कलाकारिता संगै समाजसेवामा दिनरात खटिरहेका धुर्मुसले एउटा मार्मिक स्टाटस राख्नु भएको छ सबैले पढ्नु होला सक्दो शेयर पनि गर्नु होला !
हामीलाई परिचय कलाकारिताले दिएको हो र हाम्रो जीविकोपार्जन पनि यही कलाकारिताले नै भएको छ । कलाकारिता हाम्रो धर्म हो हामी यसलाई चाहेर पनि भुल्न सक्दैनौँ त्यसैले यसलाई भुल्ने चाहना कहिल्यै राख्दैनौँ । जीवनमा जति नै सम्पती कमाए पनि अन्तिममा चाहिने आत्मसन्तुष्टि नै हो । आत्मसन्तुष्टिभन्दा ठुलो धन हामीले केहीलाई ठानेका छैनाँै । यस अर्थमा कलाकारिता र आत्मसन्तुष्टि हाम्रा दुईटा फोक्सा हुन् जुनबिना हामी सास फेर्न सक्दैनौँ ।
चलचित्र ‘सेन्टिभाइरस’ हाम्रो यही कलाकारिता धर्मको उपज हो । चलचित्र निर्माणमा ठुलो रकम लगानी हुन्छ । लगानी हुनुको उद्देश्य त्यसको आम्दानी राम्रो हुनुसँग गाँसिएको हुन्छ नै । फरक यति हो आफूले गरेको आम्दानीको उपयोग केमा गर्ने भन्ने हो ? हामीले देशको हित र हाम्रो आत्मसन्तुष्टिलाई केन्द्रमा राखेर यसको आम्दानीको आधा हिस्सा जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लगानी गर्ने निर्णय सार्वजनिक गरिसकेका छौँ । हामीलाई विश्वास छ देशको समृद्धिमा नागरिकको जीत हुन्छ ।
रङ्गशाला निर्माणका क्रममा निर्माणस्थलमा महायज्ञ सम्पन्न भइसकेको छ । अध्यात्मलाई मन पराउनुभएका लाखौँ मानिसको उपस्थिति र सहयोगले हाम्रो हौसला बढेको छ । उहाँहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । कलालाई मन पराउनु हुने लाखौँ मानिसको चलचित्र सेन्टिभाइरसप्रतिको मायालाई पनि उच्च सम्मान व्यक्त गर्दछौँ । तपाईँहरूकै न्यानो माया र सद्भावका कारण चलचित्र दोस्रो हप्तासम्म आइपुगेको छ। । रङ्गशालालाई सहयोग गर्ने मन भएका तर माध्यम नभएका जोकोहीका लागि पनि यो एउटा गतिलो माध्यम हो । तपाईँले घरनजिकैको हलमा गएर यो चलचित्र हेर्न अर्थात् मनोरञ्जनका निम्ति तिरेको रकमबाट रङ्गशालालाई सानो भए पनि सहयोग पुग्नेछ । त्यसैले हेर्न बाँकी रहनुभएका दर्शकले पनि आगामी दिनमा चलचित्र हेरी रङ्गशालालाई सहयोग पु¥याउनु हुनेछ भन्ने कुरामा हामी उतिकै विश्वस्त छौँ ।
हामीले निजी स्वार्थलाई तिलाञ्जली दिएर सामूहिक स्वार्थलाई अँगालेका हौँ । रङ्गशाला निर्माण गर्दा होस् या चलचित्र निर्माण गर्दा, हामीले सानी छोरीलाई यथोचित समय प्रदान गरेर जिम्मेवार अभिभावक बन्न सकेका छैनौँ । यउटी छोरीको समय चोरेरै भए पनि हजारौँ छोराछोरीको भविष्य अनि लाखौँ छोराछोरीको भावी खुसीलाई रोजेर राष्ट्र निर्माणमा सानो भए पनि योगदान गर्न खोजेका हौँ । हामीले आज एउटी छोरीको खुसी हेरेनौँ, लाखौँ छोराछोरीको भोलिको मुस्कान हे¥यौँ ।
यो चलचित्र निर्माणको उद्देश्य अरू चलचित्रसँगको प्रतिष्पर्धा होइन । केवल कलाको उच्च सम्मान गर्दै रङ्गशालालाई सहयोग पु¥याउनु हो । यो चलचित्रसँगै प्रदर्शनमा आएका अरू चलचित्रको पनि पूर्ण सफलताको कामना गर्दछौँ ।
चलचित्र हेरेर हामीलाई दिनुभएका सम्पूर्ण सुझावलाई आगामी मार्गदर्शनका रूपमा हामीले खुला हृदयले स्विकारेका छौँ । हामी दर्शकको मन दुखाउन हैन जित्न चाहन्छौँ । चलचित्र निर्माणको हाम्रो यात्रा निकै बाँकी छ । आगामी दिनमा अझ फरक शैली र स्वादका चलचित्र पस्कँदै जानेछौँ ।
विभिन्न व्यक्ति, संघ, संस्था आदिले चलचित्रका माध्यमबाट साथै अन्य माध्यमबाट गर्नुभएको सहयोगको उच्च सम्मान गर्दछौँ । तपाईँको सहयोग र विश्वासलाई कहिल्यै मर्न दिने छैनौँ । चलचित्रबाट संकलित रकमको हिसाब चलचित्र प्रदर्शनपश्चात सार्वजनिक गर्नेछौँ । हाम्रा काम या यात्रामा कतै कुनै कमीकमजोरी भए प्रष्टसँग औँल्याइदिनुहुन सबैमा अनुरोध गर्दछौँ । हाम्रा निम्ति दर्शक, शुभचिन्तक, प्रशंसक, आलोचक, सहयोगी सबै सबै ऐना हुनुहुन्छ । हामी तपाईँकै कुरामा हाम्रो प्रतिबिम्व पाउँछौँ । तपाईँको सानो सुझाव हाम्रा लागि मार्गदर्शन हुने कुरामा पूर्ण विश्वस्त छौँ । असल उद्देश्य राखेर थालेको र तपाईँ हामी सबै मिलेर अपनत्व महसुस गर्दै अघि बढेको काम चाँडै पूरा हुनेछ । देशको विकास होस् । सबैको राम्रो होस् । धन्यवाद ।