रवीन्द्र समीर,
बिर्खबहादुर सानो रेडियोको आवाज सुन्दै उ सहर गएको थियो | घरमा लटरम्म फलेका लौका बेचेर दशैं मनाउने उसको योजना थियो | रेडियोले फुकिरहेको थियो – कोरोना महामारीबाट बच्नको लागि नाक तथा मुख छोपिने गरि अनिबार्य रुपमा मास्क लगाउनुहोला, ६ फिटको दुरी कायम गर्नुहोला तथा हात धोइरहनु होला | उसले यो नारा सुन्न थालेको ६ महिना भएको थियो | उसलाई यो सुन्न झ्याउ लागिसकेको थियो | तर कोरोनाले मर्नुभन्दा रेडियोले भनेको मान्नु बेश ठानेर उ आज्ञाकारी भएको थियो |
सहर पुग्यो | हाफ प्लेट भात खान होटेलभित्र पस्यो | टेलिभिजनमा ठूला नेताहरुले चिउडोमुनी मास्क लगाएर अन्तर्वार्ता दिइरहेका थिए | उसले पल्याक पुलुक हेर्यो अनि नाक, मुख छोपेको मास्कलाई चिउड़ोमुनी लगायो |
खाना खाएपछि उ लौका बेच्न बजारमा पुग्यो | छेउंको चियापसलमा टेलिभिजन चलिरहेको थियो | उसले नाम सुनेका तथा फिलिममा देखेका कलाकारको अन्तर्वार्ता देख्यो | उनीहरुले मास्क लगाएका थिएनन् | उसले चिउडोमुनी लगाएको मास्क झिकेर खल्तीमा राख्यो |
लौका बेचेर सकेपछि उ खाजा पसलभित्र पस्यो | घरमा टेलिभिजन थिएन | उसको ध्यान टेलिभिजनमा गयो | एकजना नेताले सामाजिक दुरी कायम गर्नुपर्छ भन्दै भाषण गरिरहेका थिए | त्यहाँ सयौं क्यामेरा बोकेका मान्छेहरु बारुलाको गोलोमा जस्तै तछाडमछाड गर्दै भीडभाड गरिरहेका थिए |
मान्छेसंग तर्किएर हिंडेको उ खाजा खाएपछि बजारको भीडमा मिसियो |