आज धेरैपछि पहिले सॅंगै काम गरेको साथीसॅंग ग्रोसरी स्टोरमा भेट भयो। कोरोनाको उपहार, पहिले भेट्ने साथ अँगालो हालिहाल्ने हामी, परबाटै हाई भन्यौं। उ अहिले नर्स फेरी, त्यसै पनि डर जस्तो। ‘ओहो कता गायब, मैले कोरोना भाइरसको महामारी शुरू भएपछि सबै भन्दा पहिले तिमीलाई संझेर मेसेज पनि गरेको थिॅंए’ भने। उसले ‘ मेरो नयाॅं फोन नंबर अहिले, मेसेज त कसरी पाउथें, तर थ्यांक्स गड, अहिलेसम्म म ठिक छु।बरू एकछिन गफ गरौंन कफि पिउॅंदै भनिन्।’
उ कस्तो साथी भने, अमेरिकामा नै जन्मेकी, उमेरले म भन्दा धेरै सानी तर उसको आमा इन्डियन भएकोले खाना, लुगा, चाडपर्व आदीको बारेमा कुरा गर्दा गर्दै मिल्न थालेका थियौं हामी। धेरै पछी भेट भएको,सुख दु:ख, घर-परिवारको कुरा भयो।यसो देब्रे हातको साइली औंलामा हेर्छु त बिबाहको दुई औंठी छ।( अमेरिकामा बिबाह भएपछि, औंठी लगाउने चलन छ) ल बधाई छ। तिमीले त बिबाह पनि गरिछौ भने। अनि शुरू भयो ‘बुढेशकालको बिर्सने रोगको कथा’ ।
उसको आमा एकल महिला/ सिंगल मम, खोई बुबाको बारेमा उसले कहिल्यै भनिन पनि, मैले सोधिन पनि, फेरीअमेरिकामा कसैले केही भन्न चाहेन भने कर गरेर कोट्याई कोट्याई नेपालमा जस्तो सोधखोज पनि गरिॅंदैन। प्राइभेसी ( निजीकुरा) भन्छन। आमाले धेरै दु:ख गरेर आफु पढ्दै, जागीर खाॅंदै छोरी हुर्काएको थाहा थियो। उनी ठुलो कम्पनिमा कामगर्थिन,पोहोर जागीरबाट रिटायरमेन्ट लिइछिन्। साथीले पनि पढ्दै, जागीर खाॅंदै गरेर नर्स भएको। सबै राम्रै हुॅंदै थियो, भइदिएछ के भने, आमाले बिस्तारै बिस्तारै धेरैकुरा बिर्सन थालिछन्। लौ के भयो यस्तो भनेर डाक्टरले अनेक टेस्ट गर्दा त‘ डिमेन्सिया वा बिर्सने रोग’ शुरू हुन लागेको लक्षण देखिएछ। फेरि पारिवारिक इतिहास (heridity ) हेर्दा हजुरआमालाईपनि कडा किसिमको ‘अल्जाइमर बिर्सने रोग’ भएको रहेछ।
उसको केटा साथी थियो। उसै सॅंग बिबाह गरेको रहेछिन। खासमा, उसलाई पढाई सकेर,जागिर खाएर, पैसा बचाएर अरूअमेरिकनको सपना जस्तै, ‘सेतो गाउन’ लगाएर धुमधामसॅंग बिबाह गर्ने ठुलो रहर थियो। बेला बेलामा मलाई काममा थरीथरीको डिजाइनको गाउनको फोटो पनि देखाउने, अनि मेरो बिबाहमा तिमी पनि आउनु पर्छ, बोलाउॅंछु भन्ने। बिचरा, आमाको खुशीको लागि, सम्झना गर्न सक्ने शक्ति पुरै गुम्नु अगाडि र आमाले छोरीको बिबाह देख्न र सम्झन पाउन भनेर साधारण ‘कोर्टमा बिबाह’ गरेका रहेछन्। माफ गर ल ‘तिमीलाई बोलाइन’ पनि भनिन्। कफी पिएर, फेरी फेरी भेट्दै गरौला मेसेज गर्दै गरौं भनेर छुट्टियौं। बाटोभरी उसको बारेमा सोच्दै ॲाए,कस्तो नमज्जा लाग्यो। के सोच्यो के भईदिन्छ जिन्दगी ।
