शर्मिला खड्का दाहाल,
घरअगाडि ठूलो चौडा भएको धुलौटो बाटो । उत्तरतिर फर्केको ठूलो तीन तले घर । साँगुरी भन्ज्याङको चिसो हावा सिधै घरको आँगनमा ठोक्किन्थ्यो । विजयपुर डाँडा विजयको पंखा फिजाउँदै धरान बजारलाई हम्किरहेको झँै लाग्दथ्यो । ऐतिहासिक महत्त्व बोकेको विजयपुर डाँडा दन्तकाली मन्दिर, पिन्डेश्वरबाबा मन्दिर, बूढासुब्बा मन्दिर र पञ्चकन्या मन्दिरलाई धरानको शिरमा राखेर सुशोभित थियो । यही डाँडाले सर्दु र सेउती दुई खोलालाई धरानबजारलाई साक्षी राखेर कहिल्यै भेट नहुने गरी दुईतिर छुटयाएको थियो ।
म बालखैदेखि कलामा रमाउँथे । फूलहरूको सौन्दर्यमा हराउँथेँ । प्रकृतिको अनुपम उपहारको रहस्यमा डुविरहन्थेँ । मेरो यो रुची भित्री हदयबाट स्वतस्फूर्त रूपले उम्रेको जंगली च्याउजस्तै थियो । यसमा न त कसैको दवाव थियो न त कसैको प्रभाव । घरको वातावरणबाट प्रेरित भएको भन्ने हो भने यो शतप्रतिशत गलत थियो । कसैको प्रेरणादायी व्यक्तित्वबाट भएको भन्ने हो भने कुनै प्रमाण थिएन । जे थियो आफ्नै अन्तरआत्मादेखि प्रस्फुटन भएको थियो । गाउँमा कसले राम्रो हाते रुमाल वा टेबलपोस बुनेको देख्नै नहुने । देखेकी त्यसलाई बाजलेझँै झम्टेर त्यो कलालाई आफ्नो कलामा उतारी हाल्दथे । आमाले दुनाटपरा बुनेको देख्नै नहुने । आमाले बाती काटेको, सेलरोटी पोलेको, अनारस पकाएको देख्नै नहुने । मेरो अगाडि कसैले केही गर्नै नहुने । एकप्रकारले आतंककारी शैलीमा त्यसकलालाई अपहरण गरेर म ठीक त्यही कलामा उतारी दिइ हाल्थेँ । यस्ता कुरामा हातले बुनेका घरको सजावटका कुरादेखि खानेकुरा पकाउने तरीका र बुनेका स्वीटरहरू पर्दथे ।
मैले जे कुराको नि सिको गरिहाल्ने र त्यसलाई हुबहु उतार्ने कला देखेर सबैजना छक्क पर्दथे । आमा भन्नुहुन्थ्यो, ‘जे कुरा नि टिपीहाल्छस् । साहै दुखिया हुने भइस् ।’
साँच्चै, मैले कलालाई होइन दुःखलाई उतारेकी रहिछु । त्यही दुःखलाई बोकेर हिँडनुपर्ने मेरो जीवनको नियति रहेछ । यही दःुख नै मेरो जीवनको अति आनन्द दिने रहस्य बन्यो प्रकृृतिको रहस्यजस्तै । त्यही दुःखमा म कला रोप्छु अनि खुसी उमार्छु । ती उम्रेका खुसीलाई म सोध्ने गर्छु, ‘मान्छेलाई जीवनमा चाहिने कुरा के हो ?’
ऊ मलाई भन्छ, ‘आनन्द ! !’
आनन्द ! ! आनन्द ! ! आनन्द ! ! कति प्रिय लाग्छ यो शब्द । कति शीतल महसुस हुन्छ यो शब्दमा । साँच्चै हामी सबैले खोज्ने भनेको आनन्द नै रहेछ । हामीलाई थाहा छ गर्भवती हुन र सन्तान जन्माउन कति कठीन छ भनेर तर हामी सन्तान प्राप्तिको आनन्दमा सारा दुःख बिर्सन्छौ । अनि दुःखलाई खोजीखोजी ल्याएर आफ्नो जीवनमा कला बनाएर रोप्छौँ, खुसी उमार्न । साँच्चै त्यो खुसीको कुनै सीमा नै हुँदैन । त्यसैले हामी जति धेरै दुःख रोप्न सक्छौ त्यति नै धेरै आनन्द उर्मान सक्दा रहछौ ।
अरूको दुःखलाई कलामा उतार्ने र खुसी उमार्ने मेरो बाल्यकालीन कला यहाँ वयस्क बनेर फुलेको छ । त्यो अरूको दुःख आफ्नो कलामा उतारेर उमारेको आनन्द आज मेरो सस्मरणरूपी क्यानभासमा उतार्न गइरहेकी छु । यो कुरा धेरैअघिको हो ।
बाल्यकालीन त्यो कला मैले मेरो जीवनको क्यानभासममा कसरी उतारेकी थिए भनेर स्पष्ट सम्झना त छैन तर यो कुरालाई मेरी आमाको मुखबाट सुनेपछि मलाई निकै आनन्द लाग्यो । त्यो बेला एउटी दुखी आमाको वेदना वा दुःखलाई मैले आफूमा नक्कल गरेर त्यसलाई कलामा यसरी उतारेकी रहिछु ।
