दशबर्षे जनयुद्दको लातले नमानेको मेरोदेशको छूवाछूतको भूत

Spread the love

केही वर्ष अघि गाउँमा माओवादीले चुनाब जित्दा टाउकोमा रातो फेटा बाँधेर दौडनेको भिडमा थप एउटा अबोध बालक पनि थियो – त्यही अबोधपनको पश्चाताप गर्न आज विवस छु सायद, म। “देशले रगत मागे मलाइ बलि चढाउ” भन्ने क्रान्तिकारी गित गाउनेमा म पनि पर्थें। तर कता कता त्यो गित आज मलाई अलोकप्रिय लाग्न थालेको छ, अहिले। किनकि देशका निमित्त बलि चड्नेको मूल्य अब गुन्द्रुकको झोलसंग दाँजिन थालेछ, अचेल।

दस बर्षे जनयुद्धमा कतिले ज्यान गुमाए, कतिका बाउ-आमा खोसिए, कतिले सन्तान गुमाए, कतिले आफन्त गुमाए, कति त अहिले सम्म पनि बेपत्ता छन्, युद्दको चपेटामा राज्यका आर्मी पुलिसहरुको र माओबादीहरुको दुर्ब्यबहार र ज्यादती सहन नसकेर तथा देशको भबिष्य अन्धाकार देखेर कति युवायुवतीले आत्महत्या समेत गरे भनेर साध्य छैन। त्यसरी मारिनेहरु आज गुमनाम भए तर मार्नेहरु भने मालामाल भएर रजाईं गरिरहेका छन्।

यसर्थ कुनै नेताले क्रान्तिको महत्व र रगतको मूल्य चिनेको भए आज यसरी “जनता नग्न र नेता मग्न” हुने अबस्था सृजना हुने नै थिएन। त्यस्तै जनता भोका र नेता मोटा हुदैन थिए होला, पक्कै पनि। हिंजो चप्पलको तुना फेर्न नसक्नेहरु आज सजिलै बोली फेर्न सक्ने हुदैन थिए होला, यसै पनि। त्यस्तै हिजो गाउँघरमा मागेको मोहीसँग, फुटेको हाँडीमा भुटेको ठेट्ना मकै पेटभरी पनि खान नपाएर भूँडीमा दाम्रो लागेर सेप्रो हुनेगरी सुक्ने – “सुकेनाश” लागेका नेताहरु आज उहिलेका विलासी राजाले महाराजाहरुले झैं ऐयासी चौरासीव्यंजन हसुर्दै र भुडी हाल्दै अनि ढ्याऊ ढ्याऊ झुसिला डकार डकार्दै रवाफी शैलीमा टिभीको स्क्रीनमा बोलेको देखिंदैन थिए होला, त्यत्तिकै।

त्यस्तै एकातिर सहिदहरुका लास गाडेर अर्कोतिर आनन्दको बास बस्दैन थिए होला, कोहीपनि। अनि व्यक्ति मोटाउने र देश दुब्लाउने हुदैन थियो होला, कतै पनि। यति भन्दै गर्दा रगतको होली खेल्दै जनता रुवाउन पल्केका क्रान्तिकारी नेताहरुलाई म जस्तो सानो फुच्चे प्रतिगमनकारी आँखाको कसेर लाग्न सक्ला। तरपनि नि:सन्देह देशभक्त हुँ, म।

यद्यपि गुण्डाहरु नै उच्च निकायमा सजिलै पुग्न सक्ने चुनाबी फास्ट ट्रयाकको ब्यबस्था भएको हाम्रो देश नेपालमा सर्बाधिक लोकप्रिय तथा भित्री दिल देखिकै साँच्चिकै देशभक्त प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने ब्यबस्था नभए सम्म र यदि तिनले नराम्रोकाम गर्दा फिर्ता बोलाउन सक्ने मताधिकारको ब्यबस्था नभए सम्म हिंसामुक्त समाजको परिकल्पना गर्न कदापि सक्दिन म यतिबेला, अहिलेको यस्तै भद्रगोले माहोलमा। भलै सत्ताको वरिपरी बसेर देश दोएर खाँदै, पोष लागी रमाउनेका छोराछोरीहरुलाई मेरो कुरा नमिठो लाग्ला नै!

