विष्णु पगेनी सिग्देल,
खुसी मानिसको जीवनमा नभई नुहुने कुरा हो यो सबैलाई थाहा भएकै विषय हो । खुसी बिना मानिसको जीवन नीरस र अत्यास लाग्दो बन्दछ। वास्तवमा भन्ने हो भने खुसीले मानिसको जीवनमा उर्जा, उमङ्ग प्रदान गर्दछ र जीवन अगाडि बढाउन सहज बनाइदिन्छ। तर मानिसको जीवनमा खुसी त्यति सजिलो गरी आउला त? अथवा खुसी खोज्न जाने कहाँ त ? खुसी खोज्न हामी धेरै ठाउँ चाहार्ने गर्छौं। खुसीको प्राप्तिका निम्ति हामी निकै भौतारिन्छौँ पनि। कहिले काहीं मान्छे हजारौं मान्छेको भिडमा र आफन्तहरूको बीचमा पनि आफूलाई एक्लो महशुस गर्दछ। हो मान्छे मनोरञ्जन र संगीतले भरिभराउ ठाउँमा पनि रमाउन सकेको देखिदैन । अर्को शब्दमा भन्नु पर्दा त्यस्ता चीजले पनि उसलाई खुसी बनाउन सक्दैन। अझ कतिपय मान्छेहरू त जीवनमा संसारका सबै सुखहरू पाउँदा पनि खुसी हुन सक्दैनन । संसारका धेरै सुखी र धनाढ्य मान्छेहरूमा आज धेरै किसिमका मानसिक रोगहरू देखा परेको देखिन्छ। उनीहरूको मानसिक तनावको मुख्य कारण खुसी हुन नसक्नु अथवा नखोज्नु नै हो।
समाजमा हामीले देख्दै आइरहेका पनि छौं कि भौतिक सम्पन्नताले परिपूर्ण मान्छे वास्तवमै संसारको दुखी मान्छेहरूको वर्गमा पर्दछ। तर जो व्यक्ति भौतिक रूपमा सम्पन्न नभएर पनि थोरै कुरा पाउँदा पनि खुसी बन्न सक्छ, रमाउन सक्छ उसले आफ्नो जीवन आनन्दमा बिताउन सक्छ। हामीलाई लाग्ला त्यो त सबैलाई थाहा भएकै कुरो हो नि, त्यसोभए आखिर खुसी कसरी हुने त? मलाई लाग्छ खुसी बाजा बजाएर आउने चीज होइन । वास्तवमा जीवनको यथार्थ के रहेछ भन्ने मानिसले आफूले पाएको सानो सानो चीजहरूबाट नै मान्छेले खुसी खोज्न सक्नु पर्दो रहेछ। जीवनमा खुसी अपरिहार्य नै मानिन्छ। साच्चै भन्नुपर्दा हामीले खुसी खोज्न अन्त कतै जानु पनि पर्दैन। खुसी हाम्रो मनभित्रै छ हामी जँहा छौं हाम्रो मन पनि त्यही नै हुन्छ। केवल हामीले देख्नुमात्र पर्छ आफूभित्रको खुसी।
आजभोलि धेरै मान्छेहरूको मनलाई खुसी बनाउने गतिलो माध्यम बनेको छ टिकटक र टिकटकजस्ता अन्य मनोरञ्जनात्मक एपहरु। पन्ध्र सेकेन्ड देखि एक मिनेटसम्मका भिडियो बनाउन मिल्ने यो एप आज संसारका कयौं मान्छेहरूको दुख भुलाउने बाटो बनिदिएको छ। आज भोलि संसारका धेरै मान्छेले आफूमा अन्तर्निहित प्रतिभा देखाएका छन यसैको माध्यमबाट।
आजभोली मानिसहरुलाई आफूमा भएको क्षमता देखाउन कुनै निर्देशक, निर्माताको धाउन नपर्ने भएको छ। आफू संग भएको एउटा मोबाइल, इन्टरनेट भए पुग्ने भयो आजभोलि । सबै मान्छे भित्र आ आफ्नै किसिमको कलाकारिता लुकेको हुन्छ। टिकटक र यो जस्ता एपले अहिले त्यही कलाकारितालाई बाहिर ल्याइदिने काम गरिदिएको छ। आफ्नो कलाकारितालाई बिना रोक टोक, बिना भनसुन, चाप्लुसी र अवसर बिना नै मान्छेले पर्दामा शानदार प्रदशन गर्न पाएको छ आफ्नै मोबाइलबाट। मान्छेले खुसीसंग जीवन बाँच्नु पनि त उसको कला हो नि। केही कुरा पकाएर , फूलबारीमा फूल रोपेका भिडियोहरू देखाएर रमाएको छ। विभिन्न ठाउँमा घुम्न गएको राम्रा-राम्रा भिडियो देखाएर होस या करेसाबारीमा राम्रा तरकारी लगाएर आफ्नो पौरख अरुलाई देखाएर पनि आफू पनि खुशी भएको छ र अरुलाई पनि खुसी बनाएको छ । अझ अभिनय गरेर, रोएर, नाचेर, गाएर अथवा अरूको गीतमा लिप्सिंग गरेर जे जे गरेर भएपनि मान्छे खुसी भएको छ। आफूले नजाने पनि हेरेरै भए पनि ऊ रमाएको छ टिकटकमा ।
