कुनै दाम्रे गाउँमा एक जना स्वाभिमानी चाम्रे नेता थियो । ऊ सधैँ राजनीतिक कार्यक्रममा साह्रै व्यस्त रहन्थ्यो । एक दिन उसले भान्साघरमा गएर आफ्नो भान्सेलाई भन्यो, “मलाई आज जनसभामा जान हतार छ, चाँडो गरी अलि राम्रो खाना बनाऊ ।” तब भान्सेले भान्साघरमा बिस्तारै आज के-के हालेर मीठो खाना बनाऊँ ! मात्र के भनेको थियो‚ सबै मरमसलाहरू आपस्तमा भिड्न थाले । गरम मसलाले भान्सेलाई भन्यो, “हाम्रो नेतालाई कति भाषण गर्नुपर्छ, त्यसैले उहाँलाई गरम बनाइराख्न खानामा मेरो जरुरत बढी छ ।” तीखालालले भन्यो, “हैन, हैन ! उहाँको भाषणमा तीखा-तीखा वाण चलाउनुपर्छ, त्यसैले मेरो प्रयोजन बढी छ ।” हर्दीले भन्यो, “उहाँलाई जीवाणुहरूबाट सङ्क्रमण हुन नदिन एकदमै जरुरी छ, त्यसैले मेरो उपस्थिति अनिवार्य छ ।” उता भिन्डी, करेला, आलु, बन्दा, सिमी आदि सागसब्जीहरूले पनि कराउन लागे, “आज त उहाँलाई राम्रा-राम्रा विचार आउन जरुरी छ, यसैले शुद्घ शाकाहारी खाना बनिनुपर्छ ।”
यो कुरा सुन्नेबित्तिकै फ्रिजमा भएको मासुलाई साह्रै रिस उठ्यो र कराउन लाग्यो, “ए मुला हो ! जति नै मिठा-मिठा शाकाहारी भोजन भए पनि तिमीहरूको गुणगान मान्छेले कहिल्यै गर्दैनन्, थाहा छैन ? कुनै पनि भोजमा शाकाहारी परिकार खाएपछि मान्छेले सत्यनारायणको पूजा खाइयो भन्छन् । यसैले आज माछामासु नै बनिनुपर्छ ।” यी सबै गनथन सुनेपछि तेलले मुस्कुराउँदै भन्यो, “तिमीहरू जति नै चम्के पनि आखिर तेल छैन भने कस्तो हुन्छ स्वाद‚ थाहा छ ? आज त हाम्रो नेताले मस्का लाउँदै बोल्नुपर्छ, त्यसैले आजको खानामा मेरो जरुरत बढी छ ।” यो सुनेर उता कुनामा भएको नुनलाई झनक्क रिस उठ्यो । तब खिसीको हाँसोमा भन्यो, “तिमीहरूले आआफ्नो बढीबढाउ जति नै गरे पनि मविना तिमीहरूको हालत कस्तो हुन्छ भन्ने कुरा थाहा नै होला !” यस्तै भिडन्तलाई शान्त पार्दै भान्सेले भन्यो, “भो, नबाझ ! नेताको खाना स्वादिष्ट पार्न तिमीहरू एउटाको होइन, सबैको जरुरी छ । त्यसैले तिमीहरूलाई म समानुपातिक रूपमा प्रयोग गर्छु ।” खाना तयार भएपछि खाना पस्किने बेलामा फेरि थाल, ग्लास, चम्चा, बोटुका आदिको भनाभन हुन थाल्यो । ग्लासले भन्यो, “हाम्रो नेताले खाना खानुअघि सबैभन्दा पहिले उसको टेबलमा पानी लिएर म नै जानुपर्छ ।” यो सुन्नेबित्तिकै चम्चालाई रिस उठ्यो र भन्यो, “तँ त टेबलसम्म त जान्छस्, म त उसको मुखमा कतिपल्ट पस्छु, थाहा छ ? हामी ठूला चम्चा, मझौला चम्चा, साना चम्चा आदि सबै प्रकारका चम्चाहरूको काम भनेकै नेताको मुखसम्म ओहोरदोहोर गर्नु हो ।” यत्तिकैमा बटुकाले भन्यो, “भो, म पनि त दाल बोकेर उसको मुखमा कतिपल्ट पस्छु, थाहा छ ?” यत्तिकैमा माहोल शान्त पार्दै यी सबै कुरा सुनेर अघिदेखि कुनामा कहिलेदेखि थन्को लागेर बसिरहेका झरका थालहरूले एक साथमा कराए, “तिमीहरू किन यति बेसी सर्किन्छौ ? हामीलाई कसैले पत्तै दिँदैनन् । हामी बर्सौँदेखि धुलोमुलोमा कुनामा थुप्रिराखेका छौँ । कसैले हाम्रो यादसम्म गर्ने होइन । तर पनि चाढबाढ आउँदा भने नेताले हामीलाई सम्झन्छन् । खानाको सबै परिकार हामीमाथि राखेर बेस्सरी मुस्छन् र खपाखप खान्छन् । खाइसकेर हामीमाथि हातमुख चुठ्छन् । जस्तो चाढबाढ सकिन्छ, हामीलाई लात मार्छन् । तर पनि हामी केही भन्दैनौँ ।”
