-भीम विरही राई
एकाबिहानै बज्ने मङ्गलधुनसँगै
हजारौं मृत्युको खबर ल्याउँछ रेडियो
लमतन्नै तेर्साउछ विरोध र समर्थन
ब्रेकिङ न्युजमा टेलिभिजन
भरिएका छन् अखबारहरू लासका फोटोहरुले
छापिएका छन् हेरिनसक्नु श्रद्धाञ्जलीका शब्दहरु
तर पटकपटक सम्बोधित हुन्छ मेरो देश
सुख सहितको समृद्ध राष्ट्र
मनोबल सहितको चौतर्फी विकास
अनि सुशासनका छ्यापछ्याप्ती भाषणहरुले
यता देश चिच्याईरहेको छ
सरकार !
हामीलाई भ्रान्ती हैन शान्ति चाहिएको छ
हामीले त
अरुण तेस्रो र कुलेखानी नआए पनि
हावाबाट बिजुली बालेकै छ,
पहाडी र हिमाली झुप्रामा चाँप, धुपी र
गुराँसको चिसो दाउरामा खाना नपाके पनि
चुलाचुलामा ग्यासको पाइप जोडेकै छ,
नेपाली नदिको मुहानमै विदेशीले नाला जोडेपनी
अक्करमा पानीजहाज चढेकै छ,
लकडाउनमा दुनियाँ बन्द भएपनि
बिद्युतिय रेलमा चढेकै छ
भयो सरकार अब त सबै सुख सुविधाको
उपभोग गरिसकेका हामी
अब भ्रान्ती हैन शान्ति चाहिएको छ ।
हाम्रो गाउँमा त
कसैको बारीको ढुङ्गा आफ्नो बारीमा गुडेर आए
कराउने, हकार्ने र छिमेकी भेला पार्ने
तर सयौं किलोमिटर छिमेकीले भुमि मिच्दा पनि
थाह पाउदैनौँ
कसैको परेवा घरको धुरीमा बसे
धपाउँने मट्याङ्ग्रा हान्ने
हाम्रो आकाशमा अर्काको हेलिकप्टर दिनहुुँ
बेसक्याम्प, ड्रोपिङ जोन र लञ्चप्याडको
रेकि गर्दा पनि हामीलाई मतलब हुदैन ।
कहाँ गयो २०४५ सालको १२mm एन्टि एयर क्राफ्ट
१०५र३७mm लाइट फिल्ड गन अनि
ट्वीन ब्यारेल अटोमेटिक एन्टि एयर क्राफ्टहरु
किन खसाल्न सक्दैन भ्याकुरो झारे झैँ ।
पेट कसेरै भए पनि चुपचाप छन शहर र वस्तीहरु
उता चौरासी व्यञ्जन भुजाले डकार्दै ढुक्रीन्छ सिंहदरबार
रोइरहेको छ हजारौं बिगाह नेपाली भुमी
बिदेशको नक्साहरुमा
गुहार मागिरहेका छन् रातोरात बिदेशी बनाइएका
नेपाली नागरिकहरु
तर शहरमा महायज्ञ चलिरहेको छ
लुटियोस बरु बाँके बर्दिया, कालापानी
लिपुलेख र लिम्पियाधुरा
चाहे मेटियोस कञ्चन्जंघा अनि सगरमाथा पनि
तर कदापि नलुटियोस बालुवाटार र सिंहदरबार
याद गर्नु महाशाय
देशै नरहे कुन देशको नेता मन्त्री बनौला ?
झन्डा नै नभए केको मुनि उभिएर गाउँछौँ
राष्ट्रगान सयौं थुङ्गा फुल ?