डा. रवीन्द्र पाण्डे,
– राज्यले आफ्ना नागरिकलाई बिचल्लीमा पार्नु हुँदैन | भारत, अरब वा अन्य देशबाट नेपाल फर्किने बाध्यता भएका नागरिकलाई उद्दार गर्नुपर्छ | उहाँहरुको ठाउँमा आफुलाई राखेर निर्णय गर्नुपर्दछ | यो महामारीको बेला हामी संगै बाँच्ने, संगै मर्ने उदार मानसिकता चाहिन्छ |
– भारतबाट ठूलो संख्यामा नेपाली आइरहेका छन् | उनीहरुलाई सबैलाई परिक्षण गर्ने क्षमता सरकार संग नहुन सक्छ | त्यस्तै उडान सुरु भएपछि अरब लगायतका देशबाट लाखौँ नेपाली आउने सम्भावना छ | सरकारको परिक्षण क्षमता कम भएमा लक्षण देखिएकालाई मात्र परिक्षण गर्ने अवस्था आउन सक्छ | यी दुवै अवस्थामा सेना र प्रहरी अस्पतालले पनि आफ्नो जनशक्ति र औषधि उपकरण प्रयोग गर्नुपर्दछ |
– सरकारले क्वारेन्टाइनको खर्च धान्न नसक्ने अवस्था आउन सक्छ | त्यसको लागि उनीहरुको क्षमता अनुरुपका होटेल, रिसोर्ट, गेस्ट हाउस, सामाजिक भवन आदिमा राख्नको लागि सरकारले पूर्व तयारी गर्नुपर्छ, न्युनतम शुल्कको ब्यबस्था गर्नुपर्छ | यसले एकातर्फ क्वारेन्टाइनमा बस्नेलाई बिजुली, पानी, इन्टरनेट, सौचालय, सामाजिक दुरी आदिको एकै ठाउमा ब्यबस्था हुन्छ भने अर्कोतर्फ बन्द भएका होटेललाई संचालन खर्च उठ्न सक्छ |
– कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जनतालाई ब्यापक सुचित गरेर होम क्वारेन्टाइनलाई प्रश्रय दिनुपर्ने हुन्छ | यसको अनुगमन स्थानीय निकाय र सुरक्षाकर्मीले गर्नुपर्ने हुन्छ |
– कोरोना संक्रमण धेरै नागरिकमा फैलियो भने अस्पतालमा राख्नको लागि वेडको अभाव हुन्छ | कोरोना पोजिटिभ देखिंदैमा अस्पतालमा राख्नै पर्छ भन्ने छैन | नियमपूर्वक आइसोलेसनमा बस्ने बाताबरण भएमा आफ्नो घर नै सबैभन्दा उपयुक्त हुन्छ | संक्रमितको मनोबल बढ्ने, परिवारको माया पाउने, खाना समयमा र आफुले चाहेजस्तो हुने तथा घरमै हुँदा मानसिक रुपमा बिरामी भएको अनुभव नहुने हुँदा घरमा आइसोलेसनमा बस्ने तथा गाह्रो भएमा मात्र अस्पताल जानुपर्ने प्रबन्ध मिलाउनु आबश्यक हुनेछ |
– घरमा स्पेस थोरै भएमा नजिकको होटेल, गेस्ट हाउस वा रिसोर्टमा राख्न सकिन्छ | – कोरोना संक्रमण भएका मध्ये ८५ % लाई सामान्य लक्षण देखिएर आफै निको हुने भएकोले यो वर्गलाई अस्पताल आबश्यक पर्दैन | ८५ % संक्रमितलाई घर, होटेल, रिसोर्ट, लज आदिमा राख्दा अस्पतालको लोड कम हुन्छ | जसले गर्दा बाँकी १५ % लाई राम्रो उपचार हुन्छ | अन्य बिरामीलाई पनि सेवा लिन सजिलो हुन्छ | ७-८ % लाई आबश्यक पर्न सक्ने आइसीयु, भेन्टिलेटर आदिको क्षमता बढाउन अहिलेदेखि तयारी गर्नुपर्छ | अस्पतालको जनशक्ति अरु बिरामीको उपचारमा फोकस हुन पाउँछ |
– कोरोना संक्रमण छिट्टै नहराउने भएकोले जनतालाई कोरोनासंग कसरी काम गर्ने ? भन्ने बारे गाइडलाइन बनाउनु आबश्यक छ | – धनी व्यक्तिलाई सित्तैमा परीक्षण र उपचार उपलब्ध गराउनु पर्दैन | उनीहरुलाई ‘ पेइंग काउन्टर ‘ मा शुल्क तिरेर परीक्षण गर्ने, अस्पतालमा शुल्क तिरेर उपचार गराउने, स्टार होटेलमा क्वारेन्टाइन / आइसोलेसनमा राख्ने ब्यबस्था मिलाउन सकिन्छ | यसरी उनीहरुबाट प्राप्त शुल्कले मध्यम तथा निम्न बर्गका व्यक्तिलाई निशुल्क परीक्षण र उपचार गर्न टेवा मिल्छ |
– नेपालसंग परीक्षण किटको अभाव हुँदैछ | यथाशीघ्र किटको ब्यबस्था गरेर पहुँचवालालाई होइन, जोखिम बर्गलाई परीक्षण गर्नुपर्दछ | हामीले बुझ्नुपर्दछ कि आज PCR नेगेटिभ देखिए पनि भोलि संक्रमण सर्न सक्दछ | तसर्थ सुरक्षित अभ्यास नै समाधान हो |