–गोविन्द बेल्वासे
जन्मसमय अर्थात “धर्को कोर्ने” विषयमा नयाँ पुस्तालाइ कमै थाहा छ । यो विषय मेरोमात्र होइन, मेरा पुस्ताको विषय हो । अहिले बर्थ–सर्टिफिकेट लेखिन्छ । त्यस्तै गरी म जन्मेको यूगमा “धर्को कोर्ने” चलन थियो । जन्म, मृत्यू दर्ता सम्बन्धी ऐन बनेकै थिएन । त्यो धर्को गणित अर्थात ज्योतिष शासष्त्रको केही ज्ञान हुनेले कोर्थे र त्यसैका आधारमा चिना बनाइन्थ्यो, लेखिन्थ्यो । भित्र अध्यारोमा आमाले सुत्केरी ब्यथाको पडा भोग्दै गर्दा दलानमा बस्नेले कोरेको धर्को अनुसार आज मेरो जन्म दिन हो ।
धेरै जनाको जन्मदिन फेसबुकले बताउने अहिलेको जमानाका पुस्तालइ त्यो “धर्को कोर्ने” इतिहास बताउनु मेरो कर्तब्य हो भन्ने बोध गरेको छु । एक दशक अघि फेसबुकले देखाएको जन्मदिनमा पाएका शुभकामनाका विषयमा मेरा तीन थरिको जन्म दिन रहेको उजागर गरेको थिएँ । मेरो पुस्ताका अधिकांश ब्यक्तिहरूको त्यस्तै तीन किसिमका जन्म दिन छन् । सर्बोच्च अदालतका प्रधान न्यायाधीशहरू लगायत धेरैको जन्ममिति विवाद त्यस्तै परिस्थितिको नमुना मात्र हो ।
छोरा जन्मनुको विषयमा त्यो जमानाको मेरा बुवा र आमाको भावना म बुझ्छु । यो आधा शताब्दि भन्दा धेरै वितेको समयले चेतना स्तरमा धेरै अन्तर ल्याएको छ । मैले देख्ने छोरा र छोरी बीचको समानताको भावना त्यो समयको भन्दा धेरै फरक छ । २०१९को संविधानदेखि ०७२ को सम्बिधान बीचको फरकका रूपमा बुझ्न पनि सकिन्छ । बुवाको तर्पन र पिण्ड दिने छोराको अभावको छट्पटिलाइ मेरा तीन जना दिदीहरूले सान्त्वना दिन सक्नु भएको थिएन । आमालाइ त घर गर्न नै छोरो जन्माउन माइतबाटै सिकाएर पठाइएको थियो । छोरो विना पति र समाजलाइ सन्तोष दिन नसकेको पिडाको विषयमा स्वयं आमालाइ भ्रम थियो । मेरो विचारले उहाँको त्यो भावना भ्रम हो तर उहाँका लागि अहिले पनि त्यही सत्य हो । नातिनी र पलातिनीहरूमा पनि उहाँले त्यही आशा गर्नु भएको हुन्छ । अपुत्रि हुनु पुर्व जन्मको पाप रहेको र मोक्छ हुन नपाउने भावनाले उहाँलाइ पिडा दिने गर्छ ।
पैतीश वर्ष अघि वित्नुभएका मेरा बुवालाइ ‘यक्स’ र ‘वाइ’ क्रोमोजोम्सको विषयमा जानकारी थिएन । छोरा, नाति र पलाँतिले दिने तर्पण र पिण्डको लागि दत्तचित्त लगाउनु हुन्थ्यो । छोरा पाउनकै लागि हरिबंश र महाभारत यज्ञ लगाउनु भयो । गाउँका र छिमेकी गाउँलेहरूले मेरो जन्मका लागि यज्ञ गर्दाका धनाञ्चल पर्बतका विषय सुनाउँदा मैले कर्तब्य बोध गराएको भावमा बुझ्थेँ । तर, बुवाले हासिल गरेको शिक्षा र मलाइ उहाँले दिलाउनु भएको शिक्षाको जग फरक थियो । बुवाले अध्यात्मबादी शिक्षा पाउनु भएको थियो, मलाइ सेन्ट जोसेफ बोर्डिङदेखि सरकारी स्कुल सम्म भौतिकबादी बनाउने शिक्षा दिलाउन पनि बुवाले बुद्धि पुर्याउनु भयो । मैले बुझे अनुसार भारतको उपनिवेशबाट मुक्त हुने स्वतन्त्रता संग्राम र चीनको नौलो–जनबादी क्रान्तिको चेतना बुवामा परेको थियो । त्यसैले होला बुवाले आमालाइ तँ भनेर कहिल्यै सम्बोधन गर्नु भएन । स्वास्नीलाइ दबाएर राख्न पर्छ भन्ने भावनाका साथ ‘तल्लो दर्जाको सम्बोधन’ गर्ने प्रचलन देख्दा अहिलेको भन्दा मेरा बुवाको चेतना स्तर राम्रो थियो भन्ने अनुभूति हुन्छ । अध्यात्मबादी भावना भित्रपनि पत्नीको सम्मान गर्नुपर्छ र समानताको लागि सप्तपदीमा दिएका बचन पालन गर्नु पर्छ भन्ने चेत थियो । विवाह गर्दा सात पटक हवन कुण्ड घुम्दा दिइने सप्तपदीका विषयमा उहाँलाइ थाहा थियो ।