समाज नफेर्ने खोक्रो क्रान्तिको नाउँमा खुल्लमखुल्ला हजारौ निर्दोष मानिसहरु मारेको स्वीकार्ने आम जनहत्त्याराहरुलाई पनि केही गर्न नसक्ने कथित पढेलेखेका हामी नेपालीहरुले हिंसामुक्त समाजको कल्पना गर्नु त ब्यर्थ छ तरपनि त्यसो भनेर चुप लागेर बस्नुको औचित्य छैन। त्यसैले अब केही बोलौं र लेखौं पनि।

रक्तपातपूर्ण क्रान्तिले नफेरिएको मानिसहरुको मस्तिष्क “बातले नमानेको भूत” को कथा जस्तै भएको छ यति बेर। के जनयुद्दको लातले पनि नमानेको मेरो देशको छूवाछूतको भूत कुनै सामान्य कानूनी बातले मात्रै मन्सिएला त अब?

आज हुनेखानेले हुँदा मात्रै खाने कमैया, हरुवा र चरुवा अनि दलीत भनी हेपिएका जातीहरुका नाममा गर्ने बर्गीय भेदभाब, जातीय र लैगिक विभेद, यौन शोषणसंगै श्रम शोषण कानुनत बर्जित नै भएको छ तर व्यवहारमा भने जातीयताको नाममा कर्णालीको कथित उपल्लो जात र कथित दलितको नाममा नवराज बि.क जस्ता कयौले ज्यान गुमाउनु परेको छ र बचेका नागरिकहरु न्यायबाट जबर्जस्ति बन्चित पारिएका छन्।

अझैं राज्यद्वारा कयौं कर्णालीवासीहरुलाई आवाज बिहीन र तिनका प्रतिभावान् छोराछोरीहरुलाई भूमिका बिहीन पारिएका छन्। यो सबै जातीय विभेद र क्षेत्रीय उत्पीडनले गर्दा नै हो भन्ने म जस्ता कलिला यूबकहरुको मनमा परेको छ। त्यहाँ विभेदको पिडा एकातिर छ अनि न्याय दिने निकाय चाहीं राज्यको ढुकुटीको कुम्लो बोकी सिंहदरबारतिर राज गर्दैछ। अब हामीहरुलाई राजनीति सङ्लो पानी रहेनछ जस्तो लाग्न थालेको छ।

यसकारण सिमान्कृत र किनारामा पारिएका र विभेदमा परेका या भनौ सत्तासंग साइनो नै नभएका मानिसहरुले अब नीति निर्माण गर्ने ठाउँमा आफुलाई जबर्जस्त किसिमको उपस्थित गर्न पाउनुपर्छ। अन्यथा सौभाग्यता र समाबेशीताको नाममा पहुँचवालाहरुलाई मात्रै पुर्याउने भर्यांङ्ग मात्रै बनाउनु पक्कै पनि अन्याय हुनेछ। अझै पनि लोकतन्त्रलाई संस्थागत गर्न हरेक तप्का र तहका मानिसहरुको आवाज निर्धक्कसँग संसदमा बुलन्द गर्ने अवसर हुनुपर्छ।

संसद्को कुरा गर्दा झोवा बि.क. हरु जस्ता अरुपनि थुप्रै दलित समुदायका महिला सांसदहरुले आफ्नो कुराहरु त्यसरी नै निर्धक्क भएर संसदमा राख्न किन नपाउने? आफ्नो भिन्दै मातृभाषा भएकीले जनजातीकी छोरीले नेपाली भाषामा बोल्दा लर्बरिएको उनको जिब्रोमा निर्दोष बालसुलभ आवाज झल्कन्छ। उनको त्यो सरल आवाजलाई संसद भित्रै कतिपय पुरुष राजनीतिक पण्डितहरुले अस्वाभिक रुपले हाँसेर उपहास गर्दै उछित्तो काढेको देखिनु आपतिजनक छ। यस्तो हेपाईलाई मनोबैज्ञानिक हिंसा (psychological bullying) मात्रै भन्न सकिन्न। त्यो हेपाईमा लैंगिक र क्षेत्रीय उत्पीडन समेत झल्किन्छ। त्यही कुरालाई यदि काठमाण्डौको शिक्षित नेवार बर्गको कुनै पुरुषले त्यसरी नै बोलेर संसदमा राखेको हुन्थ्यो भने कसैले पनि त्यति तल्लो रुपले गिरेर हसी मज्जाकमा उडाउँन सक्तैनथ्यो, पक्कै पनि।

