सकारात्मक सोच नै कोरोनाबाट बाँच्ने अचुक उपाय: डा. राई

Spread the love

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना भाइरसले मानिसहरुको मनस्थितिमा कस्ता असर पार्न सक्छ र त्यसबाट कसरी जोगिने भन्ने सन्दर्भमा गरिएको कुराकानी । यो सामग्री नेपाल पत्रकार महासंघ युके शाखाको कोरोनासम्बन्धी सचेतना अभियानअन्तर्गत तयार पारिएको हो । 

 कोरोना भाइरसका कारण अहिले विश्वमा महामारी फैलिएको छ । यस्ता महामारीले कस्तो मानसिक असर पार्ने गर्छ ?

विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० को दिन कोभिड१९ (COVID-19) को संक्रमणलाई महामारीको रूपमा घोषणा गर्यो । तत्पश्चात् मात्रै विश्वको ध्यान यस महामारीप्रति संवेदनशील हुन पुग्यो। कतिपय शक्तिशाली राष्ट्रले यस महामारीप्रति खासै संवेदनशीलता नअपनाएको हुनाले आज उनीहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । युकेमा ६ मार्चको दिन एकमात्र केस कोभिड१९ को कारणले मृत्यु भएको देखिएको थियो । २३ मार्चदेखि मात्र यहाँ लकडाउन आह्वान गरियो यद्यपि यो महामारी भित्रभित्रै कतिसम्म फैलिसकेको रैछ भन्ने ६ अप्रिलको डाटाले प्रष्ट पार्दछ । ६ मार्चको दिन एक व्यक्ति यस रोगले मरेका थिए भने ६ अप्रिलको दिन यो संख्या बढ़ेर ५ हजार ३७३ भएछ । यसै प्रकारले सोही दिनसम्ममा २ लाख ८ हजार ८०० व्यक्तिहरूको परीक्षण भएको र त्यसमध्ये ५१ हजार ६०८ व्यक्तिहरूमा संक्रमण पाईएको छ र यो संख्या विस्तारै बढ़दै जाने अनुमान गरिएको छ ।

समग्रमा भन्नुपर्दा यस कोभिड१९  ले वैश्विक महामारीको रूप ग्रहण गर्नुनै हामी सबैको माझ ठूलो समस्या र चुनौतिको रूपमा उभिनु हो । सबै ठूला साना निकायदेखि लिएर सामान्य जनतासम्म यसबाट अछुतो रहेका छैनन् र यस्तो अवस्थाले मानसिकरूपमा पनि उतिकै दवाब उत्पन्न गराउने नै भयो । यस प्रकारको विशेष तर विकराल अवस्थामा व्यक्तिले महसुस गर्ने मानसिक दवाबबाट दुश्चिंता बढाउने गर्दछ र पछि गएर अत्यधिक तनावको परिस्थिति सृजना गर्दछ । यदि यस प्रकारका तनाव बेलैमा व्यवस्थापन हुन सकेन भने यसले विभिन्न मनोसामाजिक समस्याहरू उत्पन्न गर्नमा सहायक भूमिका खेल्दछ जस्तै – इनसोम्निया, ऑब्सेसिव कम्पल्सिव न्युरोसिस, सिजोफ्रेनिया आदि ।

महामारीका कारण मानिसहरुको जीवनशैली अचानक फेरिएको छ । सरकारले घरबाट बाहिर ननिस्कनु भनेर आदेश दिएको छ । एकै ठाउँमा लामो समय बस्ता वा साथीभाइ, आफन्त भेट्न नपाउँदा कस्ता मानसिक समस्या आउन सक्छ ?

अहिलेको विशेष परिस्थितिलाई मध्येनजर गरेर सरकारले विभिन्न कडाखाले कदम चालेको छ जस्तै – लकडाउन । लकडाउन भनेकै सामाजिक घुलमिललाई तोडनु हो जसले गर्दा कोभिड१९ एकबाट अर्कोमा सर्न नपाओस् । अहिले यस महामारीको कुनै औषधि बनी नसकेको हुनाले यसबाट जोगिन सामाजिक दूरी बनाई रहनु र सामाजिक मेलमिलापमा बंदेज लगाउनुका साथै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने नै एक मात्र विकल्प रहेको छ ।

यद्यपि एक्कासी दैनिक जीवनमा यस प्रकारको नियमलाई कडाइका साथ पालना गर्दै जाँदा  एक प्रकारको अदृश्य जेलघरभित्र परेको महशुस हुनु स्वाभाविक हो । यस प्रकारको बन्दाबन्दीको प्रभाव हाम्रो मानसिक स्वास्थ्यमाथि पक्कै पर्दछ र हामीले यस विशेष समयलाई सही रूपमा बाँच्न सिकेनौं भने विभिन्न खाले मनोसामाजिक रोगको शिकार हुन पुगिन्छ ।

मानसिक समस्याका लक्षणहरु के के हुन सक्छन्?

