प्रार्थना गरेँ मैले अञ्जुलीको जल अर्पण गरी
रोएँ न टेक्ने ठाउँ छ न समात्ने हाँगो भनी
बजाएँ घण्ट,धूपदीप बाली बसाहा नजिक बसी
बसाहाले अँध्यारो मुख लगायो मेरा झुत्रा कपडा देखी॥१॥
शिर राखी घुँक्क घुँक्क गरेँ परी पशुपतिको चरणमा
कोही छैनन् प्रभु मेरा आएँ पर्न हजुरको शरणमा
बढो कठिन भयो मलाई यो मानव जीवन बिताउन
अन्याय,भ्रष्टचार,हत्या,हिंसा विरूद्ध न्याय मरेको सहन॥२॥
पशुपतिनाथ आउनुभई बोल्नुभो अति मिठो वचन
प्रश्न के छन् तिम्रा सोध सबै दिन्छु म उत्तर भन
सोधेँ प्रभु हजुरका चाँदीका ढोका गजुर छन् सुनकै
एकसय आठ किलो सुनको जलहरी पनि अब हजुरकै॥३॥
एक अर्वको जलहरी नन्दीमा लेपन पनि सुनको
मालामाल देख्छु यो संसारमा सबैभन्दा त हजुर पो
छानामा जलप लगाउन पनि प्रभु चौँतीस किलो सुन
नेपाली नेताहरूको भोलेनाथप्रति भक्तिपूर्ण रहेछ मन॥४॥
मुसुक्क मुस्कुराएर शान्त भई प्रभु थाल्नुभो उत्तर दिन
अलि नजिक आइ बस न भक्त अब बृतान्त मेरा सुन
बस्छु नाङ्गै शरीर खरानी घसी,खाली पाउ कैलाशको चिसोमा
गङ्गा बहन्छिन् शिरदेखि मेरो जलहरी चाहियो मलाई किन ?॥ ५ ॥
पशुपतिका मूर्ति बनाउने मूर्तिकारलाई नै अछुत बनाउनेहरू
देशमा बाहुन् नै नदेखी सापटी ल्याई क्षमा पूजा गर्नेहरू
किरिया गर्दैनन् बाबुका आमालाई बृद्धाश्रम छोडी
मन्दिर,मस्जिद,गिर्जाघर बनाउँछन् करोडौं खर्च गरी॥६॥
लाज कत्ति मान्दैनन् तिनीहरू गर्छन् छलको राजनीति
आफ्नै बाबुआमा नदेख्नेले बनाउँछन् जेष्ठनागरिक नीति
छक्क परेको छु म यिनीहरूको यस्तो बिग्रेको मति देखी
यी सबै तामझाम हुन् केवल बचाउन त्यो सिंहदरबारे कुर्सी ॥७॥
दु:ख त मलाई यस कुरामा लागेको छ जनता भेडा भए किन?
मासु, भात र रक्सीमा पछाडि दौडिँदै खेर फालेका छन् दिन
यी नेताहरूले माखो पनि मार्दैनन् जनता हो यत्ति कुरा त मान
जाऊ तिमी कत्ति बेर नगरी पाखुरी बजार धर्ती सिंगारी खान ॥८॥
पशुपतिनाथ बोल्नुभो जाऊ जनता हो कालापानी, लिम्फियाधुरा
लिपुलेक फिर्ता ल्याई राष्ट्रियता जोगाएर देशभक्त नागरिक बन्न
उखु किसान अनि कोरोनाले थलिएका गरिबको आँसु पुछ्न जान
सीमाको रक्षा गरी आमाको अस्तित्व रक्षा गरी गौरवान्वित हुन ॥९॥
-शशी खड्का काठमाडौं (Enepalese)