पल्लवीले संगालेका प्रेमपत्रहरु : किन जाने मलेसिया ? म एक्लै बस्न सक्दिन तिमी बिना। कथा

Spread the love

शान्ता सापकोटा
प्रमोद निदाएपछि पल्ल्वी बिस्तारै उठ्छे र बिस्तार आफ्नो दराज खोल्छे र एउटा सानो झोला झिक्छे दराजको एक कुनाबाट । उसको यो कार्य दैनिकी जस्तै भइ सक्यो। झोलाबाट दिन दिन पल्टाउदा पल्टाउदै पुराना भइसकेको खामहरु झिक्छे र खामबाट बिस्तारै मिलनले लेखेको प्रेम पत्रहरु टेवलमा राख्न थाल्छे।

पालैपालो खोल्न थाल्छे। जब ऊ प्रेमपत्र पढ्न थाल्छे उ आफ्नो बाल्यकाल र आफ्नो जन्मभुमि, आफ्नो विगत तर्फ फर्कन्छे। पल्लवी र मिलन बाल्यकाल देखिका साथी थिए।

ऊ सम्झन थाल्छे। उनीहरू सानो हुँदा झुम्म्राका पुतली बनाएर तिनीहरू छोराछोरी आफू बाबाआमा बन्दै ढुङ्गाको भाँडामा माटो, पात बटुलेर खाना बनाइ खाएर भाँडा माझे झै गरि सुत्ने उठ्ने गर्दै खेलेको र तकियाको ढाकर बनाइ मिलन नुन बोकेर फर्किएको आफू घरमा मिलनलाई पर्खिएको अभिनय गर्दै खेलेको कुरा सम्झनछे। पछी संगै स्कुल पढ्न गएको पानी पर्दा रिठ्ठा खेला माथिको ओढारमा बसेको, रुख ढालेर खोला बाढी आउँदा हात समाउदै तरेको, रुमाल चोर झणडा चोर तानातान गर्दै खेलेको, स्कुलबाट फर्कदा बाटामा गहुँको बाला चुडेर पोलेर खाएको सबै दृश्यहरु आँखा अगाडि नाचेझैं हुन्छ पल्लवीलाई।

पल्लवी र मिलनलाइ आफू कहिले ठुला भयौं भन्ने थाहा भएन, बालसखीसङको माया कहिले प्रेममा बदलियो थाहै भएन । बिस्तारै उनीहरुमा जवानी चढ्दै गएको कुरा केवल व्यवहार परिवर्तनले देखाउन थाल्यो।

पल्लवी सम्झदै जान्छे- घाँस दाउरा, मेला पात जता जाँदा पनि लुकिलुकि मिलनसङ भएको भेटहरु,अनि मिलन गोठालोजाँदा निलो आकाशे रङको स्काफमा आफ्नो लागि पाकेको आँप टिपेर ल्याइदिएको दाँतले सिङ्गै टोकेर दुवै सङसङै आँप खाएको कुरा, मिलन आफ्नो प्रवाह नगरी हिंड्न् गाह्रो हुँदा पनि पल्लवीलाइ भेट्न रसिला आँखा, थरर कामेको शरीर निन्याउरो अनुहार ।

पालैपालो पत्र पल्टाउदै जान्छे सम्झनाका तरङ्गंमा् एसएलसी पास भएर आइए पढ्न एउटै कलेज गएको, कलेज पढ्दाका रमाइला क्षण, संगै जीवन बिताउन खाएका कसम सगै जिउने मर्ने बाचा, मदनमेला घुम्न जाँदा समयको ख्याल नभई घर फर्कदा राती भएर थाक्ले बेँसीमा याक्साको भाटो फुटाएर घर राँको बाली खोला तरी खानीको जङ्गल राँकोको उज्यालो र मिलनको हातको सारमा घर फर्किदा चौतारो माथिको दोबाटोमा पुग्दा राँको एक झिल्का बाँकी नरही झ्याप्पै निब्दा डराएर मिलनको छातिमा आफू टासिंन पुग्दा आँखा भरी भरिएको औंसीको रातमा पनि मिलनको छातिको धढ्कन स्पर्शले आफू रोमाञ्चित भएको सम्झमाले आज पनि पल्लवीका अङ्ग प्रत्यङ्ग रोमाञ्चित भएर आउँछन्। सम्झनामा बग्दै जान्छे।

आफुहरु आइए पास भएपछि एक दिन उसलाई मिलनले आफु मलेसिया जाने कुरा सुनाउँछ। पल्लवी छाँगाबाट खसे झैँ हुन्छे।

