आज आफ्नै कविता।
शीर्षक:- कोरोनाको अन्त्येष्टी
छन्द:- शार्दूल विक्रीडित
लेखन/वाचन:- आफैँ
तेरा निम्ति हजार लाख कविता लेख्छौँ भनी निस्किए
हज्जारौं कवि निस्किएर मनको कापी समाती लिए
उड्छस् के अब प्वाँख काट्छ नरका फोक्सो समातिस् भने
भाग्छस् या कि त बस्दछस् सकसले भन् कोभिडे गन्गने ।१।
नेपाली जनको छ हिम्मत अहो! के आँट गर्छस् बरा
टेकिस् लौ अव टेक्न ता रहरले छाड्दे तुरुन्तै धरा
पस्नासाथ जहाँ मरे नरहरु हाम्रो त यो हुन्न हो
ए पापी यति बोलिदे सहजले बाचा भयो छुन्न भो।२।
थाहा यो छ कि अन्य देश अति नै छन् शक्तिशाली तर
नेपाली जति वीर खै हुन सक्यौ साँच्चै भयौ काँतर
तेरो हैकमवाद चल्छ कसरी नेपालभित्रै पसे
फोक्सोमा प्रतिघात व्यर्थ नरको आनन्द मान्दै बसे।३।
हाम्रो तागत थेग्न सक्दछु भनी हुंकार गर्दो तँ छस्
हेर्दैछौँ कहिले कहाँ र कसरी के हालले मर्दछस्
तेरो लाहुर पो कि सोचिरहिछस् नेपाल हो यो बुझिस्
आँखा चिम्म गरेर व्यर्थ कसरी के आँट बोकी कुदिस्।४।
तार्छौँ वैतरणी तँ छस् थकित झैँ गार्हो तँलाई भए
पाउन्नस् अब भन्न जे छ मनमा ईच्छा अधूरै रहे
बग्दै जा तँ त यी हजार कविताभित्रै कुदी जा बरु
बाँच्छस् के अब ब्रम्हनालतिर गै झट्टै सुती जा बरु।५
कस्तो के तँ अदृश्य पो हुँन गईस् भेटे भकुर्थेँ बुझिस्
तेरा हड्डी गनेर बस्न मन भो निस्की कहाँ छस् लुकिस्
जा जा जा अब झट्ट जा पर तँ जा थानीतिरै फर्कि जा
लिन्छस् स्वाद कि भन् सही मरणको दुष्कर्मको यो मजा।६।
मिति:-२०७७/१/०९