लण्डनबाट खण्डन। हलोवाला
बेलायतमा नेपालीको घरमा आगलागी भन्ने समाचारले आजको फेसबुक संजाल तात्तिएको देखियो। यसको साथै “बेलायतमा नेपालीहरुको घर आगलागीको उच्च जोखिममा छ” भन्ने नेपाली समाचार देख्दा झनै सबैलाई तर्साएको छ। यो पूरै आधुनिक सामाजको चासोको बिषय पनि हो।
यसरी बेलायतमा नेपालीहरुकै घरहरु उच्च जोखिममा पर्नुको कारण नेपालीहरुको नित्य (दिनहुँ) आफ्नो पूजा पाठकोलागि धूपबत्ती तथा मैन बत्तिहरु बाल्ने प्रचलनले नै हो। किनभने प्राय:जसो नेपालीहरु हिन्दू या बौद्दमार्गी पृष्ठ भूमिबाट आएका छन् र उनीहरु आफ्नो संस्कार अनुसार भगवानलाई खुशी पारेर पुण्य कमाउनकोलागि यस्तो खतरा मोलेरे भएपनि दैनिक पूजा पाठ गर्ने गरेको पाईएको छ।
तर आस्थाकै लागि गरिने यस्तो कर्मकाण्डी पूजापाठले आफू र आफ्नो परिबारको बिल्लीबाठ मात्रै हैन, वरपर छरछिमेक र पूरै समाजलाई नै उठिबास लगाउन सक्ने खतरा आईलागेको छ। साथसाथै यो सम्पूर्ण नेपाली समुदायकैलागि अरुको नजरमा “नेगेटिभ स्टेरियो टाईप” को हिसाबले घातकसिद्द हुन पनि सक्छ। त्यसकारण यो बेला बिशेष गरी नेपाली समुदायहरुले आफ्नो परम्परागत शैली र संस्कारमा समय र ठाउँ अनुसार सुधार गर्नुपर्ने देखिन्छ।
केही पहिला गरिएको एक अनुसन्धानले बेलायतमा आगलागी हुनमा परम्परागत चाईनिज ल्यान्टर्नहरु बढी जिम्मेवार पाईएकोले बेलायत सरकारले परम्परागत चाईनिज ल्यान्टर्न प्रयोग कर्ताहरुलाई दोषी ठहर्याउँदै त्यसको उपभोगमा प्रतिबन्ध लगाएको थियो। तर अब नेपालीहरुको परम्परागत शैली र संस्कृतिमा पनि बेलायत सरकारको ध्यान नजाला भन्न सकिन्न।
हिंजो मात्रै बेलायतको फार्नबरोमा भएको नेपालीको घरमा भएको आगलागी काण्ड पनि बिधिबत पूजा गर्ने क्रममा बालिएको दियो बत्ति तथा धूप बत्तिबाट भएको जनाईएको छ। यसरी जथाभाबी दियो/मैन/धूप बत्ति बालेर पूजापाठ गर्नु आगलागीको हिसाबले एकदमै जोखिमपूर्ण हुने भएकोले पूजाआजा गर्दा मन्दिर या देबलको तोकिएको स्थानमा नै गएर गर्नु राम्रो र सुरक्षित हुन्छ। आफ्नो घरभित्र त मनभित्रको देवतालाई जतिबेला पनि सम्झिए मात्रै पुग्छ, यत्रो जोखिम मोलेर बत्ति बाली राख्नु नपर्ला।
त्यतिमात्रै हैन। अतिसार परम्पराको नाउँमा नेपालीहरुको जथाभाबी सुनको गहना लगाउने बानीले पनि बेलायतमा आजभोली नेपाली समुदायमा नै बढी चोरहरुले निशाना लगाउँदै चोरी डकैतिको अपराध बढी रहेको छ। नेपालीहरुले लगाउने परम्परागत गरगहनाकै कारणले नेपाली समुदाय आफैं पिडित भईरहेको छ।
अब यस्तो आगलागीबाट जोगिनकोलागि के गर्ने त?
