प्रज्ञा घिमिरे
नछोउन आज मलाई जताततै दुःखेको छ
देखिदैनन् चोटहरू भित्रभित्रै लुकेको छ
हिमाल पहाड तराइ सबै कर्णालीको तिर मेरो
पूर्व पश्चिम मेचीकाली सगरमाथा शिर मेरो
तारा एउटा नभमहाँ ब्रह्माण्डमा चम्किएको
तपोभूमि शान्तिभुमि शान्तिपथमा लम्किएको
हेर्ने चाहा हुँदाहुँदै कहाँनिर चुकेको छ
देखिदैनन् चोटहरू भित्रभित्रै लुकेको छ
रित्तो भए गाउँघर चौतारी र पाखाहरु
खाली भए ममताले भरिएका काखहरु
छैनन् यहाँ जन्ति जाने मर्दा लास उठाउने
रमाइलो र मेला भर्ने खै कसरी जुटाउने
सम्झिएर रुदाँ रुदाँ स्वरै आज सुकेको छ
देखिदैनन् चोटहरू भित्रभित्रै लुकेको छ
पुस्तौंदेखि जोगाएका सस्कृति र परम्परा
उखेदैछन् किन आज खोतलेर जराजरा
देखासिखी भरिदैछ कला भर्ने मनैभरि
डढेलोले छोप्यो किन गुराँस फुल्ने बनैभरि
नआउन मेरो सामु शिरै आज झुकेको छ
देखिदैनन् चोटहरू भित्रभित्रै लुकेको छ।।
धन्यवाद।