यस प्रकारको महामारीले धेरथोर सबैमा एकप्रकारको तनाव उत्पन्न गराएकै हुन्छ, जस्तै कतै मलाई यस महामारीले त छोएन ? कतै मेरा आफ्ना आफन्तहरु यस रोगबाट पिडीत भए कि ?  अर्थात् यस महामारीबाट अकालमै मृत्युवरण गर्नु पर्ने हो कि भन्ने तनाव त छँदैछ त्यसमाथि कतै ननिस्की एकै ठाँऊमा लामो समयसम्म बस्नु पर्दाको अवस्था र अहिले विभिन्न सामाजिक संजालले छर्ने तथानामको भ्रम र गलत प्रचारले मानसिक संतुलन गुम्न धेरै बेर लाग्दैन । अत: आवश्यक के छ भने यस अवस्थालाई सामना गर्नको लागी मानसिक रूपले आफूलाई तैयार गर्नु अर्थात् सकारात्मकरूपले बलियो मानसिकता बनाएर हामी यस विशेष र विषम परिस्थितिसित लड़न सक्छौं ।

यद्यपि हामी आफैं अथवा आफन्तको व्यवहारलाई सूक्ष्म तवरले अध्ययन पनि गरिरहनु पर्दछ कि कतै –

. अनिद्राको शिकार भइ रहिएको छ कि?

. भोक मरेर गएको छ कि?

. बिनाकारण छाती दुख्छ वा स्वास प्रश्वासमा अपठ्यारो महशुस गरेको छ कि?

. बढ़ी एकान्तवास मन पराउन थालेको छ कि?

. मनोरंजन अथवा कुनै प्रकारको क्रियाकलापबाट वितृष्णा महशुस गर्दै छ कि?

. बिना कारण टाउको दुख्ने, पेट दुख्ने गरेको छ कि?

. आफुलाई अरूमाथि बोझ ठानेको छ कि? मर्छु भन्ने भावना मात्र व्यक्त गर्दछ कि?

. सानो सानो कुरामा पनि बढी नर्भस हुने गरेको छ कि? अरूको कुरा सुन्दा झर्को मान्ने गरेको छ कि?

. हातखुट्टामा अचानक पसिना आउने अथवा गल्ने गरेको छ कि?

व्यक्तिमा अथवा स्वयंमा पनि उपरोक्त लक्षणहरु देखियो भने मानसिक रोग नै भन्ने किटानका साथ भन्न नसकिए पनि त्यसको प्राथमिक लक्षणको रूपमा लिन सकिन्छ । तसर्थ यस्तो लक्षणहरूप्रति समयमै संवेदनशील हुनु अति आवश्यक हुन्छ ।

त्यस्तो समस्यालाई कम गर्ने उपायहरु के के हुन सक्छन् ?

यदि उपरोक्त लक्षणहरू व्यक्ति विशेष अथवा स्वयममा भएको महशुस भएमा यसबाट शीघ्रातिशीघ्र टाढ़ा हुन जरूरी छ ।

. सर्वप्रथम त मानसिक रूपले बलियो हुन जरूरी हुन्छ । यदि हामी मानसिकरूपले बलियो भयौं भने आधी जीत त सहजै हासिल गर्न सकिन्छ । यस महामारीसंग भागेर जान सक्ने कतै ठाउं नभएकोले हामी सकारात्मक रूपले मानसिक रूपले यस रोगसंग लड्न तैयार हुने र सरकारले तय गरेको निर्देशन र गाइडलाइनको पालना गर्न तैयार हुनु पर्दछ ।

. एकातिर महामारीको प्रकोप अर्कोतिर लकडाउनको अवस्थामा सक्दो आफूलाई सृजनात्मक क्रियाकलापतिर, मनोरंजनात्मक कार्यतिर व्यस्त राख्नु पर्दछ । यसले हामीलाई स्फूर्ति र मानसिक शान्ति प्रदान गर्दछ ।

. राम्रो राम्रो पुस्तकहरू, प्रेरणादायी जीवनीहरू, कथा कविता वा निबन्धहरु अध्ययन गर्ने गर्नु पर्छ । यसबाट समय पनि राम्ररी बित्ने छ साथै केही राम्रा खुराकहरू हाम्रो मस्तिष्कले प्राप्त गर्ने छ ।

