकेका छैनौं। हामी हिन्दू वर्गका नेता भएर आफ्नो वर्गको सही नेतृत्व गर्न नसकेकोले पुरै हिन्दू समाज अनियन्त्रित र अशास्त्रीय बन्दै जाँदै छ। हामी त यो समाजका गुरु हौं अनि आफ्नो वर्गको हित चिताउने काम हाम्रै हो भन्ने लाग्छ मलाई। हामिले पढाएनौं, सिकाएनौं उनले जानेनन् र सिकेनन्। आज ९९% हिन्दूहरूले आफ्नो धर्मग्रन्थ छुन सम्म पाएका छैनन्। कारण दलितले पढ्न हुन्न,,नारीले पढ्न हुन्न भन्ने अफवाह मच्चाएरै हो। पढ्नै नदिए पछि कसरी जान्ने र व्यवहारमा उतार्ने ??? जात पात र भेदभाव दमनको पराकाष्ठा हो। पढ्न र सिक्न पाए त प्रगति गर्दा रहेछन् नि!! छेत्रीले पनि पढेर नरहरि नाथ बन्दा रहेछन्,राईले पनि पढ्न पाए डा. स्वामी प्रपन्नाचार्य बन्दा रहेछन् नि!!! पढ्न र जान्नै नदिएर युगौं दास बनाउने परम्परा गलत छ।हाम्रो हाडै चोखो भन्ने कथित बाहुनबाद बाट कथित बाहुनहरू सुध्रिनुपर्ला नत्र कश्मीरमा काश्मिरी पण्डितहरू लखेटिए झैं बाहुनहरू नै सब भन्दा पहिले लखेटिने छौं। वर्तमानमा ठूलो समस्या के छ भने आफूले नि जान्दैनन्, अरूले भनेको नि मान्दैनन्। हामीलाई धर्म कसरी बचाउने भन्ने चिन्ताको साटो पुर्ख्यौली सिधा पाती कसरी जोगाउने भन्ने मात्र चिन्ता छ। भए नभएका कुरा गाँसेर अरूको कुरै नसुन्ने पनले सब बिग्रिदै जाँदै छ। होटलमा गएर तीन थाल खाने फेरि गाउँमा चुलो बार्ने,,, भित्र जिन्स पाइन्ट लगाएर बाहिर सेतो धोती लपेट्ने….. रगत चल्ने, श्रम चल्ने, पाए आखा आदि अङ्ग पनि चल्ने फेरि पानी नचल्ने ,,,,,,,,हे राम !!! अचम्मको नाटकै छ भन्या !!! वास्तममा धर्मनिरपेक्षवादीहरू, साम्प्रदायिकहरू र विधर्मीहरूबाट भन्दा पनि खतरा छ यी अदनाहरूबाट सनातन हिन्दूत्वलाई। अनेक बहानाबाजी गरेर सब हिन्दूहरूलाई भेंडा बनाइरहेकाहरू बाटै सबभन्दा घाटा छ वर्तमानमा सत्य सनातनलाई। भागवतादि शास्त्रमा बकाइदा सबैले पढ , सुन भनेको देखेर पनि आफ्नै हिन्दू भाइ माथि यति अत्याचार गर्न सक्ने अत्याचारीहरू देखेर विरक्ति छुट्छ भन्या,,धत्तेरी !!!

सनातन शास्त्रमा मैले आज सम्म जातीय छुवाछुत विधान भेटाएको छैन। हो वर्ण व्यवस्था छ तर जातीय छुवाछुतको विधान पटक्कै छैन। वेद , उपनिषद, ब्राह्मण ग्रन्थ, आरण्यक ग्रन्थ, ब्रह्मशुत्र, पुराण, उपपुराणहरू आदिमा त छुवाछुतको लेस पनि पाईंदैन । देश भरि भागवत महायज्ञ लगाउने लहर छ।श्रीमद्भागवतकै समतामूलक जातीपाती विरोधी केही उदाहरणहरू म यहाँ प्रस्तुत गर्दछु:
श्रीमद्भागवतमाहात्यम् को अध्याय ६/६ मा बताएको छ-

