प्रेस विज्ञप्ति : आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न आग्रह गर्दै ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन

Spread the love

आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै २५ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौ र ललितपुरस्थित ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन भएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा २०७७ मंसिर २५ गते मध्यान्ह् १२ बजेदेखि आधा घण्टा काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दुतावास ललितपुर अगाडि एकसाथ प्रदर्शन भएको हो ।

धर्नामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन, कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउँने? आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन्, हामी आणविक अस्त्ररहित विश्व चाहन्छौ लेखिएका ब्यानरहरु प्रदर्शन गरिएको थियो । यसैगरी सहभागिहरुले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरि अरबौको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरुलाई आग्रह गरेका थिए भने युद्ध निषेध ः शान्ति विशेष, युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ, युद्ध रोक शान्तिलाई बढावा देउ, लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

प्रदर्शन पश्चातः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्व सहमतिको राष्ट्रसंघीय आणविक अस्त्र निषेध सन्धिलाई शिघ्र हस्ताक्षर÷अनुमोदन गर्न र आणविक अस्त्रको पूर्ण उन्मुलनका लागि योगदान गर्न आग्रहसहित शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र उपरोक्त दुतावासका वरिष्ठ अधिकारीहरुलाई शान्ति समाजका प्रतिनिधिहरुले हस्तान्तरण गरेका थिए भने चीनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रेन्च राष्ट्रपति इम्मान्युएल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको ज्ञापनपत्र सम्बन्धित दुतावासका अधिकारीहरुले हुलाक इमेलबाट पठाउन भनेको हुँदा सोही अनुरुप पठाइएको छ ।

अमेरिकी दुतावास अगाडिको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सदस्य गीता तिमल्सिना, सदस्य उमा गौतम, मायाँ भट्टराई, दुर्गा राना, चीनियाँ दुतावास अगाडि सभापति उत्तम पुडासैनी, शान्ति समाज काभ्रे शाखा सभापति सुमित्रा बञ्जारा, उपसभापति हेमा मानन्धर, रुसी दुतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय विभागीय संयोजक विष्णु भुषाल, सदस्य कमला घिमिरे, ब्रिटिस दुतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव रत्नलक्ष्मी श्रेष्ठ, केन्द्रीय सदस्य नम्रता खरेल, फ्रेन्च दुतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, प्रकृति, इजरायली दुतावास अगाडि संस्थापक महासचिव सुवास ढकाल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य सरस्वती ढकाल, पाकिस्तानी दुतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, काठमाण्डौ शाखा सचिव ईश्वर पुडासैनी, संस्कृति हुमागाई, भारतीय दुतावास अगाडि काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, शान्ति समाजका पूर्व महासचिव कुमारराज सुवेदी, सदस्य ईश्वरा लिङ्देन र उत्तर कोरियाली दुतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, सन्जोग चाम्लिङ राई, विनु अधिकारीसहित ४ सय भन्दा बढी शान्तिवादीहरुको सहभागिता थियो ।

यसैगरी देशका ३१ जिल्लामा ७२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन यहि अभियान अन्तर्गत ३२ वटा प्रदर्शन भएको छ ।

पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ । यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ । यो सन्धि आणविक अस्त्रको उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ । ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो सन्धिमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म हस्ताक्षर÷अनुमोदन गरेका छैनन् र यो सन्धि अनुमोदनका लागि अनिच्छुक देखिन्छन् ।

समाजका तर्फबाट, सरिता पौडेल
कार्यक्रम अधिकृत, मानव अधिकार तथा शान्ति समाज
मिति : २०७७ मंसिर २५, मानव अधिकार तथा शान्ति समाजबारेः

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज[ Human Rights and Peace Society Nepal] एक स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी [Founder Chair Krishna Pahadi] हुनुहुन्छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको (समय आन्दोलन) मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।