बेलायतको फ्री स्टुडेन्ट भिषा: विदेशमा पढ्न खोज्ने नेपाली युवाहरुलाई हलोवालाको सुझाब

Spread the love

रुद्र ढकाल (हलोवाला)

केही वर्ष पहिले गोर्खाको एउटा बिकट गाउँ (हाल बारपाक सुलिकोट-४, सौरपानी)बाट जम्मा रु. ३००/- मात्र लिएर काठमाडौँ छिरेको एउटा युवा थिएँ म। अरुले जस्तो विभिन्न शैक्षिक दलालहरुलाई पैसा खुवाएर बेलायत छिरेको मान्छे होइन म। त्यस्तै अरु भ्रष्टाचारी नेता वा काला बजारिया ब्यापारीको छोराछोरीहरु जस्तो बाबुले देशै डुबाएर त्यहाँका गरीब जनताका आँखामा छारो हाल्दै कमाएको कालो पैसा विदेशमा बुझेर आनन्दसंग महँगो फिस तिर्दै पढेको मान्छे पनि होइन म। 

म त एक गरीब किसानको छोरो हलोवाला, अनेक उपाय रच्दै बेलायतसम्म आईपुगेर पनि फेरी हण्डर र ठक्कर खाँदै यहाँको बिश्वबिद्यालयमा बल्लतल्ल भर्ना भएर “बनकै चरो बनकै ढुङ्गो” भने जस्तै दिनरात नभनी आफैले काम गरेर कमाउँदै बेलायतको राम्रै युनिभर्सिटीहरुबाट अत्यन्तै महँगो फी आफैले तिर्दै ग्र्याजुयट अनि पोष्ट ग्र्याजुयट समेत भ्याएको मान्छे हुँ। कतिपय मलाई नजिकबाट चिन्ने मानिसहरु साक्षी छन्।    

त्यसमाथी आजकै दिन अर्थात् २३ जुन २०२० को दिन देखि आज सम्ममा बेलायतका बिश्वबिध्यालयहरुमा स्टुडेन्ट सपोर्टको रुपमा १० बर्ष काम गरी सकेको मान्छे हुँ।  अहिले पनि बेलायतकै एक युनिभर्सिटीमा स्टुडेन्ट सपोर्टको रुपमा नै कार्यरत छु। त्यसैले यो १० बर्षे अबधीमा नेपालबाट मात्रै नभई विभिन्न देशबाट बेलायत आएर पढ्ने धेरै स्वदेशी तथा बिदेशी बिद्यार्थीहरुको अध्यायन कार्य र तिनका विभिन्न गतिबिधीहरुको नजिकबाट नियालिरहेको पनि छु। यसकारण अरु शैक्षिक माफिया दलालहरुको भन्दा अलिक भिन्दै अनुभब छ म सँग। तसर्थ आज म तपाईंहरुलाई बैदेशिक अध्ययन सम्बन्धी केही महत्वपूर्ण कुराहरु पस्कंदैछु।

म त भन्छु, नेपाली बिद्यार्थी भाई बैनीहरुले आफ्नो अभिभाबकको थाप्लामा ऋणको भारी बोकाउँदै कुनै पनि शैक्षिक दलालहरुलाई त्यतिकै पोष्दै पढ्न भनेर बेलायत आउँदै नआउन् र अन्त पनि कतै विदेश जाँदै नजाउन्। बरु उल्फाकै धन भए पनि नेपाल मै बसेर आफ्नै फूपूको श्राद्द गरे हुन्छ  तैपनि बिदेशीहरुलाई आफ्नो देशको पैसा फोकटमा नपोष्नु होला। किनकि यहाँ विदेशमा आएर अर्काको देशमा महँगो घरभाडा तिर्दै बसेर तनाबमा पढेर केही फाईदा नै छैन। 

त्यस्तै कामको बहानामा बिरानो ठाउँमा आफ्नो सस्तो श्रम अरुलाई बेच्दै खाली अर्काको दाश बन्ने बाहेक अरु केही काम छैन यता बिदेशमा। अर्को अर्थमा “आफ्नै पैसा पनि गुमाउनु, अनि आफैं चुतिया पनि बन्नु” भनेको जस्तो हुन्छ। बरु त्यो पैसाले नेपालमै केही गर्नु। हुन त नेपालमा कामै नगरी हल्लिएर खाएका छोराछोरीहरुलाई “बाबुको बिहे” देखाउँदै तह लगाउने ठाउँ चाहिं पक्कै पनि बेलायत या अन्त विदेशतिर पठाएर नै हो। तरपनि किन दुनियाँ भरको रोग बेसाउनलाई किन समय र आफ्नो गरीब देशको पैसाको बर्बाद गर्ने? “नदुखेको टाउको त्यतिकै डोरी लगाएर जबर्जस्ती दुखाउने” भनेको जस्तो।   

