राजाको नाच जनताको आश राजसंस्थाको बढ्दो लोकप्रियता:
बाबा राजेश्वरी थापा भियना, अस्ट्रीया :
प्रज्ञा सिस्नुपानी नेपालले देउसी गाएको महिना पनि बित्न नपाउदा पुर्व राजा, जनता त्यो पनि अधिकांश युवा जमातको सहभागिता रहेको भतेरमा राष्ट्रीय गीतमा छमछमी नाचिदिनुभयो, यति मात्र नभएर युवापुस्ताको लोकप्रिय सेल्फी समेत खिचीदिनुभयो।
राजपरिवारका अन्य सदस्यहरुको नाच पनि उत्तिकै लोकप्रिय बन्यो जति स्वछन्द जीवन बिताउन चाहने राजपुत्र पारसको व्यक्तिगत जीवनलाई उदाग्याएर अनलाइन पत्रिकाको मार्फत पैसा असुल्ने मेसो पीत पत्रकारहरुले गरेका थिए। पुर्व वा भुपुलाई ससम्मान आत्मसात् गरेका नागरिकलाई उसको व्यक्तिगत जीवन जिउने अधिकार खोस्नेहरुले आफुलाई लोकतान्त्रिक भन्दा अली नसुहाउदो रहेछ।
राजतन्त्रको त्याग: गोधुलीको मिर्मिरेमा चारा खोज्न हिड्ने पंछीहरु साँझ परेपछि आफ्नो गुणमा फर्किन्छन तर राष्ट्रपति बन्ने लालसा बोकेका कांग्रेसी नेता गिरिजाप्रसाद कोइराला र उनका आसेपासेहरुको चंगुलमा परेर रातको समय २४० वर्षे इतिहासलाई विछोडात्मक कथा जस्तै बनाएर आफ्नी रानी कोमललाई साथमा लिएर राजा ज्ञानेन्द्र दरबार छोडेर हिडेको दृश्य टेलिभिजनमा वा काठमाण्डौमा प्रत्यक्ष हेर्ने थुप्रैले ताली बजाएर खुचिगं भनेका थिए तर अहिले सानो संख्यामा रहेको राजपरिवार घांडो मानेका नागरिक समाज, बुद्धिजीवी, व्यापारी, कलाकार र पत्रकारहरु आज झण्डै लाखौको संख्यामा रहेको मिनी राजपरिवार र आठपहरियाहरुलाई काधमा बोक्न तयार छन।
हिजोको बाईबाई आजको हाईहाई: हुन त लाखौको संख्यामा रहेको हालको मिनी राजपरिवारको बोझ थेग्न नसकेर, “राजा आऊ, देश बचाऊ” भनेर नारा लगाउने पनि तिनै हुन जो हिजो, “ज्ञाने चोर देश छोड”, भन्दै पुतलीसडकका बार भांच्दै, दरबारमार्गमा ढुंगा हान्दै हिडेका थिए वा राजालाई गुमराहमा राखेर देश भाडेर बसेका थिए।
राजा छमछमी नाच्दा यो देशलाई त राजै चाहिने रहेछ भन्नेहरुले कुनै बेला प्रचण्ड रेखा थापासंग कुम जोड्दा वा ऋषि धमलासंग उफ्रिदा थप्पडी मारेका थिए।
शायद सत्तरी काटेका तराईवासी र विकट जिल्लावासीलाई फकाईफुलाई सोध्ने हो भने प्रस्टरुपमा भन्ने छन, कुनै बेला राजा सबैका साझा थिए भन्ने कुरा । दरबारको सुखसयल छोडेर हरेक वर्ष राजारानी जिल्ला भ्रमणमा निस्किने कुरा धेरैले भुलीसकेकाछन। नेपालमा सात सालको प्रजातन्त्रको बहाली भएपछि र खुकुरी( तत्कालीन कांग्रेस) दलको आंतक बढेपछि जनताको राय, सल्लाह र सुझाव बटुल्न तत्कालीन युवराज महेन्द्रले कहिले माग्नेको भेषमा त कहिले जोगीको भेषमा जिल्लाजिल्ला भ्रमण गरी पंचायती व्यवस्था लागु गरेको कुरा पक्कै असत्य होइन। त्यो बेलाको गाली “तेरो घरमा कांग्रेस पसोस्” भन्ने वाक्यले पनि पंचायती व्यवस्थाको बहाली भएको अनुमान लगाउन गाह्रो नपर्ला।
