शशी के. सी
म आफु हिन्दु परिवारमा जन्मेको, जे जति धर्मकर्म अहिलेसम्म गरें, सबै देखेरै गरें। सानो छॅंदा प्रत्येक बिहान, बेलुका आमा, हजुरआमाहरूले पूजाकोठामा पूजा गरेको देख्थें। उंहाहरूलाई चोखो पानी, चोखो फूलहरू र पूजाको भांडा माझि दिएर सघाउॅंथ्यें पनि। पूजा सकिए पछि टिका र प्रसाद खान मज्जा आउॅंथ्यो। प्राय: सबैको घरमा महिला सदस्यले नै पूजा गर्थे।घरमा गुरू आएर ठुलो पूजा लगाएको बेला मात्र हो घरको पुरूष बुबा, हजुरबुबाले पूजा गरेको देखेको।
त्यस्तै फेरी बर्षभरी आमा थरीथरीका ब्रत बस्नु हुन्थ्यो। प्रत्येक महिनाको पहिलो दिनको ब्रत, एकादशी, पूर्णिमा, साउनको सोमबार, माघको मंगलबार, पुषको आइतबार, साईबाबाको बिहिबार, संतोषी माताको शुक्रबार, तिज, पंचमी, दशैंको अष्टमी, लक्ष्मी पूजा, छठ, रूद्री, सत्यनारायणको पूजा, श्राद्ध आदी।
अझ ब्रत अनुसार पूजा, प्रसाद र चोखो फलाहर बेग्लाबेग्लै हुन्थ्यो। एकादशीमा चामल नखाने, रोटी खाने। फेरी पूर्णिमामा रोटी नखाने, एकछाक चामलको भात। प्रसाद पनि चामलको पुवा चढाउने। अहिले यसो सोच्दा पूर्णिमामा पूर्ण चन्द्रमाकोपूजा गर्ने हुनाले गोलो रोटी नचढाएको र नखाएको होला।
ब्रत पनि आफ्नो लागि भन्दा पनि अरूको लागि बसेको हुन्थ्यो। कडा ब्रत तिजको हुने, जुन ब्रतमा उॅंहाहरू पानी पनि नपिई २४ घण्टा बस्ने। त्यो चाहीं श्रीमानको दीर्घायु र सुस्वास्थको लागि भन्नु हुन्थ्यो। सन्तानको लागि पुषको आइतबार, मंगलबार, घरको सुख शान्तिको लागि सत्यनारायण,रूद्री पूजा आदी।
फेरी चाडपर्वमा उॅंहाहरू नै असाध्यै व्यस्त रहने। मन्दिर जाने देखि लिएर, घरमा चोखो पकाउने, खुवाउने सबै उॅंहाहरूको नै जिम्मा हुन्थ्यो।
तर यसरी पूजाआजा र घर धान्ने आमा, प्रत्येक महिना ४-५ दिन ‘म नछुने भा छु। मैले पूजा गर्न हुन्न’ भनेर हामी केटाकेटीहरूलाई पूजा गर्न लगाउनु हुन्थ्यो।पूजा मात्र हैन, भान्छामा नपकाउने, अलग्ग बस्ने, केही सामान अलग्ग दिन लगाउने। किन त्यसो भनेको होला भनेर सानोमा कहिल्यै सोधिएन। बेलुका आरति गर्न त रमाइलो लाग्थ्यो । तर बिहानको पूजा गर्न जाडो महिनामा त अल्छि पनि लाग्थ्यो। पूजा उहांहरूले पहिले गरेको देखेको आधारमा गर्थें। दियो बाल्यो, सबै फोटो, मूर्तिमा पानी चढायो, अनि पहेंलो केशरी, अबिर, तिलजौ, फलफूल चढायो र आरति गरेर, ढोगेर, आफू टिकालगाएर पूजा सक्थें।
अलिक ठूलो भएर महिनावारी भएपछि अरू कुनै ब्रत नबसे पनि पंचमीको ब्रत चाहीं बस्न लगाउनु हुन्थ्यो। यो पंचमीको ब्रत एउटा चाहीं महिलाहरूले आफ्नो लागि लिने रहेछन्। त्यो पनि महिनावारी हुंदा यताउता छोएर पाप गरेको हुनाले आफ्नो पाप पखाल्नको लागि। ल हेर, गज्जब हैन त ! एक त महिनावारीमा रगत जाने, पेट दुख्ने, अफ्ठ्यारो महसुस हुने, मुड बिग्रेर त्यसै रिस उठ्ने, सबै कष्ट भोग्नु त छॅंदैछ। त्यस माथि उल्टै पाप रे ! अनि पाप पनि पूजा गरेर पखाल्नु पर्ने।
हो हाम्रो पुस्ताले त जसो तसो रहर, कर र पाप लाग्ने डरले पनि केही प्रतिकार नगरि खुरूखुरू पुराना संस्कार, रितिरिवाज, धर्मकर्म मान्यौं र मान्दै पनि छौं। आमाहरूले जस्तै धेरै ब्रत नबसे पनि वा उॅंहाहरूले जस्तो कडा किसिमले नगरेपनि, बिबाहित महिला धेरैले तिजको ब्रत बस्छन्। नेपालमा प्रख्यात नाम चलेका कति महिलाहरू ब्रत त खासमा श्रीमानको लागि नै बसेका हुन्छन्। तर अन्तरवार्तातिर आफ्नै स्वास्थ्यको लागि एकदिन खाली पेट बसेको भनेर झुट बोल्छन्। अब स्वस्थ्य रहन, तिज कै दिन किन भोको बस्नु पर्छ र ? अरू दिन बसेपनि भ ईहाल्छ नी। तर उनीहरूको पनि बाध्यता छ। एकातिर आधुनिक छु भनेर देखाउनु छ। अर्कोतिर घर र समाज छ। फेरी ब्रत नबस्दा श्रीमानलाई केही होला की भन्ने डरपनि। माया पनि लाग्ने भो।
तर अहिले सबैलाई समस्या छ। हामी पछिका पुस्तालाई सबै कुरा कसरी गर्न लगाउने? उनीहरू त कुन धार्मिक ग्रन्थमा महिनावारीमा के गर्न हुने/ नहुने लेखेको छ देखाउनु भन्छन्। हुन पनि हाम्रा धार्मिक ग्रन्थमा झुठो बोल्न हुन्न, अरूलाई ठग्न हुन्न, चोर्न हुन्न, ठूलाबडालाई आदर, सानालाई माया गर्नु पर्छ, आदी लेखेको छ। तर कतै पनि महिलाहरूको महिनाबारीको उल्लेख छैन।
हाम्रो देश नेपाल नै एउटा यस्तो देश हो जॅंहा चाडबाडमा कन्या पुज्ने, कुमारीको पूजा गर्ने, पंच कन्या पुज्ने गरिन्छ। दशैंमादेवीको पूजा, तिहारमा धनकी देवी लक्ष्मीको पूजा, बिध्याकी देवी सरस्वतीको पूजा, कुलदेवी हुन्छन् सबैका आ-आफ्ना, स्वस्थानी माताको कथा बाचन गरिन्छ घरघरमा एक महिना। अझ महिलाहरूले नै पूजाआजा, धर्मकर्म, ब्रत सबै गर्छन्।
तर खै किन हो तेही नेपालमा महिनावारी भएको बेला महिला अछुतो हुने, कतै छुन नहुने, छाउगोठमा सुत्नु पर्ने ! पंचमीमापूजा गरेर पाप पखाल्नु पर्ने ! नबार्दा देवता रिसाउने र पाप चाहीं महिलाहरूलाई नै लाग्ने?