दुधे बालक छाडेर हिडेकी आमा संग छोराको २४ बर्ष पछि भेट (मार्मिक भिडियो )

Spread the love
  • प्रेम सुनार

बुटवल, चैत्र–२७ । मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर । २४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो । भिडियो हेर्नुहोस ।

दीपककी आमा २४ बर्ष अघि घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् । केहि दिन अघि जव उनी आफ्नी आमाको मृत्यु भएको सुनेर रुपन्देहीको मुर्गिया आईन । त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन्, सुनिन् । गुल्मीको चन्द्रकोट पनि गीतको शव्दमा जोडिएकोले याे गीत गाउने केटा कसको छाेरा होला ? भनेर आफ्नी दिदी संग चासो राखिन् ।

साेधखाेजकाे क्रममा गीत गाउने गायक चन्द्रकोट स्थित फलानाको छोरा हो भन्ने खुल्यो । परिचय खुलेपछि उनकी दिदीले बुटवलमा रोईला गीत गाउने दिपकको खोजी गरिन् र अन्ततः आमा छोराको भेट गराईन ।

भेटमा दुबै भावुक भए । दुबैका आँखा रसाए । आमा भन्दै थिईन, मेरो विवसता थियो छोरा… । दिपक भन्दै थिए, मैले त तपाईलाई बिर्सी सकेको थिएँ , मेरी आमा भने कै मेरी फुपु नै ठानेको थिएँ ।

हिजोको त्यो बेसहारा बालक अहिले स्थानीय गायक कलाकार बनेका छन् । वाल्यकालमै आमाको ममता गुमाएको पीडाले दीपक सानै देखि गीत गुनगुनाउन थालको थिए । आर्थिक अभावका कारण कलाकार बन्ने सपना पुरा गर्न दीपकका लागि धेरै टाढाको कुरा थियो । तर पनि आमाको सहारा दिने प्रयास गरिन् गुल्मी ईन्द्रगौडामा बस्ने उनकी फपु मनमाया परियारले उनले दिपकलाई हुर्काईन बढाइन्।

ईन्द्रेगौडाकै नेपाल राष्ट्रिय त्रिभुवन माध्यामिक विद्यालयमा पढाईन । त्यहाँ प्रवेशिका परिक्षा उतिर्ण गरेर बुटवल तर्फ लागेका दीपकले सांगितिक क्षेत्रमै संघर्ष गरेर शिद्धार्थ गौतम बुद्ध क्याम्पसमा स्नातक सम्मको अध्ययन पुरा गरे ।

२०७१ सालमा दिपकले ‘गुल्मेलीको मन’ नामक गीती एल्वम बजारमा ल्याए । क्रमशः हुग्दीशिरैले मालिका पञ्चैवाजा सहित दर्जनौं गीत बजारमा ल्याए । पछिल्लो समय उनले आफ्नो जन्मथलो गुल्मीलाई आमाको उपमा दिंदै रोइला भाकामा गीत निकाले त्यसै गीतले उनको आमासँग भेट गरायो ।

दिपक भन्छन्–‘ सिंगो गुल्मीलाई आमा सम्झेर गाएको यसै रोइला गीतले मेरी वास्तविक आमालाई २४ बर्ष पछि भेट गराएकोमा म हर्षविभोर छु ।’