पत्रकारहरुलाई लाञ्छित नगर्न पत्रकार महासंघ युकेको चेतावनी

Spread the love

लन्डन- नेपाल पत्रकार महासंघ बेलायतले युकेमा कार्यरत पत्रकारहरुप्रति विना कुनै आधार सामाजिक संजालमा अमर्यादित टिका टिप्पणी नगर्न चेतावनी दिएको छ।
महासंघको बेलायत शाखाका महासचिव संजयभक्त कंडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी भर्खरै सामाजिक सञ्जाल फेसबुकमा रामशरण सिंखडा, इन्द्र घोताने र रञ्जिता सेनका नाममा प्रकाशित व्यतिगत विचार , स्टाटस लगाएत अमर्यादित भाषा , टिका र टिप्पणीले हामीलाई दुःखी बनाएको जनाएका छन् ।
” सबै संघसंस्था र व्यक्तिसंग वार्ताको माध्यमबाट नै सम्पूर्ण असमझदारीहरू व्यवस्थित गर्ने माध्यम रहँदा रहँदै पनि अस्वस्थ र उत्तेजित ढङ्गबाट सञ्जालमा छताछुल्ल हुनु आफैमा दुर्भाग्यपूर्ण हो र अब उप्रान्त यसरी प्रस्तुत नहुन सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ, बेलायत सचेत गराउन चाहन्छ,” वक्तव्यमा भनिएको छ।

नेपाल पत्रकार महासंघ , बेलायत सबै विचार, समूह ,वर्ग, भाषा, धर्म, जाति र अन्यलाई सम्मान गर्दै समव्यवहारमा नेपाल र विश्वभरि नै स्वस्थ र जानकारीमूलक सूचना प्रवाह गर्ने स्वतन्त्र पत्रकारहरुको साझा संस्था हो र यसैमा विश्वास राख्दछ । तर पनि समय समयमा यस संस्थासंग आवद्ध पत्रकार मित्र र पदाधिकारीहरु माथि हुने विभेद, अन्यायपूर्ण र असामाजिक व्यवहारको नेपाल पत्रकार महासंघ बेलायत खेद प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ।
“चित्त नबुझेका कुरा र व्यवहारलाई आपसी समझदारी वा कानुनी तवरबाट समाधान गर्ने प्रशस्त मार्ग हुँदा हुँदै पनि सामाजिक सञ्जालमा तल्लो स्तरको भाषा प्रयोग गरी गाली गलौज र पेशा प्रति नै अमर्यादित व्यवहार गर्ने जो कोहीको पनि नेपाल पत्रकार महासंघ बेलायत निन्दा गर्दछ । पेशा र श्रमको अर्थ , मर्यादा र महत्वलाई आफ्नो खुशी र स्वार्थमा व्याख्या गरी सामाजिक सञ्जाल, सभा कतै पनि असभ्य , अराजक नबनी दिन नेपाल पत्रकार महासंघ बेलायत अनुरोध गर्दछ । पत्रकार र पत्रकारिताको सम्पूर्ण समस्या निराकरण गर्ने आधिकारीक र कानुनी संस्था रहेको सर्वविदित छ । यसका अलावा पनि पत्रकार साथीहरूको सुरक्षा, सम्मान र मर्यादालाई कायम राख्न नेपाल पत्रकार महासंघ बेलायत सक्षम र कटिवद्ध रहेको र आवस्यक परे जस्तो सुकै कठोर कदम चाल्न पनि पछि नहटने अवगत गराइन्छ,” वक्तव्यमा भनिएको छ।