बरु विदेशको डिग्री पढ्ने प्रबल ईच्छा नै छ भने त्यहीं नेपाल मै बसेर सस्तो दाममा विभिन्न बिदेशी युनिभर्सिटीहरुबाट आफूलाई मन परेको अन्लाईन कोर्ष (डिस्ट्यान्स लर्निङ्गका कोर्ष) हरुमा भर्ना भएर त्यहींबाट ईन्टरनेटको सहाराले जम्मै कुराहरु राम्रोसंग पढ्न सकिन्छ। उस्तै परे “MOOC” बाट विभिन्न नाम चलेका युनिभर्सिटीहरुको अन्लाईन कोर्षहरु फ्री मा पनि पढ्न पाईन्छ। बिस्तृत जानकारीकोलागि यो लिंक भित्र जानुहोस्: https://www.mooc.org 

बेलायतकै ओपन युनिभर्सिटीमा कतिपय कोर्षहरु फ्रीमा राखिएका छन्। कृपया दलालहरुलाई पैसा खुवाएर विदेशको चक्करमा लाग्नु भन्दा पहिला यही ओपन युनिभर्सिटीको कुनै एउटा मनपरेको कोर्षमा आफैं ईन्टरनेटबाट रजिष्टर गरेर आजैदेखि पढ्न थालिहाल्नुहोस्, – पैसाको ऋण पनि जोगिन्छ, बिदेशी युनिभर्सिटीको धोको पनि मेटिन्छ र ज्ञान समेत बढ्छ। बिस्तृत जानकारीकोलागि यो लिंक भित्र जानुहोस्: https://www.open.edu/openlearn/education/free-courses

अर्कोकुरो यदी कसैलाई बेलायत गएर त्यहीं बसेर पोस्ट ग्र्याजुयट अर्थात् मास्टर्स डिग्री पढ्न मन छ भने त्यहाँको कुनैपनि युनिभर्सिटीहरुबाट त्यहीं फ्रीमा भाडा नै नतिरिकन बसेर ट्युशन फी समेत नतिरी फ्री मा नै पढ्न मन छ भने, अब छिट्टै नै यही अगष्टको महिना भित्रमा अर्को शैक्षिक सत्रकोलागि पढ्न जान पाउने गरी “चिभनिङ्ग स्कलर्शीप” खुल्दैछ। जम्मै बेलायत सरकारले बेहोर्ने गरी नि:शुल्क हो यो कोर्ष। नेपाललाई हरेक बर्ष १७ जना सम्मको कोटा दिईएको हुन्छ। ब्याचलर डिग्री वा सो सरह भन्दा बढी पढेकाहरुले बेलैमा राम्रो अनुसन्धान गरेर राम्रो स्टेटमेन्ट लेखेर अन्लाईनबाटै आबेदन भर्न सक्नु हुन्छ। यसमा कुनै सोर्स फोर्स केही पनि लगाउनै पर्दैन। कृपया बिस्तृत जानकारीकोलागि यो लिंक भित्र जानुहोस्: https://www.chevening.org/scholarship/nepal/ 

आफैले पैसा तिरेर चाहिं बिदेशमा बस्ने गरी पढ्न जानु बेकार छ। जसले जे भने पनि आखिर यता बिदेशको विश्वबिद्यालयको प्रत्यक्ष (टट्) कोर्षमा पढ्न आएर पनि पढ्ने भनेको आफैंले अनलाईनबाटै खोजेर हो र प्रा:य अधिकांश कोर्षको समय अन्लाईनबाटै रिसर्च गरेर पढ्ने हो। त्यसोभए किन विदेश आएर महँगो कोठाकोभाडा तिरेर अर्काको घरको अँध्यारो कुनामा बसेर पढ्ने त? अर्कोतिर पढ्ने उर्बर समयमा काम खोज्ने टेन्शन पनि भएन। काम गर्ने समय पढाईमा फोकस गर्दा नजिजा पनि राम्रै आउला। बरु ग्र्याजुयाशन गर्ने बेलामा पक्कै पनि ६ महिनाकोलागि या अझै बढी समयकोलागि अबश्यै पनि सम्बन्धित देशहरुको भिषा पनि अबश्यै पाईन्छ अनि त्यही बेलामा मज्जाले ती देशहरुमा बसेर घुम्दै अनि पाएसम्म काम पनि गर्दै बस्ने हो। अनि त्यो देशको संस्कृतिको बारेमा पनि प्रायजसो कुराहरु त्यतिकै थाहा भैहाल्छ नि

