डा. अम्बरिस पोख्रेल
१. राजदूत पदहरू बिक्रीमा राखिएका थिए र छन् । ती मानव तस्करी देखि लिएर थर्मल गन समेत तस्करी गरेको हामीले देखेकै छौं । अझै देख्ने नै छौ । त्यस्ता व्यापारीहरुले के सल्लाह दिन्छन् होला ? कस्तो कुटनीति चलाउँछन् होला नेपालको लागि ?
२. विश्व विद्यालयहरू यो कुरामा अब्बल दर्जाको रूपमा देखा पर्नु पर्ने हो। तर बौद्धिक चोरहरु राजनैतिक भागबन्डामा प्रोफेसर भइरहेका छन् नेपालमा। यसको अर्थ हो अध्ययन अनुसन्धान केही चाहिँदैन प्रोफेसर हुनको लागि। तिनीहरू नै विज्ञ को रूपमा काम गर्छन्। तिनीहरूको सल्लाह सुझाब वा कुटनीति कस्तो हुँदो होला ?
३. त्यसो भए, के भाडामा पनि परराष्ट्र विज्ञहरु पाइन्छन् होला त ? जसले नेपालको लागि सही नीति अबलम्बन गर्ने र गराउने कुरामा वर्षौं देखि नेपालको हितको लागि अध्ययन अनुसन्धान तथा नेपालको लागि लेखोस् पढोस् र गल्ती कमजोरीहरुको नैतिक जिम्मेवारी बोध गरोस ! खासमा भाडामा परराष्ट्रविद्हरु स्ट्याण्डबाई नेपालको हितमा काम गरिदिने पाइदैंन होला ।
४. यदि पाइने भए, नेपाल सरकारले इन्डियाबाट औपचारिक रूपमा जरूर भाडामा परराष्ट्र विज्ञहरु ल्याउने थियो होला। तर अनौपचारिक रुपमा तिनीहरूको सल्लाह अनुसार काम गरिरहेको छ होला जस्तो लाग्छ। यो कुरामा मलाई पुरा शंका छ । “उनीहरूले_ उनीहरूको लागि” नै “नेपाल सरकार” लाई कस्तो सल्लाह सुझाब वा कुटनीति पहल गर्न सिकाउँछन्, प्रस्ट छैन र ?
५. जे भएता पनि, नेपालमा राम्रा राम्रा वास्तविक थिंक ट्यांकहरु छन् । तर तिनीहरू नेपालका ठूला पार्टीहरुका वर्गीय समितिहरूमा छैनन् । पार्टी समितिमा नबसे पछि तिनीहरूको पहिचान पार्टीहरुले गर्दैनन् । त्यसो भए पछि, तिनै पार्टीहरुले निर्माण गरेको सरकारले उनीहरुलाई चिन्ने कुरा भयो त ? भएन । चिन्दैन । व्यवहारमा चिनेको देखिएको छैन । भनेपछि “नेपालको लागि नेपालीहरुले” दिने सल्लाह सुझाव तथा व्यावसायिकताको गंभीर खडेरी परेको छ । खडेरी पारिएको छ जानाजान।
६. दुई हजार छयालीस साल (२०४६) को चक्सी_ बारीमा (गणेशमानको घर) जब इन्डियनहरुलाई नेपाली कांग्रेस तथा बाम मोर्चाले औपचारिक रूपमा आमन्त्रण गरेर “नेपाल विरुद्ध धावा बोल्न” लगाए, त्यो भन्दा अगाडि “नाका बन्दी गर्न अनुरोध” गरिसकेका थिए र इन्डियाले नाकाबन्दी पनि लगाइसकेको थियो । ती दिनहरुबाट नैं नेपाल माथि औपचारिक रूपमा आक्रमणको निम्तो गरिएको हो । त्यसको परिणाम स्वरूप, छिमेकीले नेपालको भूमीमा अस्सी किलोमीटर (८० किमी) मोटर बाटोको उद्घाटन समेत गरेको छ ।
७. यसरी कम्तीमा पनि २०४६ साल पछि नेपालको आफ्नो परराष्ट्र नीति थिएन, छैन र आगामी दिनहरुमा अझै अनिश्चित छ। यो मामलामा नेका र नेकपा पार्टीहरू संग कुनै नैतिक आधारहरु छैनन्। निचोरिएर फ्याँकेका टालो हरु हुन ।
८. तर त्यो भन्दा अगाडि पञ्चशीलको आधारमा नेपालले असंलग्न परराष्ट्र नीति अंगीकार गरेको थियो र स्वाभिमानसँग शिर ठाडो पारेर नेपाल विश्व मञ्चमा आफ्नो उपस्थिति जनाउने गर्दथ्यो । के ती स्वाभिमानका दिनहरु फेरि आउलान् ? कसले ती दिनहरू फिर्ता गराउला ?