काठमाडौं : बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको
पीसीआर विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबार साँझ नेपालगन्जका १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु सबैको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९ जनाका कोरोना पोजिटिभ देखिएको जानकारी गराएका थिए । यो सँगै नेपालगन्जमा एक्कै दिन १५ जनामा काेरोना पाेजिटिभ देखिएको छ । नयाँ संक्रमित थपिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । १६ जना भने निको भएका छन् ।