मलाई अरुदेशको शिक्षाको बारेमा त्यति थाहा छैन। युकेमा पनि अन्लाईनबाट युनिभर्सिटीको कोर्षहरु राम्रै पढाई हुन्छ। अष्ट्रेलियाको कोर्षहरु पनि राम्रै टेलर मेड नै लाग्यो। प्राक्टिकल कोर्षहरु बाहेक यी देशका युनिभर्सिटीहरुमा जम्मै कुराहरु आफैं अन्लाईनबाट रिशर्च गरेर या खोजेर पढ्ने हो। टिचर, लेक्चर या प्रोफेशरहरुले आफुले गरेको खोज र अनुसन्धानमा सामान्य गाईड मात्रै गर्छन् जुन अन्लाईनबाट गरिदिने पनि उही हो। प्रायजसो बिद्यार्थी र शिक्षक बिचको कम्युनिकेशन ईमेल, एडोबी कनेक्ट, पानप्टो, आजभोली त झनै “जूम” बाट सबै अनलाईनबाटै गर्ने गरिन्छ। लाईब्ररी रिसोर्सहरु जर्नल, ईबुकहरु जम्मै अन्लाईनमा उपलब्ध छँदैछ। अब त झन् कोभिड-१९ ले गर्दा कक्षा कोठाहरुमा भन्दा अन्लाईनबाट नै बढी पढाउने भनिएको छ। 

त्यसैले बिरानो मुलुकमा आफ्नो परिबारका आमा बाबु, स्वास्नी छोराछोरीहरु छोडेर आएर महँगो कोठा भाडा तिरेर एक्लै स्ट्रेस लिएर जिबन बर्बाद गर्दै पढ्न आउन भन्दा बरु त्यहीं नेपालमै जे जस्तो भएपनि आफ्नै घरमा बसेर मिठो मसिनो खाँदै मज्जाले पढ्दा राम्रो हुन्छ। समयको पनि राम्रो सदुपयोग हुन्छ। यदि परिबारको डिस्टर्ब हुन्छ जस्तो लागेमा काठमाण्डौ हुनेहरुले लैनचौरमा ब्रिटिश लाईब्रेरी, अमेरिकन लाईब्ररी अनि रसियन कल्चर सेन्टर तथा भारतीय दूताबासतिरको ठूलाठूला लाईब्ररीहरुलाई मज्जाले प्रयोग गर्नु, ५/६ जना उस्तैउस्तै बिषय पढ्ने साथीहरुको ग्रुप बनाएर डिस्ट्यान्स लर्निङ्गको कोर्स सामुहिक रुपले पढ्न पनि सकिन्छ। नत्र भने सम्बन्धित कोर्ष गर्ने विभिन्न देशको साथीहरु बनाउन सकिन्छ। 

अनि यहाँ बिदेशमा आएर पाउण्ड या डलरमा तिर्ने कोठाभाडाबाट बचेको पैसाले विश्व विद्यालयको कोर्ष होलिडे या समर होलिडेमा कुनै निहुँ पारेर सम्बन्धित युनिभर्सिटी भएको देशमा केही समयकोलागि घुम्न जाँदा पनि भई नै हाल्यो। सम्बन्धित देशको म्युजियमहरु, साइन्सका ल्याबहरुमा मज्जाले घुमे भईहाल्यो। यसो गर्दा भिषा पनि सजिलै पाईन्छ अनि विभिन्न अध्ययन र अनुसन्धान गर्दै संसार घुम्न पनि पाईन्छ।

तसर्थ अहिलेको अबस्थामा बिदेशी डलर साँटी साँटीकन फोकटमा विदेश गएर अर्काको देशमा महँगो घरभाडा तिर्दै पढ्न जान भन्दा बरु आफ्नै देशमा बसेर संसारको कुनै पनि विश्वबिद्यालयको डिग्री हासिल गर्न सकिन्छ। बरु लगानीकर्ताहरुले यस्ता बिद्यार्थीहरुको मागलाई ध्यानमा राखेर त्यस्तै आधुनिक होस्टेलहरु या बिद्यार्थी हलहरु बनाईदिने हो कि? यस्तो बिद्यार्थी हलहरु नेपालको कुनैपनि कुनामा द्रूतगतिको ईन्टरनेट सेवा र अन्य श्रब्यदृश्य मिडियाका सामग्रीहरु राखेर बनाउन सकिन्छ। यसोभए पढाईको नाउँमा फोकटमा विदेशिने बैदेशिक मुद्रा र युवा जनशक्तिले देशले राम्रो उन्नति गर्न सक्छ। नेपाल सरकारले बेलैमा आबश्यक कदम चालोस्।   

~ उही हलोवाला (रुद्र ढकाल)

[लेखकले बेलायतको लण्डन स्थित सेन्ट मेरिज युनिभर्सिटी (St Mary’s University) बाट मिडिया आर्ट्स तीन बर्षे फूल टाईम कोर्षमा बिए अनर्स (BA Hons.) डिग्री तथा बेलायतकै किङ्ग्स्टोन युनिभर्सिटी (Kingston University) बाट “मिडिया एण्ड कम्युनिकेसन्स् (Media and Communications)” फूलटाईम कोर्षमा मास्टर्स डिग्री एमए (MA) समेत गरेका छन्।]

साथै संबेदनशील एमसीसी बारेको भ्रम चिर्नकोलागि बेलायतमा कार्यरत चार्टर्ड एकाउण्टेण्ट तथा सोहा युनिभर्सिटी (SOAS University of London) का प्राज्ञ बिज्ञान प्रसाईंको महत्वपूर्ण ईण्टरभ्यू पनि अबश्यै हेर्नुहोला।