अब भने हामी सबै यूवाहरु मिलेर यसभन्दा अघि हुने गरेका र हुँदै आएका जातीय, लिंगीय र क्षेत्रीय उत्पीडन तथा राज्य संरक्षित हिंसा तथा उत्पीडनमा अब उप्रान्त हिंसामुक्त समाजको निर्माण गर्नतिर सकृय रुपले अग्रसर हुनैपर्छ। मैले होइन, मैले गरेकै छैन र मलाई परेकै छैन भनेर बुझ पचाएर बस्नुको कुनै अर्थ छैन। अब बिश्व बन्धुत्व र भाईचाराको दृष्टिकोणले आ आफ्नो आखाँ समेत उघार्नु पर्छ। अब हामी नेपालीहरुले महामानब जन्मिएको हाम्रो जस्तो स्वर्णीम भूमीलाई साँचो अर्थमा गौतम बुद्धले परिकल्पना गरेको जस्तै सुन्दर संसारको रचना गर्नुपर्छ। किनकि गौतम बुद्दले मान्छेको जात मात्रै हैन कि पृथ्बीमा भएका सबै जीव जन्तु र जनावरहरु सबैको आत्मालाई उतिकै समान हो भनी विश्वभरका सबै जातका मान्छेहरुकै ज्ञानको आँखा उघारी दिएका थिए।

त्यसैले अब उपरान्त हिंसामुक्त समाज सिर्जना गर्ने क्रममा साँघुरो सोचको जातीय कलंकको नाममा कतै भेदभाव नहोस् अनि फेरी कसैलाई पनि हिसात्मक र आपराधिक रुपले नवराज बि.क. नबनाईयोस्। बोक्सीको आरोपमा मरणीदेवी माथि भएको अमानबीय हिंसा जस्तो जघन्य घृणित कार्य नदोहोरियोस्। निर्मला पन्तको केश जस्तै नेपालको हरेक कुना काप्चा र अँधेरा गल्लिहरुमा हुने गरेका यौनजन्य हिंसा (sexual abuse) तथा बलात्कार जस्तो घटनाहरु नदोहोरियोस्। दाइजो र जडौरीको नाममा घरघरै बुहारीहरु नहेपिउन, नचुटिउन्, र नमारिउन् पनि।

सर्बत्र शान्तिको ध्वनी छरियोस्। शान्तिका अग्रदूत बुद्द जन्मिएको नेपाल जस्तो भूमीमा फेरी पनि घर पोलेर खरानीको ब्यापार नगरियोस्। राज्यको अगुवाईमा छिट्टै छुवाछुत र भेदभाब मुक्त समाजको थालनी होस्। यसकोलागि दिनदिनै निस्कृय बन्दै गईरहेको “सत्य निरुपण तथा मेलमिलाप आयोग” लाई पुनर्जीबन दिने किसिमले सम्पूर्ण समस्याहरुको बेलैमा सम्बोधन होस्। त्यसोभए जातीय विभेद र घरेलु हिंसाहरुको समेत अन्त्य हुन सक्छ। किनकि राजनीतिक द्वन्दको समाधान नगरी जातीयताको आधारमा हुने घरेलु हिंसालाई समाधान गर्न असम्भब हुन्छ।

मलाई आशा छ अब हामी सम्पूर्ण नेपाली युवाहरुले यसरी नै समयमै कुरा बुझ्यौं र त्यही अनुसार तात्यौं र घरघरै गएर आफ्ना अभिभाबकहरु र अरुलाई पनि बुझायौं भने हाम्रो देश नेपाल मात्रै नभई पक्कै पनि ब्यबहारिक रुपले नै संसारभर हिंसामुक्त समाजको सृजना गर्न सकिन्छ। यसो गर्यौं भने देशमा मात्रै नभई संसारभर नै अमनचैन कायम हुनेछ। हाम्रा अगुवा नेताहरुको पनि बेलैमा बुद्दी पलाओस्। आयन्दा गणतन्त्र पछिका दिनमा पनि नेपाली जनताले राजतन्त्र फालेको भनेर आफैलाई धिक्कार्न नपरोस्।

शिशिर ढकाल
बारपाक सुलिकोट -४, सौरपानी, गोर्खा।
हाल: बिद्यार्थी, काठमाण्डौं मोडेल कलेज कक्षा–११

छुवाछूत र जातीय भेदभाबका बिरुद्द हलोवाला मिडियाद्वारा सामाजिक संजालमा आब्हान गरिएको निबन्ध प्रतियोगितामा छानिएको एउटा निबन्ध।