सरू सुनार।
नेपाली समाजको सबैभन्दा हानिकारक कुप्रथा मध्ये एउटा प्रथा हो–बिधुवा प्रथा । अर्थात एकल महिला भनेर गरिने विभेद र त्यस्ता महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूमाथी गरिने सामाजिक अपराध ।
इतिहासलाई केल्याउँदा श्रीमान् मरेपछि जिउँदै चितामा जल्नु पर्ने डरलाग्दो सती प्रथालाई वि।स। १९७७ सालमा चन्द्र समशेरले अन्त्य त गरिदिए । तर नेपाली समाजमा त्यसका अवशेषहरू अझैं जीवित छन् ।
श्रीमान्को मृत्युपछि श्रीमतीले आफूले लगाएको रातो कपडा, सिन्दूर, चुरा, पोते सबै त्याग्नु । सेता पहिरनमा जीवन बिताउँनु । शाकाहारी हुनु । पुनर्विवाह नगर्नु यसैका उदाहरण हुन् ।
त्यसैले आजका दिनमा श्रीमान् गुमाउने महिलाहरूले उसको लाशसँगै जिउँदै जल्नु त पर्दैन, तर बाँचुञ्जेल स्वतन्त्रतापूर्वक र सम्मानि भएर बाँच्न पनि पाउँदिनन् ।
जीवनभर श्रीमान टोकुवाको आरोप सहन बाध्य हुन्छिन् ।
अहिलेका सबै विधुवा महिलाहरूले सेतै मात्र लगाउँदैनन् । तर अधिकांशले रातो अर्थात शौभाग्यको रङ्ग पनि त लगाउँदैनन् । कतिपयले सामान्यतयाः रातो कपडा, टीका, चुरा लगाउन त थाले । तर त्यस्ता महिलाको गाउँ समाजमा उछ्टिटो काटिन्छ ।
कुनै पुरुषैलाई प्रभावित गर्न यस्तो उत्ताउली भएकी भन्ने आरोप लगाइन्छ । अथवा सज्जनै भए पनि उसको चरित्रमाथि विश्वास गरिदैन ।
एकाबिहानै अथवा शुभ साइतमा कतै जान लाग्दा बिधुवा महिलालाई देखेपछि साइत पर्दैन, अलच्छिन लाग्छ भन्ने अन्धविश्वास यथायत छ । यसै निहुँमा कतिपय महिलाहरूमाथि हातपात, गाली बेइज्जत समेत भएका छन् । आफ्नै चिनजानका, परिवारका र गाउँलेबाट प्रताडित छन्, बिधुवा महिला ।
श्रीमान्को मृत्युपछि परिवारले अर्कैसँग पो जान्छे कि भन्ने डरले सम्पतीको अधिकार दिँदैनन् । स्वतन्त्रताको अधिकार हनन् गरिरहन्छन् ।
श्रीमान् मरेपछि फेरि अर्को विवाह गर्न पाउने, गर्ने या गरिदिने कुरालाई कथित धर्मसित जोडेर पाप हुन्छ भनिन्छ । तर यसैको उल्टो कुनै पनि पुरुषले एकल जीवन बिताउनु पर्छ भनेर समाज उकास्दैन ।
अर्थात उसले श्रीमती टोकुवाको आरोप सहनु पर्दैन । बरु ‘मर्दकी १० वटी’ भन्दै पुनर्विवाहका लागि तयारी हुन्छ । समाजले किरियामै छँदा उसका लागि नयाँ श्रीमतीको खोजी गर्छ ।
अहिले समाज विकासको क्रमसँगै धेरै परिवर्तन र सुधार नभएका होइनन् । यद्यपि हुनुपर्ने जस्तो समाज विकास हुन सकेको छैन । महिलाले महिला भएकै कारण प्रताडना सहनु पर्ने कुरा यथावत् छ ।
बिधुवा महिलाले पहिलाको जस्तो कपडा लगाउन, विवाह गर्न रोकतोक छैन । आफ्नो खुसीमा विवाह गर्ने गरेका पनि छन् । तर किशोरावस्थामै, युवावस्थामै एकल भएका महिलाहरूलाई दिन खाइसकेका पुरुषलाई जत्तिको पनि पुनर्विवाहको लागि उकासिन्न ।
समग्रमा हेर्दा अहिले पनि श्रीमान् नभएको एउटा विवाहित महिलालाई पुरुषले खुलेर समाजको अगाडि विवाह गर्ने या उसको हात माग्न जाने हिम्मतचाहिँ गरेका छैनन् ।
जतिसुकै आदर्शका कुरा गरे पनि, महिला समानताका भाषण गरे पनि घरमा आमा बुबाको रोजाइको बुहारी कन्या ९कसैसँग यौन सम्बन्ध नगरेकी० र पढेकी नै हुन्छ । अनि जीवन साथी रोज्ने रोजाइ पनि त्यस्तै हुन्छ ।
रोग लागेर, दुर्घटनामा परेर, विचार नमिलेर या अरु कुनै कारणबाट विवाहपछि कुनै महिला एकल हुन्छिन् भने किन ती महिला फेरि कुनै पुरुषको जीवन साथी बन्न पुरुषको रोजाइमा पर्न किन सक्दिनन् ?
