-डा. रवीन्द्र पाण्डे,
केहि क्षण अघिं आदरणीय मुकुन्द अधिकारी दाइले भन्नुभयो – ‘राति ११.३० बजे सयौं मान्छेहरु पोको र केटाकेटी बोकेर तिनकुने – कोटेश्वर हुँदै हिंडिरहेका थिए । त्यो अँध्यारो र चिसो रातमा सुत्केरी महिला बाटोमा बसेर २-३ महिनाका बच्चालाई दुध चुसाउन प्रयत्न गरिरहेका थिए । सुत्केरीले खान नपाएर होला, दुध नआएर शिशुहरु रोइरहेका थिए । त्यो दृश्य र चिच्याहटले मलाइ रातभर निद्रा लागेन । लौन ! सरकारलाई सबैले ध्यानाकर्षण गरौँ ।’
मैले पनि एक महिना पहिलेदेखि भनिरहेको थिएँ । उनीहरुको ब्यथा सुन्दा मेरो मन रोएको थियो ।
बिरामी भएर उपचारको लागि सिमित पैसा बोकेर काठमाडौ आएका मान्छे, बिरामीका कुरुवा, दैनिक ज्यालादारी गरेर आफ्नो तथा बालबच्चाको हातमुख जोडेका, बाटोमा ससाना ब्यापार गरेर जीविका चलाएका, फलफुल तरकारी बेच्ने, कोरोनाले गर्दा बेरोजगार भएका तथा ज्यान परिवार पाल्न नसक्ने बर्गलाई कि सरकारले पाल्नु पर्यो कि उनीहरुको गाउँमा पुर्याउनु पर्यो । त्यस्ता लाखौँ व्यक्ति भोकले मर्ने अवस्था छ, त्यो सरकारले बुझोस् ।
उनीहरुलाई गाउँ पुर्याएर क्वारेन्टाइनमा राख्न सकिन्छ | त्यसपछि आफ्नो खेत, बारी जे छ, खनखोरस गरेर प्राणलाई धान्ने थिए ।
के सरकार यतिविधि कृतघ्न र गैह्रजिम्मेवार हुन मिल्छ ? के सत्तामा पुगेपछि सबै जनता आफुजस्तै कालिज र बँदेल खान सक्छन भन्ने सोंच छ, सरकारको ? भोलि भोट माग्न ती जनतासंग फेस हुने नैतिक बल नेतासंग रहला ? बिदेशका सरकारले आफ्ना नागरिकलाई चार्टर गरेर धमाधम लागिरहेका छन् । के हाम्रो सरकारले ३ दिन बस चलाएर आफ्नो गाउँ पुर्याउन नसक्ने भयो ?
दैनिक हजारौं मान्छे मध्यरातमा ४-५ दिन लगातार पैदल हिंडेर गाउँतर्फ लागिरहेका छन् । उनीहरुले बाटोमा के खालान् ? कहाँ सुत्लान ?
यो महाबिपतमा काम नलाग्ने सरकार जनतालाई किन चाहियो ? उनीहरुको मन कति भाँचिएको छ होला ? राजनैतिक इगोको कारण निम्न बर्गका जनतालाई यस्तो सजायं दिनु पाप हैन र ? सरकार, भुइँमान्छेको आवाज सुनियोस् ।
मैले सरकारको बिरोध गरेको छैन, ती असहायको पक्षमा बोलिरहेको छु ।
(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)