कोरोना कहर : तेस्रो मृत्युले सिकाएको पाठ -डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ

Spread the love

गुल्मी, पुर्कोटदह अर्थात मदाने गाउँपालिकाका ४१ बर्षिय शिक्षक | केहि दिनअघिं उहाँलाई ज्वरो आएकोले स्थानीय औषधि पसलबाट ज्वरोको औषधि खानुभयो | त्यसले निको नभएपछि मदाने पोलोक्लिनिकमा जांच गराएर २ दिन टाइफाइड ज्वरोको औषधि खानुभयो | २ दिनपछि बान्ता भएकोले फलोअपको लागि सोहि पोलोक्लिनिकमा जानुभयो | जन्डिस भएको, किड्नी खराब भएको भनेर उहाँलाई अर्घाखाँची रिफर गरियो | अर्घाखाँचीको छायाँ पोलिक्लिनिकले उहाँलाई टाइफाइड बिग्रेको, किड्नीको समस्या भएको भनेर क्रिम्सन अस्पताल रिफर गर्यो |

क्रिम्सन अस्पतालले प्रारम्भिक जाँचमा मेनिन्जाइटिस भएको तथा मुटुमा केहि समस्या भएको अनुमान गर्यो | मेनिन्जाइटिसको निदान गर्नको लागि ढाडबाट पानी ( CSF ) निकालेपछि उहाँ बेहोस हुनुभयो | उहांको अवस्था गम्भीर भएकोले आइसीयुमा राखियो | त्यसपछि भेन्टिलेटरमा राखियो | अर्को दिन अर्थात् जेठ १ गते बिरामी पक्षको आग्रहमा कोरोना संक्रमणको टेस्ट गरियो | ५ गते रिपोर्ट पोजिटिभ देखियो | भेन्टिलेटरमै रहेको अवस्थामा उहाँको आज निधन भयो |

पहिलो र दोस्रो मृत्यु टार्न सकिने प्रकृतिका थिए | समयमै परिक्षण गरिएका थिएनन् | तेस्रो केसमा परिवारले सकेसम्म उपाय गरेको हो | परिक्षण पनि भएको हो | भेन्टिलेटरको सुबिधा पनि प्राप्त भएको हो | सुरुमै काठमान्डौ ल्याएको भए अवस्था फरक हुनपनि सक्थ्यो, नहुन पनि सक्थ्यो | उहाँमा कोरोना संक्रमणको थ्योरोटिकल लक्षण र कम्लिकेसन देखिएका थिए | पटक पटक जन्डिस भएको हुँदा उहाँको कलेजो, पित्तथैली वा पित्तनलीको कुनै दीर्घरोग हुन सक्छ | अस्पतालले सुरुमा शंका गरेको मुटुको रोग हुन् सक्छ | निमोनियाको हिस्ट्री पनि देखिन्छ | यसबाट थाहा हुन्छ कि उहाँ जोखिम बर्गमा हुनुहुन्थ्यो |

यसबाट हामी चिकित्सक, स्वास्थ्यकर्मी र हाम्रा अस्पताललाई के कुरा सिकाएको छ भने कोरोना संक्रमित व्यक्तिको CBC अर्थात कम्प्लिट ब्लड काउन्ट, कलेजोको फंक्सन, किड्नीको फंक्सन, सम्बन्धित समस्याको निदान हुने गरि CT Scan, मुटुको परिक्षण, मस्तिष्कको परिक्षण लगायतका टेस्ट तुरुन्त अनिबार्य रुपमा गर्नुपर्छ | यो महामारी फैलिएको समयमा हरेक बिरामीलाई कोरोनाको आँखाबाट पनि हेर्नुपर्ने हुन्छ | शंका लागेमा तुरुन्त कोरोना उपचार हुने सुबिधासम्पन्न अस्पतालमा रिफर गर्न अग्रसर हुनुपर्दछ |

गाउँमै बसेको, ट्राभल हिस्ट्री तथा कन्ट्याक हिस्ट्री नभएको, सचेत र सजग व्यक्ति संक्रमित भएको तथ्यले के संकेत गर्छ भने कोरोना गाउँमा पनि हुन सक्छ ।

उहाँ गाउँमै बसेको, अन्य ट्राभल हिस्ट्री तथा कन्ट्याक हिस्ट्री नभएको तथा आफै सचेत र सजग व्यक्ति भएको कारण कसरी सर्यो भनेर परिवार तथा गाउँ नै स्तब्ध भएको तथ्यले के संकेत गर्छ भने कोरोना संक्रमण गाउँमा पनि हुनसक्छ |

अर्को कुरा उहाँलाई सेप्सिस भएको अर्थात रगतमा संक्रमण भएको तथा मल्टिपल अर्गान फेलियर भएको भनेर अस्पतालले जनाएको थियो | अर्को मत के छ भने “ उहाँको मृत्युमा माथि उल्लेखित कुनै कारणले हुन सक्छ | कोरोना संक्रमण एम्बुलेन्सबाट सरेको हुनसक्छ | बिरामी अवस्थालाई कोरोना संक्रमणले जोखिममा पारेको हुनसक्छ, मृत्युको कारण कोरोना संक्रमण नहुन पनि सक्छ |’’

कुनै पनि रोग सुरुमा निदान भयो भने तथा तुरुन्तै सहि उपचार भयो सन्चो हुन्छ | जति ढिलो निदान र उपचार भयो, त्यति नै जोखिमयुक्त हुन्छ | उहाँको उमेर ४१ बर्षमात्र थियो | उहाँलाई पहिले फोक्सोको रोग, किड्नीको रोग, मुटुको रोग आदि थियो कि थिएन भनेर बुझ्नुपर्ने हुन्छ | त्यस्तै हाम्रा एम्बुलेन्सलाई पूर्ण संक्रमणरहित बनाउन हरेक निकाय संबेदनशील हुनुपर्दछ | एम्बुलेन्स र अस्पताल संक्रमित भएमा मृत्युदर धेरै बढ्ने जोखिम हुन्छ |

मृतकप्रति हार्दिक श्रद्धान्जली तथा शोकाकुल परिवारमा समबेदना व्यक्त गर्दछु | हाम्रो जिल्लाको पहिलो कोरोना संक्रमितको निधन भएकोमा थप स्तब्ध भएको छु |