ठक्….ठक्…ठक्…ठक्….आवाजसित नेता खाना खान टेबलमा आए । देख्नेबित्तिकै सानु स्वरमा भान्सेले सबैलाई इसारा गर्दै भने, “ए ! नेता खानु आउनुहुँदैछ‚ सबै चुपचाप बस । नेताले खाँदा कोही बोल्नु हुँदैन । नेता सर्क्यो भने बित्याँस पर्छ । बरु‚ नेताले खाइसकेपछि कति उब्रिन्छ भनेर पो सोच्नुपर्छ त ।” त्यत्तिकैमा नेता आएर चुपचाप खाना खाएर तयारी भई हतारसाथ बाहिर निस्के । बाहिर स्वागत गर्न हातहातमा फूल र झन्डा समातेर पहिलो पङ्क्तिमा झोले, छाते, चम्चे, भाटे, तेले, छलाङ्गे, नेपोटे, भाते, जाते आदि कार्यकर्ताहरू फेबिकलले टाँसिएझैँ चौकिमा टाँसिरहेका थिए । नेता बाहिर जस्तो निस्किए, तिनीहरूले चिच्याउँदै जिन्दावादको नारा लगाउन थाले । लावालस्कर लिएर नेता पनि भाषण गर्न आफ्नो गन्तव्यतिर लागे ।
हेर्दाहेर्दै एकैछिनमा बजार भीडभाड भयो । गाडीको आउजाउ बन्द । यात्रीहरूको हरिबिजोक । अस्पताल पुग्न नपाएर कसैले बाटामा नै सिलटिम्बुर खाए । कति भाग्यमानीले गाडीमा नै नानी जन्माए । तर पनि नेताको आवाजमा कुनै कमी आएको थिएन । फोरफोट्टी भोल्टमा नै चर्किरहेका थिए । स्वाभिमानका मुटु छुने शब्दकोशले स्रोताका मनका झोपडीहरूमा महल बनाइरहेका थिए । जनता ताली पड्काइरहेका थिए तर मान्छेले सोचेजस्तो समय हुँदैन रहेछ । मान्छेभन्दा कता हो कता बलवान् त समय पो हुँदो रहेछ । हेर्दाहेर्दै एकैछिनमा अन्धकार छायो । नेताको शब्दवाणले घायल भएर होला, आकाशको बादल सबै मडारिएर भुईँतिर झर्न लाग्यो । हावाहुन्डरीले कठोर रूपमा आफ्नो शक्ति प्रदर्शन गर्न थाल्यो । फलतः अघिको कोलाहल भीडमा श्मशाने शून्यता छायो । त्यसपछि घनाघोर पानी पर्न थाल्यो । हेर्दाहेर्दै अघिका मूकदर्शकहरू कहाँ पुगे, पत्तै भएन । नेता र बाघजस्ता कार्यकर्ताहरू भने भिजेर मुसा भए । तब कार्यकर्ताहरू टाउको मात्र भए पनि ओताउनलाई वरपरका छातामा ठेलाठेल गरेर ओतिन पुगे । तर पनि नेताले भाषण गरिरहेकै थिए, सुन्ने चाहिँ कोही थिएन । एक जना छातेले अघिदेखि भित्रभित्रै बिँड र करङहरू मक्किँदै गइरहेको तर बाहिरबाट भने राम्रै देखिने पाङ्ग्रे छाता नेतालाई ओडाइरहेको थियो । जोगिँदाजोगिँदै हुरीले त्यो छाताको करङसरङ पल्टाएर उत्तानो बनाइदियो । पानी झन् ढुङ्ग्रोबाट खन्याएजस्तो पर्न थाल्यो । पानीले हो कि पसिनाले हो, नेता निथ्रुक्क भिजिसकेका थिए । केही उपाय नभएर नेता टाउको ओताउनलाई यताउति नजर डुलाउन मात्र लागेका थिए, सन्तुलन गुमाएर आफू उभिएको धरातलको माटामा नै चिप्लेर चित परे । बिस्तारै बामे सर्दै उठेर नेता एउटा पसलमा ओत लाग्न पुगे । केही समयपछि पानी र हुरी कम्ती भयो । तब नेताले आफ्नो पाङ्ग्रे छाता हेर्दा त छाताको कति करङ निस्किसकेका रहेछन् भने कति चाहिँ बाङ्गिसकेका रहेछन् । छेवैमा एउटा छातावालाले छाता मर्मत गरिहेको थियो । नेताले निस्केका र बाङ्गिएका करङहरूलाई फेरबदल गरी बलियो बनाए । त्यसपछि भने पाङ्ग्रे छातामा पुनः टाउको ओताउने होड चल्न थाल्यो । सहर अहिले सुनसान छ । भाषण र हल्लाखल्ला केही छैन । केवल टाउको ओताउनलाई छाता फेर्न मान्छेको हतार छ ।