फोहोर ब्यबस्थापनमा नेपालमै नयाँ प्रयोग कुश्माबाट

Spread the love

विस्व बातावरण दिवस विशेष

इ. रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु विस्व अभियान विस्व संयोजक  

               बाग्लुङको फोहोरको थुप्रो

करीब दैनिक १० टन फोहोर संकलन हुने पर्वत जिल्लाको कुश्मा नगरपालिकाको दैनिक निस्कने फोहोरले पोखरा-बाग्लुङ राजमार्ग दुर्गन्धित बनेको आरोप सहितका समाचारहरुले आरोपित र आलोचित कुश्मा नगरपालिका बाग्लुङ र म्याग्दीपछि फोहोर ब्यबस्थापन कार्यमा देखा परे तापनि नेपालमा नै पहिलो पटक प्रयोग गर्न लागिएको नयाँ प्रबिधि मार्फत बाग्लुङ, म्याग्दी र पर्बतकै अर्को नगरपालिका फलेवासको समेत फोहोर आफूले ब्यबस्थित गर्न सकिने सोंच सहित अगाडि बढिरहेको छ । पर्बतको सदरमुकामको फोहर व्यवस्थापनको जिम्मा भने बिगत करीब डेढ दशकदेखि स्थानीय सामूदायिक संस्थाले लिँदै आइरहेको थियो ।

             बाग्लुङको फोहोरको थुप्रो 2

जेठ १२ गतेका दिन बिहानदेखि बेलुकीसम्ममा पर्बत, बाग्लुङ र म्याग्दी तीन जिल्लाका फोहोरको अन्तिम बिसर्जनस्थल अबलोकन गरी अध्ययन गर्ने क्रममा सबैभन्दा भयाबह स्थिति बाग्लुङमा देखियो । बाग्लुङको अत्यन्तै प्रसिद्ध मन्दिर कालिका भगवती मन्दिरको ठीक तल बिगत एक दशकभन्दा बढी समयदेखि यो डम्पिङ साइट छ । भारत-चीन जोड्ने याने कि त्रिबेणी- दामोदर कुण्ड जोड्ने अत्यन्तै महत्वपूर्ण कालीगण्डकी करिडरबाट अत्यन्तै नजिक छ यो । कालिका भगवती मन्दिर परिसरको डिलबाट हेर्दा यो फोहोर सहजै देख्न सकिन्छ । यस्को कम्पाउण्डको टाढैदेखि दुर्गन्ध महसूस गर्न सकिन्छ । कालीगण्डकीलाई नै प्रदूषित बनाउने काम पनि गरिराखेको छ यस्ले । अव्यस्थित डम्पिङ साइटका कारण विशेष गरी बागलुङको दक्षिण क्षेत्र र डम्पिङ साइटका वरिपरी बस्नेहरु दुर्गन्धबाट आजित बनेका छन् ।

वि.स २०६० देखि बेनी बजारमा संकलन गरिने फोहोर बेनी – गलेश्वर सडकको कालीगण्डकी नदी किनारमा फाल्दै आएको थियो । दैनिक तिन

                म्याग्दीको फोहोरको थुप्रो

ट्याक्टरका दरले फोहोर संकलन हुने गरेको बेनीमा फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई मन्त्रालयले गत वर्ष नै साठी लाख रुपैया उपलब्ध गराए पनि ठाउँ पहिचान नहुँदा खर्च हुन नसकिरहेकोमा बेनीदेखि पाँच किलोमिटर उत्तर पश्चिमतर्फ अवस्थित बेनपा ३ मा पर्ने ओडारेमा फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको छ करिब डेढ दशकको प्रयासपछि । कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था भने हुन सकेको छैन । कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाई कवाडीमा बिक्री गरी आम्दानी गर्ने नगरपालिकाको योजना त छ, तर केही महिनादेखि फोहर संकलन र बर्गीकरण गर्ने गरिए तापनि फोहोर व्यवस्थापनतर्फ भने ध्यान गएको पाइएन । फोहोर कालीगण्डकी नदीको किनारैमा रहेकोले यस्ले सीधै नदीलाई प्रदूषित गर्ने मात्रै नभएर फोहोर व्यवस्थापन केन्द्रलाई समेत ब्यबस्थित गरिएन भने यस्ले समेत नदीलाई प्रदूषित बनाउन भूमिका खेल्न सक्ने देखिन्छ ।

