लक्ष्मी वर्देवा अन्तरजातिय विवाह गरेकी चेली भन्छिन् ‘यस्तो अवस्थामा हात काम्दो रहेछ तर डरले होइन् घृणाले’

Spread the love

काठमाडौं- नेपालको कानुनले जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ ०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ।

तर, अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवा र उनको लास मात्र होइन, मानवीय संवेदना पनि नदीमा बगेको छ। जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु परेको छ । दलित भएकै कारण उनको ज्यान गयो। कथित उपल्लो जातिकी युवतीसंग प्रेम गरेका उनि र उनका साथी उनलाई भगाउन गाउँ जाँदा हत्या भएपछि धेरैले यस विषयको खुलेर विरोध गरेका छन् । यसैमा चर्चित नायिका लक्ष्मी बर्देवाले पनि बिरोध गर्दै यस्तो कुराले आफ्नो हात कामेको जनाएकी छन् । उनल तर हात डरले होइन घृणाले कामेको बताएकी छन् । गत साल प्रेमी जीवन भट्टराईसँग अन्तरजातिय विवाह गरेकी गरेकी उनले अन्तरजातिय प्रेम र विवाह प्रयासपछि नवराज विकको हत्या खबरले झस्किएको बताएकी छन् ।जातकै कारण हत्यासम्म गर्ने नेपाली समाजप्रति लक्ष्मीले घृणा गरेकी छन् । उनले लेखेको लेख जस्ताको तस्तै पढ्नुहोस- ।

लेख्ने, भन्ने कुरा कैयौं भए पनि यस्तो अवस्थामा हातहरु काम्दो रहेछ । तर डरले होइन, घृणाले । रुकुममा हालै भएको घटना पढेपछि मैले कैयौं पटक आफैलाई प्रश्न गरे “मान्छे भएर मान्छेलाई कुटपिट गरेर हत्या नै गर्न ती आपराधिक मानसिकतालाई के कुराले प्रेरित गर्यो होला ? जातले ? हुन त यो न पहिलो घटना हो र दुःखको कुरा न मैंले चाहेर यो अन्तिम नै हुनेछ । प्रेमले त संसार जितिन्छ भन्ने कुरा त पढ्न मात्रै पो मजा आउने रहेछ । यहाँ त सजाए “मृत्युु दण्ड“ थियो र अपराध “प्रेम“ ! जातिय विभेदको यो भन्दा पराकाष्ठा के हुन सक्ला र ? अझ जब थाहा हुन्छ कि समाज सुधारक भनौदाहरुले यस्ता अपराधहरुमा खुलेआम सहभागिता जनाएर नेतृत्व गरिरहेका थिए त्यति बेला म महसुस गर्न सक्छु कि म कुन हदसम्मको निकम्मा समाजमा “मान्छे मान्छे एउटै हो फरक किन भो“ भन्दै बेफ्वाकमा नारा लाइरहेको रहेछ ।

कथित तल्लो जात भएर स्व घोषित माथिल्लो जातको व्यक्ति सँग प्रेम गरेकै भरमा हत्या गरिनुले समाज अझै पनि कहाँ नीर अल्झिएको छ सहजै अनुमान लगाउन सकिन्छ । कहिले सामाजिक रुपमा प्रयोगमा आउने किरिया घरमा किरिया पुत्रिलाई बस्न दिइन्न, कथित तल्लो जात भएकै भरमा । यस्तो समाचार पढ्दै गर्दा लाग्छ नेपालीको वर्ग छुट्ट्याइएका छन । यो बर्गको नेपालीले यो गर्न पाउने र त्यो वर्गले यो गर्न नपाउने भनेर । खुलेआम लाहछाप लाउन मात्र बाँकी छ । जातिय आधारलाई नै लिएर घटेका यस्ता अपराधिक क्रियाकलापहरुले कुन हदसम्मको सामाजिक दुरी र हिंसा पैदा गर्न सक्छ त्यो कल्पना भन्दा बाहिरको कुरा हो ।

यो त एक प्रतिनिधि घटना मात्रै हो यस्ता विगतमा घटेका कैयौं घटनाहरु होलान् जुन सायद कहिले बाहिर आएनन्, कति लुकाइए, कति कानुनी रुपमा अघि बढाइएन र बढी हालेपनि मिलापत्रको नाममा पीडितका आफन्तहरुलाई डर धम्की र लालच दिएर भित्र भित्रै गुमनाम पारिए । चेतनास्तरमा वृद्धि नभएसम्म र एक अर्काको अस्तित्व स्विकार नभएसम्म यस्ता घटनाहरु दोहोरिन्छन्, तेहेरिन्छ्न र बारम्बार घटिरहन्छन् । अस्तित्वको लागि नामको पछाडी जोडिएको थरको कारणले नै उसैको अस्तित्व नै नष्ट पार्न सक्ने यो चिज “जात“ यति बलवान् कसरी भयो त ? म ठम्याउन सक्दिंन । तर यहि बलवान् कहलिएको कुराले मानिसमा बाँकी भएको मानवतालाई कसरी कमजोर बनाउँदै छ म बुझ्न सक्छु ।

यति पढेपछि यदि हामी फेरि फलाना जातले गर्दा यस्तो घटना भयो ढिस्कना जातले गर्दा यस्तो भयो भनेर एक अर्कामा आरोप प्रत्यारोप लाउँछौ भने हामी पुनः त्यही गल्ती दोहोर्याउँने छौं । सायद हामी कोही चाहदैनौं कि भोलि कुनै नेपालीको हत्या होस् चाहे त्यो कथित तल्लो जातको होस् या त माथिल्लो । मानिसले आफुलाई महान बनाउन जबसम्म यस्ता निच कार्य गर्न छोड्दैन तबसम्म यो अपराधको सिलसिला रोकिने वाला छैन । त्यसैले आत्मसमिक्षा गरौं, हामिले जातकै कारण कसैलाई घृणा वा अपहेलना गरेका त छैनौं ?