अहिले जमाना फेरिएको छ। जमाना अनुसार चले पुगी हाल्छ। अहिलेको जमानामा धन दौलत, मुद्रा, द्रब्य आदि संपूर्ण कुराहरु जम्मै विद्युतीय रुपले डिजिटलाईज्ड भैसक्यो। श्री सम्पति जम्मैतिर विद्युतीय कारोबार हुन थालिसक्यो। त्यस्तै संस्कृतिमा पनि जन्मोत्सव देखि, बिबाह, मृत्यू संस्कारमा परिबर्तन आईसक्यो। फेशबुकबाटै केटाले केटी र केटीले केटा खोज्ने माया प्रिती गाँस्ने चलन जम्मै सामाजिक संजाल जस्तै फेस बुकबाट आई नै सक्यो।
यसरी नै आफ्नो र आफ्ना नातेदार, साथीभाई तथा तिनलाई खुशी पार्नकैलागि पनि तिनका साथीभाई दुक्की-तिर्कीहरु, आफ्ना मनपरेका नेतागणको चाकडीमा अनि तिनले पालेका कुकुर, बिराला, सुगा, तिनका नोकर चाकर तथा हाली गोठाला झोला बोक्ने भरिया र अगुवा पछुवा आदि जम्मैको ह्याप्पी बर्थ-डे फेशबुकबाटै हुन थालेकै छ।
त्यस्तै बैबाहिक जीबनमा आन्तरिक सम्बन्ध जे जस्तो भएपनि देखाउनक लागि भएपनि बिबाह वर्षगाँठ (म्यारिजस्यारिज एनिभर्सरी) का शुभकामनाहरु टाढाबाट त्यतिकै फेसबुकबाटै दिए भईहाल्यो। त्यति मात्रै हैन म्यारिज पूर्बका मायाप्रीति र चुम्बन आलिंगन, आत्मरति (मनमनै गरिने मन-मैथुन) र मैथुन पूर्वका यौन क्रिडाहरु (फोरप्लेआदि) जम्मै अन्लाईन प्लेटफार्मबाटै दनादन विद्युतीय कारोबार मार्फत हुन थालिसक्यो।
त्यति मात्रै हैन मृत्यु संस्कारमा हार्दिक श्रद्दाञ्जली देखि दिबंगत पितृका फेसबुके श्राद्दे जस्तै आमाबाबुको मुख हेर्ने औंशी देखि सोह्र श्राद्देआदि जम्मै फेशबुक बाटै हुन थालिसक्यो। यसमा म आफैंले पनि भर्खरै बित्नु भएको आफ्नो स्वर्गीय पिताजीको दाह संस्कार तथा अन्तिम श्रद्दाञ्जलि जुटाउनकैलागि विश्वभरबाट फेशबुकबाटै मलामी जुटाउने प्रयास गरें। करीब ५०० जनाको हाराहारीमा अन्लाईन मलामीका लाईन (ताँती) देखि नै हालियो।
महामारीको बेला कोरोनाको डरले सदाझैं वरीपरीका गाउँलेहरु हिच्किचाएको हुनाले त्यसको बिकल्पमा पनि मैले बाबाको अन्तिम श्रद्दाञ्जलीकोलागि फेसबुक मार्फत अनलाइन मलामीको आब्हान गर्नु परेको कुरा बुबा बितेर गए पनि अविष्मरणीय बन्यो। तत् पश्चात् को दशदिने कर्मकाण्ड स्वरुप दैनिक पुष्पाञ्जली अनि तेह्रौं दिनको श्राद्दे समेत बाध्यताले फेशबुकबाटै अर्पण गरें, यो पनि पितृ वियोगमा मन भुलाएर आत्मा सन्तुष्टी लिने उत्तरआधुनिक उपाए नै साबित भयो।
सरकारले १५ जना भन्दा बढी मानिसहरुलाई एकै ठाउँमा जम्मा भएर सागर जान नदिंदा यस्तो बाध्य बनायो भने र केही मानिसहरु भने आफैं कोरोनाको डरले मलामी जान हिच्किचाए। तर पनि धन्य हो प्रबिधि, बिश्वब्यापी लक् डाउनको समयमा पनि घरपरिवार र विश्वसंग नै जोडिएर स्वर्गीय पिताश्रीको फेसबुके श्रादे समेत आरामले गरें। बाध्यता नै भएपनि आखिर आरामले चल्दो नै रहेछ त!