कुटनैतिक भेटघाटमा सधै कालो चस्मामा प्रस्तुत हुने र कसैलाई पनि आफुसंग आंखा जुधाउन नदिएर आफ्नो कुटनैतिक सम्बन्धलाई सधै दरिलो र बलियो बनाउने दुरदर्शी राजा महेन्द्रलाई जति ओझेलमा पार्न खोजेपनि पंचायती व्यवस्थाको मुलभुत पक्कै देशद्रोही थिएन, राजतन्त्र र व्यवस्थालाई बदमान गराउने त भारतमा शिक्षादिक्षा हासिल गरेकाहरु नै थिए किनकी उनीहरुको इच्छा सत्ता आफ्नो हातमा ल्याउने र प्रधानमंत्री अनि मन्त्री बन्ने उद्देश्य थियो। पंचायती व्यवस्था फ्याकेर त्यो सपना त पुरा भयो तर लोभले लाभ, लाभले विलाप भने झै फेरि रहर राजा(राष्ट्राध्यक्ष) बन्ने लाग्यो, त्यसैको उपज हो वर्तमान अवस्था।
पुर्व राजा ज्ञानेन्द्र भाग्यले ठगेका राजा हुनुहुन्छ, एकपटक बुबाभन्दा पहिला बागडोर समात्नुभएको र दाजु वीरेन्द्रको वंश सखाप भएपछि दोस्रो पटक बागडोर सम्हाल्नुभएको तर रक्तपातलाई रोक्दै र भावी पुस्ताको नजरमा सम्मान कमाउन चटक्कै गद्दी छोडीदिनु भएको त्यागी राजा हुनुहुन्छ। राजाको जनतामैत्री गतिविधिले स्वदेशी र विदेशी धेरैको रक्तचाप बढ्यो होला तर सामान्य नागरिकको हैसियतले जिउन अधिकार उहालाई पनि छ। श्री ५ को हैसियतले राजा ज्ञानेन्द्रको अन्तिम पत्रकार सम्मेलनमा उहांलाई “ज्ञानेन्द्र शाह” जी भनेर सम्बोधन गर्न आतुर कलमजिवी महानुभावहरुलाई यो कुराको पनि हेक्का राम्रोसंग होला श्रीमानको मृत्युपछि श्रीमतीले चुनावको टिकट पाउने संस्कार वा देश सर्वोच्च पदमा बस्ने संस्कार, आफ्नो झोला बोक्न नसक्ने संस्कार कुन राजनैतिक दर्शन हो?
अन्त्यमा: पुर्व राजा ज्ञानेन्द्रको यो जनमैत्री व्यवहार र त्यहां देखिएको वातावरणले नेपाल एक सुरक्षित देश हो। यहाँ कुनै पनि अति महत्वपूर्ण व्यक्ति (भिआईपी) ले सुरक्षाको बथान बोकेर हिड्नुपर्दैन भन्ने संदेश दियो होला। भिआईपीलाई सुरक्षाको डर जनताबाट होइन आफैले पालेको राजनैतिककर्मी सभामुख, सांसद र माननीयहरुबाट छ। अलिकति माथि पुग्ने बितिक्कै सर्वसाधारणहरुबाट टाढा बस्न खोज्ने, इमेलको जवाफ नदिने, टेलिफोन सम्पर्कमा नआउने, सचिवालय खोलेर स्वकीय सचिव राखेर सामाजिक संजालमा सामाजिक तर व्यक्तिगत जीवनमा असामाजिक बन्ने व्यक्तित्वहरुलाई पनि राजाको यो नृत्यले पाठ सिकाओस् ।
अल्लाहअकबर तेरो नाम
सबलाई सदबुद्दी दे भगवान ।।
– इनेप्लिज