मैले अलि पहिला फेसबुकमा एउटा स्टाटस लेखेकी थिएँ। जो मान्छेले हाँस्न ,नाच्न जानेको हुन्छ उसैले बाँच्न पनि जानेको हुन्छ। कोरोनाको यो कहालीलाग्दो कहरमा टिकटक यस्तो माध्यम बनिदियो जहाँ मान्छे खुलेर हाँस्न सक्यो, नाच्न, बाँच्न सक्यो। जब मान्छे एक्लैबाट समूहमा जान्छ उसमा भएको एक्लोपन बिस्तारै हराउँदै जान्छ। टिकटकमा मान्छेले आफू जस्तै अरू मान्छे भेट्छ जो उ जस्तै रमाउन चाहन्छ। यसमा ऊ आफ्नो प्रतिभा देखाउन सक्छ बिना रोक टोक। जसका लागि ऊ कुनै सेलिब्रेटी भइरहनु पर्दैन। उसले त्यहाँ आफू जस्तै अरू दर्शकहरू पनि भेट्छ जो रमाउन चाहन्छ आफ्नो खुसीमा र अरूको खुसीमा पनि।
मान्छेले आज भोली घरै बसी बसी टिकटक बाटै कुखुराको बिर्यानी देखि खर्बुजोको बोक्राको अचार सम्म बनाउन जान्ने भएको छ । यहीँ बाट मान्छेले राम्रा-राम्रा सेल बनाउन जान्ने भएको छ । त्यति मात्र कहाँ हो र ? कहिल्यै नदेखेका मेसिन र चुलाको भाडाहरू कसरी चलाउने ज्ञान पनि यसैबाट पाएको छ मान्छेले। असारे पन्ध्रको हिलोमा खेत रोप्दै दहि चिउरा पनि खाएको हेरेर रमाएको छ। साउन पन्ध्रका खीर पनि देख्न पाएको छ । साउनका हरिया चुरा, मेहेन्दी सबै यसैबाट हेर्न पाएको छ। पाए सम्म र आफूलाई पुगे सम्मकाले आफै पकाए खाएका पनि छन्, चुरा पनि लगाए साडी पनि लगाएका पनि छन्, नपाउनेले हेरेरै भएपनि चित्त बुझाएका पनि देखिन्छ। आखिर जे गरेर भएपनि आफ्नो मन रमाउनु त हो नि ?
पोहोरको तीजमा माइत जान नपाएका चेलीहरू टिकटकको भिडियो बनाउनै लागि भए पनि भएपनि साडी लगाएर नाच्ने जाँगर चलाए। अर्काको भिडियो हेरेर, माइती गाउँका तस्वीर र भिडियो हेरेर कम्तिमा खुसी त भए चेलीहरू। अहिले त छन् कोरोनाले गर्दा कतै बाहिर जान नपाउने स्थिति छ। यस्तो कठिन समयमा धेरै दिदीबहिनीहरुले घरमै बसेर टिकटकमै नाचेरै भएपनि तीज मनाउलान। माइती जान नपाएको र साथी भाइ संग पनि भेट्न नपाएको दुखः लाई थोरै भएपनि विर्सेलान। पोहोर साल टिकटकमै दशैंका आशीर्वाद साटासाट भए। तिहारमा देउसी भैलो खेलिए। यो वर्ष पनि आफ्नो देश, माइत, घर जान नपाएका मानिसहरू टिकटक, लाइकी वा ट्रिलर जे प्रयोग गरेरै भएपनि रमाउलान र दसैं, तिहार मनाउलान। आहा कति रमाइलो घरभित्रैबाट संसार घुम्न पाइने, संसार देख्न पाइने।
हरेक मान्छेभित्र त्यो अथाह इच्छा, आकांक्षा र रहरहरू हुन्छ। जुन रहर उसले समाजको, घरपरिवार र इज्जतको डरले आफ्नो मनभित्र नै दरो गरेर बाहिर आउन नदिकनै दबाएर राखेको हुन्छ। कतिले त मौकै नपाएर पनि आफ्ना रहर दबाउन बाध्य हुन्छन् । मेरो विचारमा जो मान्छे नाच्न मन लाग्दा निस्फिक्री नाच्न सक्दैन, हाँस्न मन लाग्दा मन खोलेर हाँस्न सक्दैन र आफूले मन लागेको कुरो दिन खोलेर गर्न सक्दैन त्यो मान्छेले जीवनमा जति नै कुरा पाए पनि उ खुसी हुन सक्दैन। अहिले लाई टिकटकका भिडियो मान्छे दिल खोलेर नाच्ने साधन बनेको छ। उ आफ्नो मनको मालिक आफैँ बनेको छ अनि आफ्नै दुनियामा मस्त रमाइरहेको छ केटाकेटी जस्तै। मनका सारा पीर भुलेर रमाएको छ मान्छे आजभोलि टिकटकमा।