छोरा अभावको बुवा र आमाको छट्पटि मेरा दिदीहरूले बोध गर्नु भएको थियो । त्यसैले म जन्मँदा मेरा दिदीहरू सवै भन्दा खुसी हुनुभएको थियो । बुवाआमाको उदासीनता कम हुनेमा ढुक्क हुनुभएको थियो । जेठी दिदीको विवाह भैसकेको थियो । घरमा इज्जत धान्न पनि उहाँलाइ माइतमा बंश चल्ने सन्तान चाहिएको थियो ।
जन्मको ठिक समय निर्धारण गर्न धर्को कोरिन्थ्यो । आधुनिक घडीको प्रचलन नहुँदै पानी घडी थापेस समय निर्धारण गर्ने समयदेखि नै धर्को कोर्ने चलन थियो । धर्को कोर्ने विषयमा र्याङको ठ्याङ मिल्नु पर्छ भनिन्छ । मलेन भने ‘मूल नक्षत्र’ परेकोलाइ पनि नपरेको र नपरेकोलाइ पनि परेको गरी चिना लेखिने सम्भावना हुनाले ठिक समय मिलाउन जरूरी हुन्छ ।
र्याङको ठ्याङको अर्थः
जन्मको ठिक समय मिलाउन सुत्केरीका कोठामा बच्चा जन्मनासाथ थाल ठटाउने र त्यो थालको आवाज सुनेर बाहिर बसेका ब्यक्तिले समय टिपोट गर्ने चलन थियो । थालको आवाज भित्रबाट बाहिर पुग्दासम्मको समय मिलान गर्न सकिएन भने नक्षत्र परिवर्तन भएको चाल नपाउँदा गलत चिना लेखिन जान्थ्यो । सुत्केरी हुने कोठामा पुरूषहरू न्वारन नहुँदासम्म जान पाइँदैन थियो । आधुनिक चिकित्सा विज्ञानको सुत्केरी हुँदा पति साथमा हुने प्रचलनको ठिक विपरित थियो प्रचलन । ध्वनिको यात्राको समयका विषयमा पनि पूर्विय दर्शनका ज्योतिषहरू जान्दथे भन्ने कुरा यसबाट प्रमाणित हुन्छ । त्यो ध्वनि विज्ञानलाइ विकास गर्दै लानमा समाज पछि नपरेको भए पश्चिमका बैज्ञानिकहरूले भन्दा पहिला नै हाम्रा पुरखाले मोबाइल फोन चलनउन सक्ने थिए भन्ने अनुमान गर्न अप्ठेरो मान्नु पर्दैन ।
थाल ठटाएको आवाज सुत्केरी कोठाबाट बाहिर पुग्दासम्म वितेको समय निर्धारण गर्न नसकेर जन्म समय फरक पर्नुलाइ र्याङको ठ्याङ नमिलेको भनेर बुझिन्छ । त्यसरी र्याङको ठ्याङ नमिलेको चिना हेरेर ग्रह दशाको परणाम बताउँदा फरक पर्ने हुनाले ज्योतिषहरूले चीना मिलेको छ कि छैन भनेर पिहला निर्धारण गरेपछि मात्र अरू गणना गर्ने गर्दछन् । जन्म समय निर्धारण गर्न ज्योतिषहरूले श्लोक घोकेका हुन्छन् । त्यस्ता श्लोकका आधारमा सुत्केरी हुँदा झ्याल पूर्व थियो ? कोठा उज्यालो थियो ? हसिया, चुलसी जस्तो काट्ने भाँडो यतिवटा थियो ? अगो दक्षीण थियो ? भन्ने जस्ता प्रश्न गरिन्छ । ती प्रश्नका उत्तर मिल्न गएमा चिनामा लेखिएको जन्म समय मिलेको ठहर गरेपछि बल्ल चिना अनुसारका नक्षत्र, राषि, ग्रहहरूको स्थान अनुसारको फल तथा परणाम बताइन्छ ।
ज्योतिषशाष्त्रको विज्ञानलाइ पुरै नकार्ने अतिवाद र ज्योतिषशाष्त्रलाइ अध्यात्मसंग जोडेर धार्मिक उदण्डतामा प्रयोग गर्ने अतिबाट दुवैबाट बच्न जरूरी छ । साथै, वैज्ञानिक पक्षलाइ अगाडि बढाउन पनि जरूरी छ ।
र्याङको ठ्याङ फरक पर्न गएको चिना जस्तै फेसबुकका जन्मदिनका शुभकामनाहरू प्राय मिलेका हुँदैनन् । चिना र नागरिकताको जन्म मिति फरक हुनु, पासपोर्ट बनाउँदा अङ्गेजी मिति फरक पर्नु जस्ता कारणले गर्दा धेरै जनाको तीन थरिका जन्ममिति भएको मैले चाल पाएको छु ।
आजको मेरो धर्को कोरे अनुसारको मिलेको जन्मदिनमा शुभकामना दिनुहुने सवैमा आभार ज्ञापन गर्दछु । तर, यो नागरिकता, पासपोर्ट तथा सर्टिफिकेटको जन्मदिन भने होइन ।
भवदीय
गोविन्द बेल्वासे