– डा. रवीन्द्र पाण्डे
अस्पताल तथा स्वास्थ्य संस्था यस्ता ठाउँ हुन् जहाँ बिरामीको उपचार हुन्छ अनि सरुवा रोग सर्ने पनि सम्भावना हुन्छ |
१. जनस्वास्थ्य प्रयोगशालामा आज कोरोना जांच गराउने झन्डै हजार जनाको भीड थियो | त्यहाँ सामाजिक दुरीको नियम पालना थिएन | अधिकांश व्यक्तिहरुले घांटीमा मास्क लगाएर पंक्तिमा गफ गरिरहेका थिए | त्यो भीडबाट कोरोना संक्रमण सर्ने ठूलो सम्भावना देखियो | इन्टरनेटबाट वा प्रयोगशालाको गेटमा टाइम कार्ड वा टाइम नम्बर दिने हो भने यो भीड नियन्त्रण हुन्छ |
२. सरकारी अस्पतालहरु, केहि निजि अस्पतालहरु तथा अन्य स्वास्थ्य संस्थामा ठूलो भीड देखिएको छ | बिरामी जांच गर्ने कोठा साना छन् | त्यहा हावा आवतजावत गर्ने ब्यबस्था छैन | सामाजिक दुरी कायम गर्ने मार्किंग गरिएको छैन | सबैलाई हतार भएको देखिन्छ | यसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम देखिन्छ |
अहिले बर्षातको मौसम छैन | अस्पतालको चौरमा टेन्ट राखेर बिरामी जाँच्ने ब्यबस्था गर्ने हो भने हावा, प्रकाश आदिको स्वत: उपलब्धता हुने भएकोले कोरोना भाइरस बन्द कोठामा जस्तो धेरै समय रहदैन | चौरमा सामाजिक दुरी कायम गर्न सजिलो हुन्छ | यस्तो बेला छत, बरण्डा वा अन्य खुला स्थान पनि प्रयोग गर्न सकिन्छ |
३. संक्रमित क्षेत्रबाट आएका बिरामीलाई पहिले टेकुमा PCR टेस्ट गरेर रिपोर्ट ल्याउने अनि अपरेसन गर्ने नियम बनाएको भए आज शिक्षण अस्पतालजस्तो जनसेवी अस्पतालको न्युरो युनिट शिल गर्नुपर्ने थिएन | दर्जनौं स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने थिएन | यस्ता घटना ८- १० वटा ठूला अस्पतालमा हुने हो भने आम नागरिक स्वास्थ्य सेवाबाट बंचित हुने अवस्था आउँछ | यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी छ |
४. ज्वरो क्लिनिक / फ्लू क्लिनिकको छुट्टै ब्यबस्था गरेजस्तै डेडिकेटेड दीर्घरोग अस्पतालको रुपमा केहि अस्पताललाई बिकास गर्नु जरुरी छ | जोखिम बर्गमा रहेका व्यक्तिहरुले निर्धक्क स्वास्थ्य सेवा लिने बातावरण राज्यले प्रबन्ध गर्नुपर्दछ |