. घर भित्रै यस्ता कामहरू जो हामी फुर्सदमा गर्ने भनेर थाति राख्छौं त्यो कामहरू पूरा गर्ने गरौं ताकि समयको राम्रो सदुपयोग हुन सकोस् ।

. संधैको व्यस्त दिनचर्याको कारणले आफ्नै परिवार भित्रपनि हामी साह्रै औपचारिक भई सकेका छौं । यस समयलाई एकआपसमा अनौपचारिक रूपले खुब स्वतंत्र भै एकआपसमा अझै नजिकिने मौकाको रूपमा लियौं भने मानसिक विकृतिले ठाँउ लिन पाउँदैन ।

. नकारात्मक विचार आउने कुनै पनि विचारलाई मनमस्तिष्कमा ठाउं नदिउँ । सामाजिक संजालमा पनि बढी नकारात्मकता पस्किने विषयलाई सकभर ध्यान नदिउँ ।

. आध्यात्मिकतातिर रूचि छ भने त्यतातिर ध्यान दिनुस, कोठाभित्र गर्न सकिने सानो सानो व्यायाम, योग आदि गर्न सकिन्छ ।

. आफ्नो आफन्तसंग फोनमै भएपनि बोल्न नछोडौं । उनीहरूसंग भौतिक दूरी भएतापनि मानसिक रूपले हामी एकअर्कासंग नजिक छौं भन्ने भाव स्थापित गराउनु आवश्यक छ । विशेषगरी बुढ़ापाकाहरूलाई यस विषम परिस्थितिबाट बाँच्नका लागी ठूलो हौसला र नैतिक बल प्रदान गर्ने कार्य गरी रहनु पर्दछ ।

. यस अवधिमा हाम्रो दिनचर्यामा अचानक परिवर्तन आएको हुनाले हाम्रो धेरै कुराहरू प्रभावित भैरहेको हुन्छ । अत: यसको प्रभाव निद्रामाथि पनि पर्दछ । कम्तिमा ८-१० घण्टा सम्म सुत्ने बानी गर्नु पर्दछ ।

. मादक पदार्थ र सूर्तिजन्य वस्तुको सेवनबाट जोगिनु पर्दछ । यसको सेवनले पनि मानिसलाई बढी विचलित बनाउन सक्छ ।

महामारीले मानिसहरुमा चिन्ता असाध्यै बढाएको देखिन्छ । जागिर गुम्ने हो कि, आफैँ वा आफ्ना घरका सदस्यहरु नै पर्ने हुन् कि भन्ने पीर बढाएको देखिन्छ । यस्तो  पीर कसरी कम गर्न सकिएला ?

महामारीले व्यक्तिलाई, समाजलाई र देशलाई नै चिंतित बनाएको छ, यो सही हो । व्यक्तिलाई आफ्नो जागिर गुम्ने चिंता, सामाजिक सदभाव र सामाजिक अनुबंधहरू खलबलिने चिंता, देशलाई आर्थिक र व्यापारिक स्तर खच्किने चिंता यो चिंता त सर्वव्यापी छ र कोही पनि यसबाट अछुतो छैन । तर यो पनि नबिर्सौं कि अत्यधिक चिंता गर्दैमा कुनै जादू त हुनेवाला छैन । अत्यधिक चिंता गर्दैमा यो महामारी त सजिलै सकिने त होइन ।

तसर्थ, सबै मिली यस महामारीको विरूद्धमा लड्न बाहेक अरू विकल्प हुँदैन । सबैले यस रोगसित लड्न पूर्व सावधानी अपनाउनै पर्छ । व्यक्तिगत सुरक्षाको सबै उपाय अपनाउनु पर्दछ । सरकारले जारी गरेको गाइडलाइनको पालना गर्नै पर्ने हुन्छ । यो अवस्था केही समयलाई मात्र हो भन्ने विचारका साथ आफ्नो आत्मबललाई अलिकति पनि कमजोर नबनाई अगाडि बढ़नु पर्दछ ।

सामाजिक सञ्जाल वा समाचारमा अतिरञ्जित र अफवाहहरु पाइन्छ । त्यस्ता सामग्रीले कस्तो समस्या ल्याउँछ र त्यसबाट कसरी जोगिने

सामाजिक संजाल र विविध संचारमाध्यमले सही र व्यावहारिक पक्षलाई दर्शाउंछ भने त्यो त अत्यन्तै सह्राहनीय कुरा हो । तर यदि ठिक यस्को विपरीत समाजमा भय, त्रास पैदा गर्ने र अतिरंजित कुराहरू पस्केर आफ्नो दर्शक संख्या (TRP) बढाउने गरिन्छ भने त्यस्ता खबरहरुलाई हतोत्साहित गर्नु पर्दछ । साथै सरकारी निकायले पनि त्यसप्रति कडा कदम चाल्नु पर्ने हुन्छ ।

युकेमा धेरै नेपालीहरु चिकित्सक, नर्स, केयररका रुपमा सीधै कोरोना संक्रमितसंग काम गरिरहेका छन् । उहाँहरुमा कस्तो मानसिक समस्या पर्न सक्छ र कसरी जोगिने ?