                पर्बतको फोहोरको थुप्रो

पोखरा-बाग्लुङ राजमार्ग दुर्गन्धित बनाएको आरोप सहितका समाचारहरुको अलावा फोहोरका कारण आफ्नै मोदी खोलाको प्रदूषणको चिन्ता पनि थियो कुश्मासंग । बाग्लुङ र म्याग्दी जिल्लाको तुलनामा फोहोर व्यवस्थापनका दृष्टिकोणले पछाडि रहेको कुश्मा नगरपालिका समस्या समाधानमा ती दुई जिल्लाको तुलनामा ब्यबस्थित तवरबाट अगाडि बढिरहेको देखिन्छ । यो समस्या समाधानमा फोहोर जम्मा गर्ने र फाल्ने कामको सट्टा पुन: प्रयोग गर्नतर्फ लाग्नुपर्छ । कुहिने र नकुहिने फोहोर छुट्याउने बित्तिकै कवाडीको परिमाण बढ्छ । रिसाइकल गर्दा फोहोरबाट नसोचेको आर्थिक उपार्जन गर्न सकिन्छ । यसैले कुश्मामा फोहोर संकलन गर्ने क्रममा कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गर्दै त्यसो नगरिएमा रु ५०० सम्म जरिवाना हुन सक्ने जानकारी सहित माइकिङ गरेर जनचेतना जगाउने गरिन्छ । जस्का कारण यो उद्धेस्य प्राप्तीमा झन्डै ९०% सफलता हासिल गरेको बिस्वास गरिन्छ ।

खासमा कालो सिपाही झिंगा (Black Soldier Fly) फोहोर व्यवस्थापन प्रयोजनको लागि राम्रो हुने भए तापनि कुश्मा नगरपालिकामा भने निलो झिंगा प्रयोग गरिनेछ । यो झिंगाका ४०,००० लार्भालाई १ बर्ग मिटर क्षेत्रफलयुक्त बिशेष स्थानमा राखेर ६० केजी बायोवेस्ट (कुहिने) खाना दिएर १२ दिन राखिन्छ । सो ६० केजी कुहिने फोहोर सो अबधिमा ७५% घटेर २५% याने कि १५ केजी हुन पुग्छ र यस्बाट ४०% याने कि ६ केजी प्रोटिन र १०% याने कि १ केजी चिल्लो पदार्थ प्राप्त हुन्छ जुन माछा, कुखुरा र कालिजको लागि उत्तम खानाको रुपमा प्रयोग गर्न सकिन्छ । फोहोर ब्यबस्थापनको लागि प्रयोग गरिने यो प्रबिधि नेपालमा पहिलो हुनेछ । बाग्लुङ, म्याग्दी र फलेवासमा समेत आफ्नो सेवा बिस्तार गर्ने सोंच बनाएको कुश्माले यी ठाउँहरुको बिद्यमान जनसंख्या, यिनीहरुको जनसंख्या वृद्धि दरलाई ध्यानमा राखेर २५-३० बर्षलाई पर्याप्त हुने गरी डिजाइन गर्ने हो भने बिद्यमान जगालाई भने केही बिस्तार गर्नु पर्ने देखिन्छ ।

फोहोर भनेको फाल्ने नै हो भन्ने मानसिकताले ग्रस्त छौं हामी र यो मानसिकतामा परिवर्तन ल्याउनु अपरिहार्य भैसकेको छ । फोहोरको समुचित ब्यबस्थापन गर्न नसक्नु भनेको वाताबरणीय प्रदूषण र स्वास्थ्य समस्याको प्रश्नले मात्रै पिरोल्ने नभएर सरकार यस्का कारण फोहोर व्यवस्थापनको जिम्मेवारी बहन गर्ने पक्ष र सर्बसाधारण सबैलाई आर्थिक रुपमा घाटा पनि भैराखेको हुन्छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा पनि स्पष्ट रूपमा स्थानीय निकायले फोहोरमैला व्यवस्थापन गर्नुपर्ने कुरा उल्लेख छ । नगरपालिकाले फोहोर बाल्न र फाल्न प्रतिबन्ध लगाउने निर्णय गरिसकेको सन्दर्भमा फोहोरको समुचित ब्यबस्थापन मार्फत फोहोरबाट मोहोरको ब्यबस्था गर्न सकिन्छ । फोहोर मैला ब्यबस्थापन ऐन २०६८ बनिसकेकोले त्यस्कै अन्तरगतमा रहेर सम्बन्धित निकायले कार्यबिधि बनाइ कार्यान्वयन गर्दा प्रत्येक घर, ब्याबसायिक एबं सामाजिक संस्थाहरुमा जम्मा हुने फोहोरलाई सुब्यबस्थित गरेर प्रत्येक पक्षलाई आर्थिक लाभ हुने बातावरण तय गर्न सकिन्छ । अहिलेको जमानामा फोहोर ब्यबस्थापनको प्रश्न सभ्यताको प्रश्नसंग पनि जोडिएको छ । अत: फोहोरको समुचित ब्यबस्थापन मार्फत सर्बसाधारण, जिम्मेवारी बहन गर्ने पक्ष र सरकारलाई आर्थिक लाभ दिंदै पर्यायबरणीय र स्वास्थ्य समस्या न्यूनिकरण गरेर आफ्नो समाजलाई सभ्य समाजको रुपमा प्रमाणित गर्न सकिने भएकोले यो क्षेत्र सबैको उच्च प्राथमिकतामा पर्नु पर्ने क्षेत्र हो र हुनुपर्छ ।