म त्यो बेला त्यस्तै आठ वा नौ कक्षामा पढ्दै थिए । हाम्रो घरको अलिक तल बाँझगरामा भन्ने ठाउँ थियो । त्यहाँ एकजना बाहुनीदिदी भन्ने महिला बस्नुहुन्थ्यो । मेरो बुवाले उहाँलाई दिदी मान्नुभएको थियो । उहाँ त्यस्तै चालीस वा पैतालीस बर्षको हुनुहुन्थ्यो । उहाँको एकजना छोरा हुनुहुन्थ्यो । छोराको विवाह भैसकेको थियो । छोराले आफ्नो श्रीमती आमासँगै छोडेर सरकारी जागीरमा पूर्वीपहाड जानुभएको रहेछ । एकदिन बाहुनीदिदी दिउँसोको समय हाम्रो घरमा आउनुभयो । त्यो बेला संयोगले मेरो बुवा पनि घरमा नै हुनुहुन्थ्यो । उहाँको घरमा बुहारीसँग खटपट परेको रहेछ । छोरा घरदेखि धेरै टाढा कसलाई यो कुरा भन्ने भनेर उहाँ मेरो बुवाआमासँग मनको पीर पोख्न आउनुभएको रहेछ । उहाँले रुँदै आफूलाई झाडापखाला हुँदा बुहारीले पानीसम्म पिउन नदिएको बेथा सुनाउनुभयो । हामी सबैले यो सुनिरह्यौ । गर्भमा हुँदा नै श्रीमान बितेको अनि छोरालाई अनेकौ दुःख र हन्डर खाइ हुर्काउनुभएको थियो । अहिले छोरा हाकिम भएर सरकारी जागिर खाने भइसकेको थियो । तर बुहारीले आफूप्रति गरेको व्यवहारले उहाँ अत्यन्तै पीडित हुनुहुन्थ्यो ।
उहाँले भन्नुभयो, ‘भाइ कसरी मेरो छोरा सामु यो कुरा पु¥याउनु ? आफूलाई लेख्न पढ्न पनि आउँदैन । जसरी हुन्छ मेरो छोरालार्ई डाकी देऊ ।’
त्यो बेला अहिलेकोजस्तो फोन, मोबाइल थिएन । चिट्ठीपत्र पठाउने चलन थियो । अत्यन्त अर्जेन्ट हुँदा थोरै शब्दमा तार पठाउने चलन थियो । घरमा लेखपढ गर्ने दाजुहरू कोही हुनुहुन्थेन ।
आमाले भन्नुभयो, ‘यो शर्मिला छे यसले लेखिदिन्छे नि बाहुनीदिदीको छोरालाई चिट्ठी ।’
बुवाले भन्नुभयो, ‘लौ लेख्लेख् छोरी चिठी, अहिले बाहुनीदिदीले भनेका कुरा त सुनिस् होला नि । यस्तोयस्तो हालखवर छ छिटै आउनु भन्नु ल लेखि हाल् ।’
बुवाले यति भन्नुभएपछि म कलम लिएर लेख्न बसेँ । कस्तो लेखे, के लेखे, थाहा भएन । तर सबै कुरा सन्दर्भ मिलाएर लेखँेजस्तो लाग्छ । लेखिसकेपछि मैले पढेर सुनाउनु पर्दथ्यो । अनि पढेर पनि सुनाएँ । त्यतिखेर केटाकेटी नै थिएँ । सबै कुरा त मैले ख्याल गरिन् । मैले यो कुरा बिर्सिसकेको रहेछु ।
धेरैसमयपछि भनौँ म तरुनी भएपछि आमाले भन्नुभयो, ‘यसले त्यो बाहुनीदिदीको छोरालाई लेखेको चिट्ठी पढ्दा बाहुनी दिदी थोरै रुनु भएन । कस्तो भाका प¥ुयाएर लेखेकी ! त्यो चिठी पुग्नुबित्तिकै छोरा आमालाई लिन आइपुग्यो रे । कस्तो आमालाई काध हालेर रोयो रे । कसरी लेखेकी थिई ?”
लेख्न त केके लेखे मलाई नि थाहा थिएन ।
मैले अरूको दुखलाई आफूभित्र कसरी कला बनाएर उमार्न सक्ने रहेछु । साँच्चै मैले ती विधवा आमाको वेदनालाई यति सानै उमेरमा कसरी कलामा उतारेर खुसी उमार्न सके अहिले मलाई अचम्म लाग्छ । त्यो कलाले त्यो बेला कति आनन्द दिया होला ती दुखी आमालाई । मेरो कलाले ती आमालाई न्याय दिन सकेकोमा म पनि कति आनन्दित भए हुलाँ त्यो बेला । म अहिले पनि आनन्दित हुने गछु त्यो कुराले । त्यो कला मेरो जीवनमा बीज बनेर गाडियो अनि साहित्यिक वृक्ष बनेर हुर्कदै गयो । मलाई अहिले यस्तै लाग्छ र आफैभित्र आनन्दमा हराउन मन लाग्छ – सारा दुःखका कला आफूभित्र उमारेर ।
समाप्त