यो सही हो कि बेलायतवासी नेपालीहरुको कूल जनसंख्यामध्ये ठूलो संख्या कुनै न कुनै रूपमा स्वास्थ्य क्षेत्रसंग सम्बन्धित हुनु हुन्छ । डाक्टर, नर्स, स्वास्थ्य सहायक, रेडियोग्राफर, फ़ार्मेसिष्ट आदि प्रत्यक्षरूपले कोभिड१९ संक्रमितहरूसंग काम गरिरहनु भएको छ । यसप्रकारले युकेमा नेपाली समुदाय यस महामारीको उच्च जोखिममा रहेको अनुमान सहजै लगाउन सकिन्छ । यस अलावा भूपू सैनिकहरूमध्ये वृद्ध बाबा आमाहरूको पनि संख्यात्मक रूपले बढी बसोबास रहेको छ । वहाँहरू पनि यस महामारीको उच्च जोखिममा रहनु भएको छ ।

नेपाली समुदायले उच्च सतर्कता अपनाउनै पर्ने हुन्छ । एनएचएसको गाइडलाइन्स र सरकारले तोकेको निर्देशन कडाइका साथ पालन गर्नुपर्ने हुन्छ । सामाजिक दूरी बनाउनु पर्दछ, हातगोडा साबुनले मिची मिची धुनु पर्दछ, सेनिटाइजर प्रयोग गर्नु पर्दछ, मास्कको प्रयोग निरंतर गर्नु पर्दछ । खानपिन र व्यक्तिगत सरसफाईको पूर्णरुपले ख्याल गर्नुपर्दछ । वृद्ध बाबा आमाहरूमा भाषाको समस्या हुनेले संबधित सामाजिक अभियन्ताहरूले विशेष ध्यान पुर्याउनु पर्दछ ।

यस महामारीको लडाईंमा अग्रपंक्तिमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सरकारले पनि पूरा ध्यान दिनु पर्ने हुन्छ । उनीहरूको जोखिम न्यूनीकरणको लागी हरसंभव प्रयास गर्नु पर्ने हुन्छ । उनीहरूलाई सुरक्षितसाथ सेवा दिन सक्ने सबै प्रकारको उपकरणहरू जस्तै PPE, masks , gloves, sanitizers उपलब्ध गराउनु पर्दछ ।

हामी नेपालीहरुमा चिने जानेको मानिस भेटे पछि हालखबर सोध्ने, घरमा आउनोस्, चिया पियर जानोस् भन्ने चलन छ । अब के त्यस्तो चलन छाड्नु पर्ने हो

यस कोरोनाको प्रकोपले हामीलाई सामाजिक औपचारिकताप्रति अंकुश लगाएको छ । कोरोना श्रृंखलाबद्ध तवरले सजिलै फैलन्छ । अत: यसको श्रृंखलालाई तोड़नु नै यस महामारीबाट आफूलाई बचाउनु हो । अब केही महिना अथवा वर्षसम्मको लागी सामाजिकतालाई बिर्सनु नै अति उत्तम उपाय हुनेछ ।  हुन त यो हामी एशियाली त्यसमाथि नेपाली संस्कारभित्र कुनै अन्जान व्यक्तिलाई त एक कप चिया खुवाउने सहज परम्परा रहेकोमा अब त्यस्ता बानीलाई हामीले थाति राख्नुपर्ने हुन्छ । यो बुझ्न जरूरी छ कि हामी बाँच्यौं भने र कोरोनालाई हराउन सक्यौं भने मात्र हामी आफ्नो संस्कारलाई पुन: निरंतरता दिन सक्छौं । अत: आत्मबल उच्च राखौं, इमानदारिता अपनाऔं र आज्ञाकारी बनौं । यस महामारी सम्बन्धी सूचनाहरूप्रति अपडेट बनी रहौं र अरूलाई पनि सुसूचित गरौं । नकारात्मक सोचलाई हटाउँ र सकारात्मक सोचलाई प्रश्रय दिउँ । सरकारलाई सहयोग गरौं । आफ्नो तवरबाट पनि हुन सक्छ भने आवश्यकता भएकालाई सहयोग गर्न तत्पर रहौं । स्वस्थ रहौं, कोरोना अवश्य हार्ने छ ।