किन जाने मलेसिया ? म एक्लै बस्न सक्दिन तिमी बिना।

म पनि त तिमी बिना बस्न कहाँ सक्छु त ? तर हाम्रो सुन्दर भविष्यका लागि मलेसिया जाने निर्णय गरेँ। म दुई तीन वर्ष मलेसियामा बसेर केही पैसा कमाए भने अनि हामी बिबाह गरेर आफ्नो सुन्दर घर बसाउन सक्छौं। २/३ बर्षको कुरा हो। तिमी राम्ररी पढ्दै गर। अहिले बिहे गरि हाल्ने बेला पनि त भएको छैन । नेपालमा जागिर पाउन मुस्किल छ। केही बन्दोबस्त भए पछी बिहे गरौंला। म चिठी लेखी रहन्छु। चिठी लेख्दै गर्नु। म पर्सि जान्छु। म बिहान ६ बजे नै सल्लेरीमा तिमीलाई पर्खिने छु। मलाई बिदा गर्न आउँछ्यौ नी ?

तिमी छोरा मान्छे, म छोरी मान्छे बाबाआमाले बिबाहको कुरा गरे म के भन्ने ? छोराको भन्दा छोरीको बिबाह गर्न हतार गर्छन् बाबाआमा।

तिमीलाई त्यस्तै असजिलो परिस्थिति सृजना भए चिठी लेख्नु म आइ हाल्छुनी। हामीलाई संसारका कुनै शक्तिले अलग बनाउन सक्ने छैन।

मिलनको कुरामा विश्वास गर्छे पल्ल्वी र मिलन सल्लेरीमा भेट्ने बाचा गरेको सम्झन्छे।

सल्लेरीको चिसो हावामा मिलनले छातीमा टाउको अड्याइ आँसु बगाउँदै छिट्टै फर्क है मिलन म तिमीलाई पर्खी रहने छु भन्दा मिलनले आफ्नो कपाल पन्छाइ दिदैँ आँसु पुछी दिएर चाडैं फर्कने बाचा गरि बाटो लागेको दृश्य आँखा रसाएर आए तै पनि प्रेम पत्र पल्टाउने काम छोडेकी छैन पल्लवीले।

दिन बित्दै गए मिलनले चिठी लेखी रहन्थ्यो चिठी पढ्न पाउँदा मिलनसङगै भएको आभास हुन्थ्यो पल्लवीलाई। पल्लवी वीए पढ्दै थिइ। दुई बर्ष पछी मिलनले चिठी लेख्न छोडेको हुनाले छटपटाउन थाली आफ्नो वीएको पढाइ पनि सकियो। बाबाआमा बिबाहको कुरा गर्न थाले। पल्लवीले धेरै चिठी लेखी मिलनलाई तर मिलनले जवाफ फर्काएन।

पल्लवी डराउन थाली कतै मिलन अफ्ट्यारोमा त परेन। जति छटपटाए पनि केही उपाय थिएन।

एक दिन मिलनको चिठी आयो । पल्लवी धेरै खुसी भई। चिठी खोलेर पढ्न थाली चिठी पढ्दै गई पल्लवीको खुसी दुख र आँसुमा बदलियो। चिठीमा लेखिएको थियोे, पल्लवी मैले तिमीसित केवल मायाको नाटक गरेको थिएँ । हाम्रो माया र भेट केवल टाइम पास मात्र थियो। मैले बिबाह गरिसकेँ। तिमी बुबाआमाले रोजेर दिनु भएको केटासङ बिबाह गरेर जीवन सुन्दर बनाउनु। सायद तिमीलाई विश्वास नलाग्न सक्छ मैले यसमा हाम्रो फोटो पनि पठाएको छु।

पल्लवीलाई आफू समालिन मुस्किल भयो। चारै तिर अन्धकार भयो। जिन्दगीमा बाँच्नु अर्थ नरहे झैँ भयो फेरी सम्झिइ मिलनले मलाई बिर्सिएर नयाँ संसार बसाउन सक्छ भने म पनि नयाँ संसार बसाएर उसलाई देखाउन सक्छु। उसले बाबाआमाले चलाएको बिबाहको कुरालाई स्वीकार गरी।