मेरो यो लेखाईको तात्पर्य यो होइन कि हामीहरुले आफ्नो धर्मकर्म पूरै छोड्नु पर्छ भन्ने। सिर्फ जमाना र प्रबिधी अनुसार चल्न सक्नु पर्यो भन्ने मात्रै मेरो अनुरोध हो। हामी सम्पूर्ण नेपालीहरु जो जहाँ भएपनि अब पहिले जस्तो परम्परागत पूजा पाठ गरेर हुँदैन र अबको जमानामा यस्तो चल्दैन पनि। धूप बत्ति बाल्दैमा ईश्वर खुशी हुने होइनन्।
ईश्वर यदि चराचर जगतमा ब्याप्त छन् भने आफ्नो मनमा पनि ईश्वर नै हुन्छन् र मनलाई ईश्वरमाया बनाउनु पर्दछ। सिर्फ दुई हात जोडेर, आँखा चिम्लिएर पनि आफ्नो ईश्वरलाई जताबाट पनि पुकार्न सकिन्छ। अरुलाई देखाउनै परे पनि क्यामेरा र फेसबुक या सामाजिक संजालको भित्तोहरु छंदैछन्।
मेरो बिचारमा उहिले उहिले अरुलाई देखाउन र सुनाउनकैलागि पनि डमरु बजाईन्थ्यो, धुमधामसंगले धूप-द्वीप, अबीर-अक्षता गर्दै; मन्दिर भित्रको मूर्ति छेउमा फूलपाती र नैबेद्यादि चढाउने गरिन्थ्यो होला। पछिपछि पैसाको आविष्कार र प्रचलन भए पछि पैसो चढाउँन पनि थालियो होला। नत्र मठ मन्दिरहरुमा पहिले पहिले खाली हात नै गईन्थ्यो होला। पहिले बिस्तारै फूलपाती, त्यसपछी जमाना अनुसार पैसो र भेटी चढाउँन थालियो होला।
पैसो चढाउने नै कुरो गर्दा शुरु शुरुमा ढुंगाको ढ्याक त्यसपछि अनेक धातुको पैसा हुँदै जमाना अनुसार कागज र प्लास्टिकको पैसो चढाउन थालिएको कुरा शृंखलाबद्द किसिमले मन्दिरमा चढाईएकै कुराहरुको अध्यायनबाट नै प्रष्टै थाहा हुन्छ। हाम्रै पालामा तामाका ढ्याक गाई त्रिशुल भएको सिलाबरको पैसाबाट प्लास्टिकको पोलिमर नोटहरु मठमन्दिरहरुमा चढाईएको पाईयो।
यदि धातुको या प्लास्टिक अनि पोलिमरको पैसो देवताको मन्दिरमा चड्छ र चढाईन्छ, भने प्लास्टिकको फूल देवतालाई किन नचढ्ने? त्यस्तै मूर्तिको स्थानमा, थाङ्का आदि पेंटिंग आदि आदि तस्बीर रुपका भगवानहरु देखिन थाले। हुँदा हुँदा मूर्तिको पनि खिचिएका तस्बीरहरु फेसबुकहरुमा भगवानको प्रतिनिधित्व गर्न थालिसके। यो मानेमा मूर्तिलाई अब तस्बीर या फोटोले प्रतिष्थापन गरिसक्यो।
यो जम्मै मानिसहरुको दिमाग या मनले स्वीकार गरेर नै सम्भब भएको हो जसरी पैसालाई आजभोली डिजिटलको रुपमा मान्न सकिन्छ भने मेटल या कागजी पैसाको सट्टा डिजिटल मनि चढाउन किन नहुने? लिभरपुलको ठूलो एङ्ग्लिकन क्याथेड्रलले कन्ट्याकलेस प्रबिधिबाट डिजिटल पैसा लिन्छ। भगवानलाई डिजिटल पैसा चढाए जस्तै र डिजिटलाईज्ड गरिएको भगवान तस्बीरहरुलाई भगवान मान्ने हो भने समस्या नै सकियो। अब भगवान क्लाउडमा नै ब्याप्त छन्।
आखिर शक्ति र भगवानको कुरा गर्दा हिन्दु शास्त्रले पनि सूर्य, वायू, पानी, बिजुली, जमीन आदिलाई देवतै मानेको नै त छ नि?
अब विद्युतीय तरंगको भरमा क्लाउडमा स्टोर भएको भगवानको प्रतिनिधी ईश्वर्हरुका तस्बीरहरुलाई दिमाग या भित्री मनले मान्ने कुरा न हो, मानिदिए भै गयो।
त्यसकारण अब भगबानलाई पनि आफ्नै मनमनले माने पुग्छ। आखिर कसैले गएर आफैले भगवानको फोटो खिचेर त ल्याएको त हैन क्यारे! बाल्ने परे विद्युतीय दियो बालिदिए पुग्यो।
यस्तो विद्युतीकरणको जमानामा झन् अब आफ्नै कल्पनाको नगरीको भगवानलाई मनको विद्युतीय तरङ्ग मार्फत मनमनै पूजा गरेर मनकै दियो प्रज्वलन गरे मात्रै पुग्नु पर्ने हो। न कि अरुलाई देखाउनकोलागि बसिरहेको घरहरुलाई नै खरानी पारीपारी दुनियाँ भरको स्वाङ्ग देखाई देखाईकन आगोको दियो बाली रहनु पर्यो, अब परेन।
तसर्थ अब जमाना अनुसार सम्पूर्ण कुराहरु डिजिटालाईज्ड भईरहेको सन्दर्भमा हाम्रो पूजापाठलाई पनि जमाना अनुसार डिजिटलाइज्ड गर्ने हो कि?
~ उही हलोवाला, लिभरपुल।