नेपालमा भाउजूले बनाएको टिकटक हेरेर साउदीका दाइले दिनभरिका दुख बिर्सिने भएका छन । साउदीका दाइले बनाएको भिडियो हेर्दै भाउजूले दिनभरिको थकान अलिकति भए पनि मेट्ने पाएकी छन् टिकटक बाट । अस्ट्रेलियामा भएकी छोरी तीजको गीतमा झम झम नाचेको भिडियो देखेर नेपालकी आमा थोरै भएपनि खुसीले मुस्कुराउने भएकी छन। अमेरिकाका छोरा बुहारी र नाति नातिनाको कमेडी भिडियो देखेर नेपालमा भएका बाबु आमामा अनुहारमा छुट्टै किसिमको आनन्द भेटिने भएको छ । क्यानडाकी साथीले बनाएको सी एन टावरको भिडियो देखेर जापानमा बस्ने साथीको मन पनि रमाएको छ। जापानकी साथीले विश्वकै दोस्रो अग्लो टावर चढन नपाए नि त्यही भिडियोकै माध्यमबाट आफू पनि सि . एन टावर चढेजस्तै महशुस गरेकी छ। वास्तवमा भन्ने हो भन्ने हो भने टिकटकले टाढा टाढा भएका आफन्त र साथीभाइ लाई एकअर्कोसंग नजिक्याइदिएको छ, अत्यास मेटाइदिएको छ।
सबै कुराहरूको गुण र बैगुन भएजस्तै टिकटक पनि सबै राम्रा राम्रा कुराहरूले मात्रै भरिएको छैन । यसका पनि थुप्रै अवगुणहरू पनि छन। केही राता रात भाइरल भएर प्रसिद्ध बन्न चाहाने मान्छेहरूको जमातले यसलाई पनि दुषित पार्न खोजेको पनि पाइन्छ । जसका कारण कतिपय मानिसहरू यसलाई राम्रो रूपमा लिन रुचाउदैनन। तर मलाई के लाग्छ भने खराब कुरा के मा छैन ? युट्युबमा, फेसबुकमा,इन्स्टामा, टुवीटरमा। देशकै राष्ट्रिय स्तरका टेलिभिजन, पत्र पत्रिकाहरूमा । खोज्दै जाने हो भने हामी सबै कुरामा खराबी भेट्न सक्छौं देख्न सक्छौं । तर खाटी कुरो भनेको के रहेछ भने खराब कुराहरूलाई हटाएर राम्रा कुराहरूलाई समाउन सक्नु पर्दो रहेछ। जुनसुकै कुरालाई पनि हेर्ने दृष्टिकोण राम्रो भयो भने सबैतिर राम्रो देखिदो रहेछ, आनी छोइङ्ग डोल्माको गीतजस्तै, फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।
टिकटक र टिकटक जस्ता एपहरू आज मान्छेहरूको तनाव बिसाउने शीतल छहारी बनिदिएको छ। ठूलो सपना नबोकेका, दुर्गम ठाउँका झुपडीका जीवन व्यतित गरिरहेका व्यक्तिहरू पनि नायक बनेका छन आफ्नो ठाउँका यही टिकटक मार्फत अरूका नभए नि नायक बनेका छन आफ्नो मनका उनीहरू । आजभोलि दिनभरिका कामबाट थकित बनेका डाक्टर, नर्स, साहित्यकार, लेखक, प्राध्यापक, इन्जिनियर जस्ता व्यक्तिहरूले पनि साथी बनाएका छन टिकटकलाई आफ्नो तनाव कम गर्न । मलाई लाग्छ अहिलेको विषम परिस्थितिमा टिकटक र टिकटकजस्ता एपहरू मानवीय जीवनका अपरिहार्य कुरा हुन ।
अहिले अमेरिकामा टिकटक बन्द गर्ने कुरा आइरहेको छ। भोलि टिकटक बन्द भएर जाला तर यति धेरै मान्छे रमाएको यस्ता माध्यमहरू पक्कै हराएर जाने छैन। अन्य नयाँ एपहरू लाइकी, ट्रिलरजस्ता अनेक टिकटक कै जस्ता ढांचा भएका एपहरू प्रयोग गरेरै भएपनि मानिसले रमाउन खुसी हुन छोड्ने छैन र छोड्नु पनि हुँदैन। अहिले भारतमा पनि टिकटक बन्द भइसकेको छ तर पनि त्यहाँका लाखौँ मानिसहरूले टिकटक जस्तै अरू एफरू प्रयोग गरेर रमाईरहेका छन। जीवनमा ठूलो सफलता हात लाग्ला र खुसी हुम्ला भनेर बस्नु भन्दा साना साना कुरामा पनि रमाउन सक्नु नै वास्तवमा जीवन जिउनुको अर्थ हो। साना कुरामा रमाउन सक्ने मान्छेले मात्रै वास्तविक जीवन जिउन जानेको हुन्छ।
विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका। – इनेप्लिज