यो त मेरो साथीको आमाको बिर्सने रोगको कथा भयो। तर हेर्ने हो भने नेपालमा पनि धेरै बुढा बुढीहरूलाई यस्तै बुढेशकालमा बिर्सने रोग लागेको सुनिन्छ। कति सुचना पनि हुन्छ फोटो सहित, आफ्नो नाम, ठेगाना भन्न नसक्ने अन्दाजी ७५-८० बर्षको बृद्ध/ बृद्धा फेला, यो नंबरमा संम्पर्क गर्नु होला। त्यस्तै कति बुढाबुढी आफन्त भेट्न जाॅंदा धेरै बेर सम्म चिन्नुहुन्न। कोही भर्खर खाना खाएको हुन्छ, बिर्सेर मलाई खानै दिॅंदैनन्, भोकै राखे भन्ने सम्म सुनिन्छ। एकजनाको ८५ बर्षको बुबा घरको बार्दलीमा बसेर बाटो हिॅंडने केटी/ महिलाहरूलाई सिटी बजाउने रे। लाजैमर्दो, के भएछ भनेर डाक्टर जचाउॅंदा तउॅंहालाई अनौंठो खालको बिर्सने रोग लागेको रहेछ।अहिलेको कुरा केही नसम्झने तर उहिलेको कुरा सबै सम्झन सक्ने।शायद उॅंहाले आफु जवान भएको उमेर सम्झनु भयो होला।
सोच्दा खासमा के बुढेशकालमा मात्रै लाग्ने रहेछ त बिर्सने रोग ? अनि किन ? गुगल सर्च गरेर खोज्न थालें। मस्तिष्कको कोषहरू(सेलहरू) बिग्रेमा (ड्यामेज) बिर्सने रोग लाग्ने रहेछ। हाम्रो मस्तिष्कमा कोषहरू एकआपसमा जोडिएर रहेका हुन्छन्। जब कुनै कोषहरूमा खराबी आउॅंछ, त्यो मर्दै जान्छ र त्यसले सम्झने, सोच्ने आदी शक्तिमा कमि ल्याउॅंछ अनि बिर्सने रोग देखिन्छ। जसरी मुटुको रोग बिभिन्न थरीको हुन्छ, त्यस्तै बिर्सने रोग पनि बिभिन्न थरीको हुन्छ।’अल्जाइमर रोग’ पनि एक किसिमको बिर्सने रोग हो जुन ६५ बर्ष नाघेका बुढाबुढीलाई लाग्ने गर्छ।
बिभिन्न कारण जस्तै डिप्रेसन, ज्यादा रक्सी पिउने, औषधीहरूको साइड इफेक्ट, थाइरोइडको समस्या, भिटामिनको कमि, उच्च कोलोष्ट्रोल, टाउको वा मस्तिष्कमा चोटपटक, वंशानुगत वा पुस्तैनी (heredity ) र अल्जाइमर रोगको कारणले बिर्सने रोग हुन्छ। अरू किसिमको बिर्सने रोगलाई त उपचार गरेर कम वा निको पार्न सकिएला। तर ‘अल्जाइमर रोग’ लागेको छ भने निको हुन्न। त्यही हो बिभिन्न किसिमको मस्तिष्क लाई सक्रिय गराउने खेलहरू, पज्जल, मेमोरी गेम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा व्यस्त बनाएर रोगलाई छिटोछिटो नबढ्ने गराउन सकिन्छ।
अन्त्यमा, मानिसहरूलाई बिभिन्न बिमारी लागे जस्तै उमेर बढ्दै जाॅंदा ‘बिर्सने रोग’ लाग्न सक्छ। उनीहरूलाई आफुले के गरे/ गर्दैछु पत्तो हुॅंदैन। त्यसैले घृणाको भाव नराखी माया गरौं।
-शशी के.सी. – इनेप्लिज