“” दूरे हरिकथा:केचिद्दूरे चाच्युतकीर्तना:।
स्त्रिय:शूद्रादयो ये च तेषां बोधो यतो भवेत्।।
(धेरै मानिसहरू हरिकथा श्रवण र हरिकीर्तनबाट विमुख छन्। अझ नारीहरू र शूद्रहरू त अति विमुख हुन पुगेका छन्। त्यसैले अरू सबैलाई भागवत सुन्न बोलाउनु तर नारीहरू र शूद्रहरूलाई अवश्य बोलाउनु।)”” ल हेर्नोस् आज भन्दा ५००० वर्ष पहिला गरिएको उद्घोष हो यो। आज सम्म हामी सुध्रिन सकेनौं। यही कुप्रथा अन्त्य गर्न वुद्ध आए, महावीर आए, गुरु नानक देखि गोविन्द सिंह सम्म अाए बरू छुट्टै मार्ग प्रतिपादन भयो तर यो कुपरम्पराको जरो काटिएन।त्यसै गरि शूद्रले पनि यथाविधि भागवत सुन्नु भनेर भागवतको १२/१२/६४मा स्पष्ट निर्देशन गरिएको छ।देश भरि हजारौं भागवत यज्ञ हुन्छन् तर यी चाहिने कुरा भन्दा खालि पैसा बटुल्ने प्रयास हुन्छ, यी कुरा लुकाइन्छ।हिन्दूधर्मको हृदय मानिने हश्रीमद्भगवद्गीताको ४/१३ मा श्रीभगवान्ले मानिसको गुण र कर्मको आधारमा उसको वर्ण निश्चित हुने कुरा निर्देश गर्नु भएको छ तर यो ग्रन्थमा पनि जातीय छुवाछुतको लेस सम्म पनि पाईंदैन।

जो समदर्शी छ विभेद गर्दैन उहीँ हो पण्डितभनेर गीता (५/१८)मा नै भगवान्ले स्पष्ट भन्नुभएको छ।प्रत्येक पुराणमा सबैले पढ्नु भनेर निर्देशन गरेको छ।हरेक व्रत कथामा हरेक व्रतलाई चारै वर्णले गर्नु,कथा सुन्नु र पढ्नु भनेको छ।गरुडपुराणमा दशगात्रादि कर्म सवैले सविधि गर्नु नै भनेको छ।मुक्तिदायक महान् महीमान्वित विष्णुसहस्रनामस्तोत्रम् को श्लोक संङ्ख्या १२३ मा शूद्र वर्णलाई पनि अनिवार्य उक्त प्रार्थना नित्य पाठ गर्न भनिएको छ।श्रीमद्देवीभागवतमहापुरणको १२/१४/२४-२५ मा गुरूका मुखबाट अरूले जस्तै शूद्रले पनि देवीभागवत सुन्नु भनेको छ।धर्मशास्त्रको शूद्र शब्द अछुत वाचक होइन।सच्चा सेवक र सच्चा साधक भन्ने अर्थ हुन्छ खास यो शब्दको।पछि ठगाहाहरूले यो गलत अर्थ लगाई परम पवित्र महान् सत्य सनातनको मुखमा कालो पोत्ने कुकर्म गरेका हुन्।अब त स्पष्ट भए होला नि शूद्र शब्द अछुत शब्दको पर्याय होइन ब्राह्मण,क्षत्री ,वैश्य जस्तै एक वर्ण विशेषको नाम हो भन्ने कुरा!!

सरकारबाट प्रदत्त सत्ता,भत्ता र अारक्षणबाट जातीय छुवाछुत घट्दैन झन् बढ्छ। जातीय भेदभाव राजनीतिक र प्रशासनिक समस्या होइन यो हिन्दू धार्मिक समस्या भएकोले सनातन हिन्दूत्व भित्रै बाट यसको समाधान खोज्नु पर्दछ।नेता,मन्त्रीहरूले यो कुप्रवृत्ति हटाउन सक्दैनन्।यो कुप्रवृत्ति हटाउन हामी धर्मगुरूहरू( संस्कृतज्ञ,पण्डित,पुरेत आदि) हरू नै अघि सरी आफ्नो वर्गीय हितमा प्रवृत्त हुनुपर्छ भन्ने मलाई लाग्छ।यदि समयमैं यो सत्यता हृदयङ्गम नगरे हाम्रो अस्तित्व नै खतरामा पर्न सक्छ। जाती प्रथा हिन्दू समाज र हिन्दू धर्मको निम्ति ब्लड क्यान्सर हो जसले ३५०० वर्ष देखि निरन्तर वैदिक सनातन धर्म र समाजलाई आघात मात्रै पुराउँदै आएको छ।

