नेपाल डेमोक्रेट युनियनले चीन नेपाललाई प्रजातान्त्रिक विश्व समुदायबाट अलग्याउँदै आफ्नो प्रभाव क्षेत्र बनाउने योजनामा रहेको आरोप लगाएको छ। लोकतन्त्र समाप्त गरी चिनियाँ कम्युनिष्ट पार्टीका दासहरूको सत्ता स्थापित गर्न कम्युनिष्ट चीनले प्रयत्न गरेको आरोप लगाउँदै युनियनले संरक्षित राज्य बनाउन चाहने सर्वसत्तावादी कम्युनिष्ट चीनको सुनियोजित षड्यन्त्र र नाङ्गो हस्तक्षेपको भर्त्सना पनि गरेको छ।
युनियनले विज्ञप्तिमा अगाडी भनेको छ, नेपालमा प्रजातन्त्रवादीहरूलाई हरतरहले किनारा लगाउँदै लोकतन्त्र समाप्त गरी चिनियाँ कम्युनिष्ट पार्टीका नोपली दासहरूको सत्ता स्थापित गर्न कम्युनिष्ट चीनले जे जस्ता हर्कत गर्दैछ, नेपाली जनतालाई त्यो कदापि सहय हुनेछैन । कम्युुनिष्ट चीनले नेपालमा प्रजातन्त्रका प्रत्येक अवयव कमजोर गराउन योजनाबद्ध षडयन्त्र मात्र सञ्चालन गरेको छैन, प्रजातान्त्रिक मित्रराष्ट्रहरूको विरोध नेपालको भूमिबाट गराउने अभियान पनि चलाइरहेको छ। साथै प्रजातान्त्रिक विश्वबाट प्राप्त हुने आर्थिक र अन्य सहयोग विरुद्ध विषवमन गराउने, भाँड्ने र सहयोगबाट वञ्चित गराउने षड्यन्त्र पनि सञ्चालन गरिरहेको छ। एमसीसी विरुद्ध भइरहेको दुष्प्रचार त्यसैको एउटा पाटो हो।
नेपालको सार्वभौमिकता माथि धावा बोल्दै कम्युनिष्ट चीनले हुम्ला, गोर्खा, रसुवा लगायतका दर्जनौँ जिल्लामा सीमा अतिक्रमण गरी हजारौँ बिघा जमिन कब्जा गरेको मात्र छैन, नेपालको विमानस्थलमा चिनियाँ झण्डा फहराउने दुस्साहस समेत गरेको छ। रसुवा र तातोपानी नाकामा अघोषित नाकाबन्दी गरेर हजारौँ कन्टेनर रोक्दै आएको मात्र छैन, नेपाली व्यापारीलाई हर तरहले प्रताडित र हतोत्साहित बनाउँदै आएको छ। यसका साथै सामाजिक द्दन्द्द बढाउने, पार्टीगत द्दन्द्द बढाउने र हिंसा, आगजनी, तोडफोड, रक्तपात र गृहयुद्धको भुमरीमा नेपाललाई धकेल्ने योजनाका साथ काम गरिरहेको छ।
यसका निम्ति चिनियाँ गुप्तचर एजेन्सी एमएसएसको अधिकृत निङ लिनलाई कार्यालय नै खडागरी सक्रिय गराएको छ भने चिनियाँ राजदूतलाई गैर कूटनीतिक तवरले पार्टी, देश र व्यवस्थाका आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्न सक्रिय बनाएको छ। चिनियाँ मुद्रा आरएमबीको खोलो बगाएर मोड्ने र जनस्तरमा प्रजातन्त्र एवं प्रजातान्त्रिक विश्व विरुद्ध दुष्प्रचार गर्ने अभियान चलाएको छ। राजदूतलाई गैरकूटनीतिक तवरले पार्टी, देश र व्यवस्थाका आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्न सक्रिय बनाएको छ। चिनियाँ मुद्रा आरएमबीको खोलो बगाएर मोड्ने र जनस्तरमा प्रजातन्त्र एवं प्रजातान्त्रिक विश्व विरुद्ध दुष्प्रचार गर्ने अभियान चलाएको छ।
बिज्ञप्तिमा भनिएको छ, नेपाल डेमोक्रेट युनियन यी र यस्ता कुत्सित हरकत तत्काल बन्द गर्न कम्युनिष्ट चीनलाई चेतावनी दिन चाहन्छ। उसका यस्ता हरकत प्रजातन्त्र प्रेमी नेपाली जनतालाई कदापि सहय हुने छैनन्। प्रजातन्त्रवादी विश्व समुदायले यस्ता हर्कत कदापि सहने छैनन्। नेपाल डेमोक्रेट युनियन प्रजातान्त्रिक नेपाल विरुद्ध षड्यन्त्रकारी एवं हस्तक्षेपकारी भूमिकामा नाङ्गो उत्रिएका निङ लिन र चिनियाँ राजदूत हाओ यान्कीलाई ‘पर्सना नन ग्रेटा’ घोषित गरी नेपालबाट निस्काशन गर्न नेपाल सरकारसँग माग गर्दछ। साथै चिनियाँ उक्साहट, चिनियाँ योजना र आरएमबीको आडमा देशमा सञ्चालित प्रजातन्त्र विरोधी अभियानलाई निस्तेज, दण्डित र समाप्त पार्न पनि नेपाल सरकारसँग जोडदार आग्रह गर्दछ। नेपाल सरकारको यस कार्यमा प्रजातन्त्रवादी विश्व समुदायको निःशर्त र सम्पूर्ण सहयोग रहने कुरामा समेत नेपाल डेमोक्रेट युनियन नेपाल सरकारलाई आश्वस्त गराउन चाहन्छ। कम्युनिष्ट चीनको प्रभावबाट सम्पूर्ण मुक्तिले मात्र नेपाल र नेपालीको भविष्य सुरक्षित हुनसक्छ ।
– कारोबार आज