डा. रवीन्द्र पाण्डे
भारतबाट आउँदा आउंदै अर्घाखाँचीका व्यक्तिले आफ्नो सासलाई बोर्डर वारि ल्याउन सकेनन् | शबलाई नेपाल ल्याएर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो | बाँके रजैनापुरका युबकको पनि मुम्बईबाट २ हप्ता लगाएर नेपालभित्र पसेको ५ दिनमा मृत्यु भयो | आज दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युबक पनि भारतबाट जेठ ७ गते नेपाल आएका थिए |
कोरोनाको भुंग्रोबाट लड्दैपड्दै तथा यो प्रचण्ड गर्मीमा जनाबरझैं कोचिंदै / हिंड्दै सिमानाभित्र सास लिएर आउने हजारौं दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहज ढंगबाट नेपाल प्रवेश गर्न, नेपाल प्रवेश गरेपछि सुविधायुक्त क्वारेन्टाइनमा राखेर, केहि दिन मिठोमसिनो खुवाएर, शितल छहारीमा सुस्ताउन दिएर, स्वास्थ्य समस्याको उपचार गरेर तथा कोरोना परीक्षण गरेर सुरक्षित ढंगले आफ्नो थातथलोमा पुर्याउने हो भने यी बियोगान्तक ब्यथा सुन्नुपर्ने थिएन |
अन्य देशले हवाइजहाज चार्टर गरेर आफ्ना एक एक नागरिकको सुरक्षा गरिरहेका छन् | के हामीले कुटनैतिक संबाद र कुशल ब्यबस्थापन गरेर आफ्ना नागरिकलाई बचाउन मिल्दैन र ? मृतकको खातामा एउटा संख्या थपिनु सरकारको लागि ठूलो कुरा नहोला | तर आश्रित परिवारजनका आशुंका धारा गनि नसक्नु हुन्छन् सरकार ! मन भएका मान्छेको मुटु टुक्राटुक्रा हुन्छ सरकार !