ए गीता बहिनी तिमीसित रह्यो यौटै गुनासो अब
कोठा बन्द गरेर झुन्डिन पुग्यौ बिर्सेर आफ्ना सब
छोडी देह यता कतातिर गयौ आत्मा कतै देख्दिनँ
आफ्नै सन्तति बिर्सने यदि भए आमा बनेकी किन ?
सानैमा टुहुरा भए नि बिचरा आमाबिना सन्तति
छोरीको मुख हेर्न आतुर बुबा आमा रुँदा हुन् कति
मैले मर्न हुँदैन यो किसिमले सोच्दै नसोचीकन
कस्तो मृत्यु म-यौ नि अल्प बयमै छोडी गयौ जीवन
पक्कै चोटहरू थिए हृदयमा पीडा त पक्कै थिए
तिम्रो सोच विचारमा दुख सबै आफ्नै कसैले दिए
मान्छेले दुख भोग्नुपर्छ सबले संसार यस्तै छ यो
ज्यानै फाल्न त हुन्नथ्यो नि यसरी यो भूल तिम्रो भयो
पीडा बाहिर खोल्न कत्ति नसकी भित्रै थिए बन्द कि ?
कल्ले दुःख दियो भनेर बदला आफ्नै लियौ जिन्दगी ?
नारीको दिलमा असाध्य गहिरा हुन्छन् अरे वेदना
खोल्ने ठाउँ कतै मिलेन कि सयौं गाँठो परेको मन !
तिम्रो भूल थियो र के लहडमा पासो लगाई म-यौ ?
आफ्नै प्राण लिएर आखिर यही गल्ती तिमीले ग-यौ ।
हेर्दा बाहिर ठीकठाक हँसिली हिस्सी परेकी थियौ
केही ठीक थिएन भित्र अनिनै संसारमा अल्पियौ ।
जो पीडा मनभित्र संचय गरी राखिन्छ धेरै दिन
गुम्सेका दुख दर्दले मनुजको सक्छन् परानै लिन
बेलैमा नबिसाउँदा दुख कतै झन् बोझ बढ्दै गयो
यो मेरो अनुमान सायद तिमीलाई त्यही नै भयो
तिम्रो भव्य कला गला कति मिठो भन्दै प्रसंशा गरी
सुन्थ्यौं सुन्दर गीत छन्द कविता ताली पिटी बेसरी
हे गीता अब जन्मिएर कहिले संसारमा आउली
त्यो आत्मा कुन हालमा छ अहिले लाग्ने यही खुल्दुली
देव भट्टराई हाल अमेरिका