आज सम्म हिन्दूहरूले १००० पल्ट भन्दा धेरै आघात र जनधनको क्षति सहनु परो,कारण हो जातिप्रथा।पछिल्लो हजार वर्षमा मात्र आज सम्म अनुमानित एक करोड भन्दा धेरै हिन्दू धर्मावलम्वीले ज्यान गुमाए, कारण हो जातिप्रथा। नालन्दा र तक्षशिला डढे, पुर्खाका महान् खोजहरू माटोमा मिले, कारण हो जातिप्रथा। आज प्रजातान्त्रिक युगमा समेत हिन्दूहरू अाफ्नै पितृ भूमि/मातृ भूमिमा सुरक्षित छैनन्,कारण हो जाति प्रथा।अरूले आए , आक्रमण गरे,धन- राज्य- नारी लुटे भनेर ईतिहास पढ्ने होइन हामी एकढिक्का नभएर यति भयो भनेर आत्मालोचना गरेको खोइ?? यो बुद्धि आउँछ कहिले??यो सब भएको जाति प्रथाको कुचक्रमा फसेर जम्मा हिन्दूहरूमा लगभग ९९% हिन्दूहरूले नै आफ्नो धर्मशास्त्र जान्न र स्वधर्म जान्न पाएनन् र आज यो हाल देख्न र भोग्नु परेको छ।

अन्त्यमा हिन्दूको जात, थर, पद सबै हिन्दू हो। उसको चिनारी भनुँ वा शान र पहिचान नै हिन्दू हो। पहिला हिन्दू हुन सिकौं र सकौं। अरू अनेक के के हुने हो पछि हौंला। कथित तल्लो वर्गले पनि सँस्कृत पढेर स्वधर्मज्ञ बन्ने प्रयासमा लाग्नुपर्छ।हरेक तह र वर्गमा पण्डित र धर्मज्ञ,सँस्कृतज्ञहरू उत्पादन गर्नु पर्छ।त्यसै समान भनेर चिच्याएर हुँदैन। पहिले त सँस्कृत पढेर सँस्कार जान्न परो। हिन्दू भित्रको छुवाछुत हटाउने मुख्य उपाय हो सबैलाई सँस्कृत पढाउने , सबैलाई धर्म सिकाउने। अर्थात् कथित तल्लो वर्गहरू योग्य हुँदै आफ्नो मौलिक साँस्कृतिक/ धार्मिक मूल धारमा आउने। जुन दिन हरेक हिन्दू जनले आफ्नो धर्ममा गर्व गर्लान् त्यो दिन पुरै विश्व हाम्रो हुने छ अर्थात् विश्वले हामीलाई जगद्गुरू स्वीकार्ने छ। अझै समय छ,,,स‍ोचौं र आआफ्नो ठाउँबाट प्रतिबद्ध बनी अघि बढौं। जातिप्रथा हिन्दू धर्म र हिन्दू समाजमा लागेको ब्लडक्यान्सर हो।

जसरी व्यक्तिलाई रक्तक्यान्सर लागे पुरै शरीरको रगत फेर्नु पर्ने अर्थात् पुरै शरीर सफा गर्नु पर्ने हुन्छ त्यसरी नै अब हिन्दू धर्म र हिन्दू समाजको पुनर्व्याख्या,पुनर्जागरण र पुनर्व्यवस्थापन द्वारा पूर्णरुपेण शुद्धीकरण गर्नु पर्ने भएको छ।यो काम हामी साधु,योगी,पण्डित, पुरेतादि हिन्दू सनातनी धर्मगुरूहरूको हो त्यसैले जात र जन्मको अभिमान त्यागेर लागौं सबै स्वधर्मको उन्नयनमा।यदि यो सफल भएमा पुरै विश्वको एउटा मात्र धर्म हुने छ – वैदिक सत्य सनातन हिन्दू धर्म र पुरै दक्षिण एशिया एउटै राष्ट्र हुने छ- अखण्ड भारत वर्ष (हिन्दू वर्ष), जसको एकीकरणको अगुवाइ नेपालबाट हुने छ र पूर्ण हुने छ त्यो गोरखनाथीय हिन्दू एकीकरण महाअभियान पनि जुन अभियान हिन्दूपति बडामहाराजा पृथ्वीले प्रारम्भ गरेका थिए र जुन लक्ष्य प्राप्तिको निम्ति महाराणा प्रताप,वीर छत्रपति शिवाजी, पृथ्वीराज चौहान, वन्दा वैरागी, गुरु गोविन्द सिंह लगायत हिन्दूवर्षका लाखौं अमरात्माहरूले आफ्नो जीवन र प्राण पनि अर्पण गरेका थिए।।

“आफ्नो थैलीको मुख बाधौं अरूलाई दोष नदिउँ।”
**जय भवानी आमा!!!
पं.भीमकान्त पन्थी “भागवती”/१८.१२.७५. BTL
मन परेमा अधिकाधिक शेयर गरी लेखकीय सदीक्षालाई सहयोग गरौं।