बरु अहिले पनि एकल महिला भनेपछि बिचरा, कठै, ओहो कस्तो दुख !यस्तै यस्तै सब्दले सहानुभूति दिन्छन् मान्छेहरू ।
एकल भन्नाले विवाहपछि श्रीमान् मरेकोलाई मात्र होईन, उमेर पुगेर विवाह नगरी एक्लै जीवन बिताएका, श्रीमानसित सम्बन्ध बिच्छेद गरेका सबैलाई परिभाषित गरिन्छ ।
मैले १५ वर्ष एकल जीवन बिताइसकें । तर मलाई म एकल हुँ भन्न मन पर्दैन । र यो परिभाषा मनै पर्दैन ।
कहिलेकाहीँ मेरो बिगत बारे कसैलाई सुनाउदा ओहो यस्तो दुःख, यस्तो पीडा, कठै भन्छन् । तर हासो लाग्छ मलाई यस्तो सुनेर । अनि फेरि प्रश्न तेर्साउँछन्, ‘तपाई एकल नारी भएर कसरी यती धेरै काम गर्नु सक्नु भा’को ।’
अहिले पनि महिला या एकल महिलाले केहि गर्न सक्दैनन् भन्ने भ्रम र दरिद्र मानसिकताले झाङ्गिएको छ हाम्रो समाज ।
एकल महिला भनेपछि उसको विवशताको फाइदा उठाउने कोसिस धेरै हुँदोरहेछ । उसका आवश्यकता र कमजोरीका झ्यालहरू चिहाउने मानसिकताको भिँड पनि निकै बाक्लो रहेछ । अवसर र आवश्यकता पुरा गरिदिने बहानामा आफ्ना स्वार्थमा सम्झौता गराउन खोज्नेहरू पनि कम रहेनछन् ।
सबैभन्दा ठूलो कुरा मानसिकतालाई बदल्न जरुरी छ यहाँ ।
नारीवादका खोक्रा भाषण गर्नेले एकल नारीलाइ सम्मान दिएर उसलाई समाजको अगाडि हात समाएर अपनाउन हिम्मत गर्न सक्नु पर्छ ।
श्रीमान् कुनै कालगतीले मर्दा श्रीमान् टोकिस् भन्ने आरोप लगाउने मानसिकलाई जरैदेखि उखेल्नु पर्छ ।
एकल महिलालाई बोक्सी देख्ने आँखाहरूको पट्टी अब खोलिनु पर्छ ।
ती नारीसँग धेरै पीडा छ, जुन नारी आफ्नो सहारा गुमाएर, सहाराबिना नै बाँचेकी छिन् । उनलाई आफन्तको सरक्षणको जरुरी हुन्छ ।
समाजबाट सम्मान र राज्यबाट उचित व्यवस्थाको आवश्यकता छ ।
नारी होस् या पुरुष जन्मदा एक्लै जन्मने हो ।
जन्मको आधारमा म एक्लो हो ।
तर कर्म र सामाजिक संस्कारले, परम्पराले कुनै नारीको पहिरन, स्वतन्त्रता, अधिकार हनन् गर्न पाइदैन, मिल्दैन र हुँदैन ।
त्यसैले सबैभन्दा पहिले सोच बदलौं । परिवर्तनको सुरुआत आफैंबाट गरौँ ।
हामी जन्मिदा एक्लै जन्मेको हो, र कर्म पनि एक्लैले गर्नुपर्छ । आफ्नो आत्मविश्वास, लगनशीलता र मेहनतमा विश्वास राखौं । हामी कोहीभन्दा कमि छैनौं । मात्र यहाँ अवसरको खाँचो छ । हामीलाई हेर्ने विभेदकारी आँखाहरू तगारो नबन्दिने हुन् भने हामीले जे पनि गर्न सक्छौं । हामी कोही बिना पनि बाँच्न सक्ने बहादुर नारी हौं ।
मैले जीवनको डेढ दशक एक्लै बिताएँ । आजसम्म मैले आफूलाइ एकल कहिले सम्झिन । म कोही भन्दा कम छैन । श्रीमान् नभएका कारण मेरा कुनै पनि काम अधुरा छैनन् । मैले चाहेका सबै काम फत्ते गरिरहन्छु । अनि मलाई एकल हुँ भन्ने सोच्न र भन्न कि