पल्लवीको बिबाह धुमधामसंग भयो। पल्लवीको मनले नभएर चेतनाले गरेको बिबाह थियो। पल्लवी नयाँ घरमा प्रवेश गरि। प्रमोदसंगको सुहागरात मिलनका याद र प्रेमपत्र मात्र थिए। मिलनको बिहेको कुरा सम्झिदा पल्ल्वीलाई मिलन धोकेबाज झैं लाग्थ्यो। बाल्यकाल देखिका कुरा सम्झिन्थी। मिलनले आफुलाई साँच्चै माया गरेको त्यो माया बनावटी हुन नसक्ने जस्तो लाग्थ्यो। नसाभरी रगत सरि मिलन बगिरहेको हुन्थ्यो। ऊ प्रमोदको अनुहार मिलन खोजी रहेकी र देखि रहेकी हुन्थी। दिनहरु बित्तै गए बिबाह भएको बर्ष दिन भई सकेको थियो।

फेरि मिलनको चिठी आयो। ऊ झस्किई चिठी पढ्न थाली । पल्लवी भन्न मिल्छ या मिल्दैन मेरो नियत तिम्रो घर बिगार्ने होइन। तिमी काठमाडौंमा छौ भन्ने सुने। अब त तिमीले मलाई बिर्सियौ होला। तै पनि मलाई एकचोटि तिमीलाई भेट्न मन छ। म नेपाल फर्किदै छु। मिल्छ भने साथी सम्झिएर एक चोटी भेटन है। यदि भेट्न मिल्छ भने चिठी लेख। पल्लवीको मनमा रिस उठ्यो। फेरि सम्झिइ बालापन देखिको साथी हो। जति बिर्सिन्छु भने पनि मनभरी छ भेटौ कि ? फेरि सम्झिइ म बिबाहित महिला कसैकी श्रीमती कसैका घरकी मर्यादा र इज्जत बनी सकें। आँखाले देखिने भौतिक शरीरमा अब हाम्रो कुनै अधिकार छैन। आत्मामा कतै बाँकी भए पनि आत्मा देख्न सकिदैन त्यसैले पर पुरुषलाई भेट्ने अब मेरो स्वाभिमान र इज्जतले दिँदैन म मिलनलाई भेट्ने छैन। म जसरी पनि उसलाई बिर्सने छु। उसले मिलनलाई चिठी लेखिन।

दिन बित्तै गए पल्लवी जिम्मेवार श्रीमती र अनुशासित बुहारी बुहारी बन्ने कोसिस गर्दै जीवन बिताउन थाली तर उसको जीवन बिताउने साहार भने मिलनसंगका याद नै थिए। हर समय पल्लवीको मनले प्रमोदलाई मिलनसंग तुलना गरिरहेको हुन्थ्यो। यस्तैमा फेरि मिलनको चिठी आयो।

चिठीमा लेखिएको थियो, म तिमीलाई क भनेर सम्बोधन गरौं पल्लवी ? म फेरि मलेसिया फर्किएँ। एक चोटी तिमीलाई भेट्ने साह्रै मन लागेको थियो। आफुले सिन्दुर, चुरा र पोतेले सजाउन नसके पनि सिन्दुर, चुरा र पोतेले सजिदा तिमी कस्ती भयौ भनेर साह्रै हेर्न मन लागेको थियो। तिमीलाई बिबाह गरेर सुन्दर संसार सजाउने रहरले मलेसिया आएको थिए। पल्लवी मलाई के थाहा दैवले हाम्रो संसार बस्न नपाउँदै उजाड बनाइ दिन्छ भनेर। आज मैले दुईटै खुट्टा दुर्घटनामा परेर गुमाएको छु। ह्वीलचिएरको साहारामा काम गर्छु। अपाङ्ग भएर तिम्रो जिवनमा आउने कुरा मैले सोच्न सकिन, त्यसैले साथीसँग खिचेको फोटोलाई नक्कली श्रीमतीको साहारा बनाएँ। मलाई माफ गरि देऊ। म जीवन भर तिमीलाई त्यति नै माया गरि रहन्छु। मेरो तर्फबाट तिमीलाई यहि अन्तिम पत्र हो।

तिम्रो मिलन।

पल्लवीका प्रेमपत्र सिद्धए आँखाभरी आँसु अनि मनभरी मिलनलाई भरेर मानिसलाई नदेखिने मन दिएर कयौंको सम्बन्ध र घरबार बचाइ दिएकोमा ईश्वरलाई धन्यवाद दिदैं बत्ती झ्याप्प निभाएर सधैं झै प्रमोदको अंगालोमा हराइ पल्लवी।- इनेप्लिज