डा रबिन्द्र पाण्डे,
हाम्रो देशमा पदकलाई निकै सस्तो र अलोकप्रिय बनाइयो | पदक भनेको थोरै व्यक्तिलाई दिनुपर्छ, जसले देश र जनताको लागि त्यो बर्ष उल्लेख्य काम गरेको होस् | पदक पाउने व्यक्तिको नाम सुन्दा नागरिकको मनमा श्रद्धा उत्पन्न होस् | कुन व्यक्तिले के कारणले पदक पाएको हो ? कारण आम नागरिकलाई थाहा होस् | त्यो पदक पाएपछि पदक पाउने व्यक्तिको बढुवा होस्, सामाजिक सम्मान होस् | यस्तो भयो भने पदक स्वयम् सम्मानित हुन्छ |
उदाहरणको लागि : मैले नर्दन युनिभर्सिटी बंगलादेशबाट जनस्वास्थ्य स्नातकोत्तरमा ४ जिपिएमा ३.९९ ल्याएर सर्वोत्कृष्ट भएँ | त्यहि कारणले मैले त्यहाँ भाइस चान्सलर गोल्ड मेडल पाएँ | उक्त युनिभर्सिटीले सर्वोत्कृष्ट अंक ल्याएको सिफारिस शिक्षा मन्त्रालयलाई गर्यो | शिक्षा मन्त्रालयले सबै जाँचबुझ गरेर नेपाल बिध्याभुषण पदकको लागि सिफारिस गर्यो | यी आधारमा शिक्षा मन्त्रालयले लिस्ट प्रकाशन गरेर उजुरी दिने समय दियो | त्यसपछि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हातबाट मैले उक्त पदक पाएँ | त्यो पदक मेरो रातदिनको अध्ययनको कारण मिलेको थियो | राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री …कसैले पनि त्यो पदकबाट बंचित गर्न मिल्दैनथ्यो | त्यति मात्र होइन उक्त पदक राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्रीको सिफारिसले अन्य व्यक्ति ( सर्वोत्कृष्ट अंक ल्याएको व्यक्ति बाहेक ) ले पाउने कुनै सम्भावना हुदैनथ्यो |
त्यो पदकले मेरो थप उच्च शिक्षा, छात्रवृति, विदेश भ्रमणको भिसा प्राप्ति, अन्तराष्ट्रिय सेमिनारमा छनोट लगायत धेरै ठाउँमा काम गरिरहेको छ |
त्यस्तै यहि योग्यताको कारणले Nepal health Professional Council ले Specialization registration गर्यो | अनि मात्र म जनस्वास्थ्यविदको रुपमा काम गर्न पाएको छु | चिकित्सा वा स्वास्थ्य क्षेत्रमा जुन बिषयमा Post Graduate गर्यो, उक्त व्यक्ति त्यहि बिषयको विज्ञ हुन्छ।
तसर्थ सरकारले एउटा क्षेत्रमा एकजना व्यक्तिलाई कारण खुलाएर निष्पक्ष ढंगले पदक वितरण गर्ने हो भने पदकको अर्थ हुन्छ | अन्यथा फोटो सेसनको लागि बाहेक यसको कुनै अर्थ छैन | पदकको नाममा खर्च हुने १० करोडले ५ लाख परिवारलाई मास्क तथा साबुन दिन सकिन्छ, यो महामारीमा |
( यसपटक डा. सन्दुक रुइतलगायत केहि राम्रा व्यक्तिले पदक पाउनुभएको छ )