ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल
आजको राशिफल बि.सं. २०७६ साल मंसिर २० गते शुक्रबार ई. सं. २०१९ डिसेम्बर ६, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष शुक्लपक्ष दशमी तिथी, उत्तरभाद्रपद नक्षत्र, चन्द्रमा मिन राशीमा गोचर गर्नेछन। सिद्धि योग, तैतिल करण। नेपालमा, सूर्योदय बिहान ०६ः४२ बजे, सूर्यास्त साँझ ०५ः०५ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि मिन हुन्छ। आजको पर्व तथा दिन– किर्तिपुरमा ईन्द्रायणी यात्रा, बच्चाको अन्नप्राशन पास्नी मुहूर्त, गृहारम्भ घरको जग राख्ने मुहूर्त, दोकान खोल्न शुभ मुहूर्त, र शिववास रुद्रिपुजा जुरेको दिन छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –अहिलेको समय तपाईंको पक्षमा छैन । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन। व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट समय अलि धमिलिएको महसुस हुनेछ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । सामाजिक र परोपकारका मार्गमा तल्लीन भइने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ । विद्यार्र्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । व्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन। तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।